«

»

प्रकृति जोगाउँदा मात्रै बाघको संरक्षण

tiger_closeupआनन्द पोखरेल
सौराहा, १३ साउन
संसारमै दुर्लभ जनावर बाघ संरक्षणको लागि प्राकृतिक वातारण जोगाउनु पर्नेमा संरक्षणकर्मीहरुले जोड दिएका छन् । विश्व बाघ दिवस २०१४ को अवसरमा मङ्गलबार सौराहामा आयोजित अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले बाघ संरक्षणको लागि तराईको चुरे क्षेत्र जोगाउनुपर्ने बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवनका कार्यालय प्रमुख डाक्टर चिरञ्जिवि पोखरेलले बाघ संरक्षणको लागि जङ्गललाई संरक्षित क्षेत्र घोषणा गरिनु राम्रो कार्य भएको बताए । ‘माइकेनिया (बनमारा) झारको कारण बाघ संरक्षणमा चुनौती थपिएको छ’ पोखरेलले भने– ‘हाम्रो वरिपरी रहेको वन जङ्गललाई संरक्षित गर्न सक्यौँ भने बाघको संरक्षणमा टेवा पुग्छ ।’ वन जङ्गलको संरक्षण गर्न सके बाघको संरक्षण हुने र बाघको संरक्षण भएको अवस्थामा मात्र वन जङ्गलको संरक्षण हुनेमा पोखरेलले जोड दिए ।
नेपाल, भारत, भुटान, बङ्गलादेश लगायत विश्वका करिव १३ मुलुकमा पाँच प्रजातिका तीन हजार दुई बाघ रहेको पोखरेलले बताए । विश्वमा सबैभन्दा बढी भारतमा लगभग एक हजार सात सय भन्दा बढी बाघ रहेको पोखरेलले जानकारी दिए । सङ्ख्यात्मक हिसावले बाघ बढी भएको मुलुकमध्ये नेपाल सातौँ स्थानमा पर्ने पनि उनले बताए ।
नेपालमा हाल एक सय ९८ वटा बाघ रहेका छन् । नेपालमा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी एक सय २० वटा बाघ रहेको पोखरेलले बताए । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँटा बन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा सात र बाँके राष्ट्रिय निकुञ्जमा चार वटा बाघ रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघ संरक्षणको काम सुरु गरिएको थियो । तर सन् १९९० मा बर्दिया राष्ट्रिय निकुञ्जबाट औपचारीक रुपमा बाघ संरक्षणको काम थालिएको प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख पोखरेलले बताए । सन् २०१० मा रसियाको पिटरवर्गमा पहिलो विश्व बाघ सम्मेलन भएपछि बाघ संरक्षणको लागि विश्वको नै ध्यान केन्द्रित भएको छ । सन् २०१० मा विश्वमा करिब तीन हजार बाघ रहेकोमा सन् २०२२ सम्ममा उक्त सङ्ख्यालाई दोब्बर बनाउने पिटरवर्ग सम्मेलनले तय गरे अनुसार बाघ संरक्षणको काम अगाडि बढाइएको पोखरेलले बताए ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) कमलजङ्ग कुँवरले मानिका मुहान भएको क्षेत्रको वन जङ्गलको संरक्षणले बाघको संरक्षणमा मह¤वपूर्ण भूमिका खेल्ने बताए । ‘जलाधार क्षेत्रको विनाश हुन नदिने हो भने बाघको संख्यामा वृद्धि हुन्छ’ कुँवरले भने– ‘बाघको सङ्ख्या वृद्धि भएपछि प्रकृति संरक्षणमा पनि मह¤वपूर्ण टेवा पुग्छ ।’ वन जङ्गलको संरक्षणले बाघको संरक्षण हुनुका साथै चुरे क्षेत्र पनि जोगिने कुँवरको भनाई थियो ।
बाघ र वन जङ्गल एक अर्कामा अन्तरसम्बन्धित रहेको बताउँदै कुँवरले दुबैको संरक्षण गर्न सकेको अवस्थामा प्राकृतिक विपत्तिमा पनि कमी आउने बताए । ‘चुरे बिनास भएका तराईका जङ्गलहरुमा बाघ पाइँदैन’ कुँवरले भने– ‘र, बाघ नपाइने ठाउँमा प्राकृतिक विपत्तिहरु पनि आउने गरेको छ ।’ संरक्षणको दृष्टिकोणबाट नेपाल विश्वका एक सय ८१ मुलुक मध्ये पहिलो नम्बरमा परेको पनि उनले बताए ।
आर्थिक वर्ष ०७०÷७१ मा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख ७३ हजार पर्यटक भित्रिएका र त्यसबाट २४ करोड रुपैयाँ राजश्व सङ्कलन भएको जानकारी दिँदै कुँवरले ती सबै व्यक्तिहरु निकुञ्जमा रहेका बाघ, गैँडा हेर्न आएका बताए ।
विश्व बाघ दिवसको अवसरमा आयोजित उक्त अन्तक्र्रिया कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रामप्रित यादवले बाघ सुन्दर र बलियो हुने तर हामीहरु उसको बानीको बारेमा अनविज्ञ रहेको कारण बाघले मानिसलाई आक्रमण गर्ने गरेको बताए । बाघलाई नजिस्काएसम्म उसले मानिसलाई आक्रमण नगर्ने पनि यादवले बताए । बाघको सङ्ख्या बढाउनको लागि उसको आहार–बिहार तथा वासस्थानको संरक्षण र चोरी शिकारी नियन्त्रण गर्नु जरुरी रहेको यादवको भनाई छ ।
कार्यक्रममा चितवनका जिल्ला बन अधिकृत गणेश झाले वन नभए बाघ नहुने र बाघ नभए वन पनि नहुने भन्दै दवैको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । उक्त अन्तक्र्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्याक्ष दिपेन्द्र बडुवाल, बुढी रापती उपभोक्ता समितिका अध्यक्ष नारायण तिमिल्सिेना, तराई भूपरिधी कार्यक्रम (ताल)का प्रोजेक्ट म्यानेजर श्यामकुमार शाह लगायतले मन्तब्य राखेका थिए ।
नेपालमा सन् २०१० मा एक सय २१ वटा बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो चार वर्षमा बाघले २१ जना व्यक्तिको ज्यान लिएको छ भने १४ जनालाई घाइते बनाएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । साथै यो अवधिमा निकुञ्जले विभिन्न शीर्षकमा पीडितलाई ५५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ ।