«

»

एकीकृत माओवादीको विस्तारित बैठक आज पनि जारी ।।

एकीकृत नेकपा माओवादीको विस्तारित बैठक आज पनि बस्दैछ । हिजोदेखि ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा आज समूहगत छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम छ । हिजोकै बैठकमा समूह विभाजन गरिएको र आज १२ बजेपछि बस्ने बैठकमा ती समूहहरूले निकालेका निष्कर्ष पेश गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । हिजोको बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी हेडक्वार्टरमा अध्यक्षमात्रै रहने र बाँकी सबै केन्द्रीय सदस्य हुने प्रस्ताव पेश गर्नुभएको थियो । उपाध्यक्षबाट डाक्टर बाबुराम भट्टराइले राजिनामा दिएपछिको अवस्था व्यवस्थापन गर्न यस्तो प्रस्ताव आएको माओवादी स्रोतले जनाएको छ । यसअघि २०६६ साउनमा एकीकृत माओवादी बहुपदीय प्रणालीमा गएको थियो । लगत्तै पार्टीमा गुट उपगुट र पदका लागि हानथाप बढेको थियो । प्रचण्डको प्रस्तावमा उपाध्यक्ष पदबाट राजिनामा दिएका डाक्टर बाबुराम भट्टराईले समर्थन गरे पनि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने असन्तुष्ट रहेको स्रोतले जनाएको छ । यसैबीच, विस्तारित बैठक सुरु हुनुअघि अध्यक्ष प्रचण्डले पार्टीका सल्लाहकारहरुसँग परामर्श गर्ने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । Source: CIN