«

»

कैलाशनगर आएका भूकम्पपीडितलाई सम्बन्धित जिल्ला फर्काइने

‘विप्लव’ माओवादीले भरतपुर १२ कैलाशनगरमा जग्गा कव्जा गरी भूकम्प पीडितलाई बाँड्न बनाउँदै गरेका टहरा

‘विप्लव’ माओवादीले भरतपुर १२ कैलाशनगरमा जग्गा कव्जा गरी भूकम्प पीडितलाई बाँड्न बनाउँदै गरेका टहरा

तीर्थ नेपाल
भरतपुर, १६ जेठ
चितवन प्रशासनले विभिन्न जिल्लाबाट आई भरतपुर उपमहानगरपालिका–१३, कैलाशनगरमा निजी जग्गामा टहरा बनाएर बसेका भूकम्पपीडितहरुलाई सम्बन्धित जिल्लामै फर्काउने भएको छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले अजय बिक्रम शाह र बिजय बिक्रम शाहको नाममा कैलाशनगरमा रहेको नौ बिघा १७ कठ्ठा जग्गा कब्जामा लिई  टहरा बनाएर बिभिन्न जिल्लाका भूकम्प पीडितलाई ल्याएर राखेको थियो । यसै सन्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा शनिबार बसेको सर्वदलिय बैठकमा सम्बन्धित जिल्लामा बसोबासको व्यवस्थापन मिलाएर उनीहरुलाई फर्काउने समझदारी भएको चितवनका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर विकेले जानकारी दिए  ।
‘निजी जग्गा अनाधिकृत रुपमा नियन्त्रणमा लिन पार्इंदैन, विप्लव माओवादीका नेतालाई यो विषयमा प्रष्ट पारिएको छ । कैलाशनगरमा आएर बसेकालाई हामी बल प्रयोग नगरी सम्बन्धित जिल्लामा फर्काउने छौँ’ प्रजिअ विकेले भने ।    
सर्वदलिय बैठकमा विप्लव माओवादीका ताम्सालिङ इन्चार्ज चिरन पुन सहभागी थिए । बैठकमा पुनले पीडित जनताको व्यवस्थापन गर्ने दायित्व राज्यको भएको बताउँदै कैलाशनगरमा बसेका भूकम्पपीडितलाई अर्को व्यवस्था नभएसम्म उठाउन नमिल्ने अडान राखे । उनले सम्बन्धित जिल्लाले व्यवस्थापन गर्छ भने आफुहरु सबैलाई फर्काउन तयार रहेको बताएका थिए ।
‘सम्बन्धित जिल्लालाई उनीहरुको व्यवस्थापन गर्न आग्रह गर्ने र बसोबासको प्रबन्ध भएपछि फर्काउने समझदारी भएको छ’ सर्वदलिय बैठकपछि माओवादी नेता पुनले भने ।
बैठकमा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एकीकृत नेकपा माओवादी चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना सहित अन्य पार्टीका जिल्ला प्रमुखहरु पनि सहभागी थिए ।
पार्टीका नेताहरुले सबै जिल्लाका भूकम्प पीडितलाई चितवन ल्याउने हो भने यहाँ अर्को समस्या उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘हामी भूकम्पपीडितहरुको भावना र दुःखमा सहानुभूति व्यक्त गरिरहेका छौँ तर निजी जग्गा कब्जामा लिएर बाँड्ने काम ठीक भएन’ बैठकमा सहभागी एक नेताले भने ।
जग्गा धनी अजय बिक्रम शाहले जग्गा फिर्ता गराई पाउँ भनि जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी गरेका छन् । कैलाशनगरमा रहेको उक्त जग्गा २०६९ साल देखि नै आफुहरुको नियन्त्रणमा रहेकोले भूकम्प अति प्रभावित जिल्लाका पीडितलाई बसोबासका लागि वितरण गरिएको विप्लव नेतृत्वको नेकपा माओवादी चितवनले जनाएको छ ।
घर र जग्गा पाईन्छ भनेर कैलाशनगरमा गोरखा, मकवानपुर, धादिङ, तनहुँ, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट भूकम्पपीडितहरु आएका छन् । माओवादीले पाँच सय ५० परिवारले नाम टिपाएको जनाएको छ । झण्डै एक हजारको सङ्ख्यामा भूकम्पपीडितहरु आएका छन् । ती मध्ये अधिकांश गोरखा जिल्लाका छन् ।
बाँसका खाँवा, जस्तापाताको बार र छाना हालेर टहरा बनाईएको  छ । टहरा बनाउन विप्लव माओवादीका जिल्लास्थित नेता कार्यकर्ता र भूकम्प पीडितहरु खटिएका छन् ।