«

»

नेकपा माओवादीद्वारा दुई सय ३० विघाहा जग्गा कब्जा

IMG_20150314_173344भरतपुर, ३० फागुन
नेत्रबिक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादीले विभिन्न व्यक्ति र निकायको नाममा रहेको २ सय ३० विघाहा जग्गा कब्जा गरेको छ । ‘जनयुद्धद्वारा स्थापित जनसत्ता’ ले मान्यता दिएका गरिब किसान, सुकुम्बासी, कमैयाहरु विस्थापित भई घरबार विहिन भएकाले जग्गा कब्जा गरिएको माओवादीले जनाएको छ । ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादी हालै वैद्य नेतृत्वको नेकपा–माओवादीसँग अन्तरविरोध भई विभाजन भएको पार्टी हो ।
‘जनताहरु विस्थापित हुने, भूमाफियाहरु सल्बलाउने’ अवस्थामा यस्ता खाले हर्कत सहँदै पार्टी मुकदर्शक भएर टुलुटुलु हेरेर नबस्ने पनि माओवादीको भनाई छ ।
तत्कालीन जनसत्ताको नेतृत्वमा नियन्त्रित र जनसत्ताको कानुनी कारबाही अन्तर्गत रहेका सबै जग्गा पुन नियन्त्रणमा लिएको माओवादीले जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी महेश थारुले विज्ञप्ती जारी गर्दै जग्गा कब्जा लिएको जानकारी गराएका हुन् । विज्ञप्तिमा उल्लेख गरेअनुसार सबै भन्दा धेरै मर्कण्टाइल कम्पनी कुमरोजको जग्गा कब्जा भएको छ । उक्त कम्पनीको ८६ विघाहा जग्गा कब्जा गरिएको माओवादीले जनाएको छ ।
त्यस्तै धोवाहा बस्ती माडीको ७५ विघाहा, कुरिनटारका पदमप्रसाद सिलवालको २२ विघाहा र गुञ्जानगर ६ का दिलिपकुमार शाहीको १४ विघाहा जग्गा माओवादीको कब्जामा परेको छ । भण्डाराका बलराम धरेलको १ विघाहा १ कठ्ठा, सिचाइँ गेटमा पशुरामको नाममा रहेको ३ विघाहा, होटल डालीमा कुरिनटारको ६ विघाहा जग्गा पनि कब्जा गरिएको सेक्रेटरी थारुद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तीमा जनाइए अनुसार माडेचौर मंगलपुरमा १४ र शारदानगरका श्याम चौधरीको ९ विघामा जग्गा पनि कब्जा भएको छ ।
बृहत शान्ति सम्झौता अनुसार जनसत्तामा दर्ता भएका, कानुनी प्रक्रियामा अघि बढेका सबै कामकारबाहीलाई मान्यता दिने निर्णय भएको थियो । शान्ति सम्झौता, १२ बुँदे समझदारी र अन्तरिम संविधानमा उल्लेखित कुनैपनि सहमति सत्ताधारी दलले कार्यान्वयन नगरी उल्टाउँदै गएको पनि सेक्रेटरी महेशले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । ‘ऐलानी जग्गा हुनखानेले कब्जा गर्न थालेका छन, थारुले भने, ‘त्यसैले राज्यको सम्पत्ति दुरुपयोग गर्नेको जग्गा हामी कब्जा गर्दै जानै छौ ।’
दश बर्षको जनयुद्धमा जनताले जनसत्ताको संरक्षणमा यो जग्गा प्रयोग गर्दै आएको र सामन्त फटाहाले जमिनमाथी रजाई गर्न थालेपछि कब्जा गरेको सेक्रेटरी थारुले जानकारी दिए । जनतालाई स्थानीय जनसत्ताको अभ्यास गराउन पनि जग्गा कब्जा गरिएको विज्ञप्तिमा उनले उल्लेख गरेका छन् । ‘अर्काे निर्णय नहुँदासम्म जग्गा हाम्रो कब्जामा हुनेछ । पछि पार्टीले निर्णय गरेर पीडित सुकुम्बासीलाई प्रदान गर्ने छौंँ ।’– उनले भने । जग्गा जसको हुनुपर्ने उसको नभएर टाठाबाठाले जग्गामाथि हैकम जमाउन थालेपछि यसो गरिएको र यस्तै अवस्थामा रहेका अरु जग्गा पनि पार्टीले पुनः कब्जा गर्दै माओवादीको विज्ञप्तिमा उल्लेख छ ।
‘सत्ताको ध्वाँस र बलमा हिजोका सामन्त, फटाहा, जमिनदारहरु फेरी जमिनमाथि रजाइ गर्ने दुस्साहस गरिरहेको’ उल्लेख गर्दै आफूहरुको निर्णयलाई कसैले उल्टाउन खोजे उसलाई जनकारवाही गर्ने पनि माओवादीको रणनीति रहेको सेक्रेटरी महेशले जनाएका छन् । उनले भनेका छन्, ‘हाम्रो निर्णय र जानकारीलाई वेवास्ता गर्नेप्रति हुने जुनसुकै कारवाहीको भागेदार सम्बन्धित व्यक्ति र संस्था हुनेछन् ।’