दुई समूहका छुट्टाछुट्टै अधिवेशन आह्वान
सुवास पण्डित
भरतपुर, १३ साउन
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनको विवाद झनै चुलिएको छ । नेविसंघ चितवनका दुई वटा समुहले साउन १९ गते अलग अलग जिल्ला अधिवेशन आह्वान गरेका छन् ।
सूर्य ढकाल नेतृत्वको र अरुणेश्वर खनाल नेतृत्वको नेविसंघका दुई जिल्ला संघले साउन १९ गतेका लागि अलग अलग जिल्ला अधिबेशन आह्वान गरेपछि नेविसंघ चितवन भित्रको बिवाद छताछुल्ल भएको हो ।
नेविसंघको तीन वटा समितिलाई एक गरि विवाद समाधान गर्ने प्रयास भएपनि नेविसंघ भित्रको झगडा कम नभई झनै चर्किन गएको छ । नेविसंघ चितवनका पूर्व अध्यक्ष उत्तम जोशीलाई सोमबार केन्द्रिय सदस्यमा मनोनित गरेपछि तीन समुहबाट विवाद दुई समुहमा झरेको छ ।
समस्या समाधानका लागि केन्द्रिय प्रतिनिधिका रुपमा आएको भूपेन्द्र कोइराला सहितको तीन सदस्यीय टोलीले सूर्य ढकालको नेतृत्वमा नेविसंघ जिल्ला अधिवेशन आयोजक समिति बनाएपछि अरुणेश्वर खनाल पक्षले पनि नयाँ आयोजक समिति बनाएर एकै दिन अलग जिल्ला अधिवेशन आह्वान गरेको हो ।
कोइरालाको विवाद समाधान टोलीमा जिल्ला पार्टी सदस्य राजीव न्यौपाने र पूर्व जिल्ला अध्यक्ष उत्तम आचार्य सदस्य रहेका थिए । सूर्य ढकाल नेतृत्वको नेविसंघले नारायणगढमा जिल्ला अधिवेशन गर्ने जनाएको छ भने खनाल नेतृत्वको टोलीले वीरेन्द्र क्याम्पसमा जिल्ला अधिवेशन गर्ने तयारी थालेको छ ।
ढकाल नेतृत्वको टोलीले काँग्रेस जिल्ला पार्टीको समर्थन आफुहरुलाई रहेकोले आफुहरु नै आधिकारिक र बैधानिक भएको दावी गरेको छ । यो समुहलाई जिल्ला पार्टी सभापति र सचिवहरुको साथ रहेको छ ।
नेपाली काँग्रेस चितवनका सचिव जीत नारायण श्रेष्ठले ढकाल नेतृत्वको नेविसंघ जिल्ला सम्मेलन आयोजक समिति नै आधिकारिक भएको भन्दै साउन १९ गते जिल्ला अधिवेशन हुने बताए । ‘उनीहरु कसबाट सञ्चालित छन् मलाई थाहा भएन्, तर पार्टीको आधिकारिक लाइन सूर्य ढकाल नेतृत्वको समुह हो’ श्रेष्ठले भने, ‘संगठनका नाममा अराजकता मच्चाएको सबैलाई थाहा भएकै कुरा हो ।’ उनले जिल्ला अधिवेशन स्थगित हुन सक्ने सम्भावनालाई नकार्न नमिल्ने बताए ।
यता, अरुणेश्वर खनाल नेतृत्वको समुहले पञ्चायती, निरङ्कुश र हुकुमी शैलीमा जिल्ला पार्टी नेतृत्व लागेको आरोप लगाएको छ । खनाल पक्षले अन्जन चौलागाई नेतृत्वको केन्द्रिय प्रतिनिधिको टोलीले गरेको निर्णय नमान्ने पार्टी सोही बिधि र प्रकृया बमोजिम भूपेन्द्र कोइराला नेतृत्वको टोलीले गरेको काम मान्न तयार भएको भन्दै रोष प्रकट गरेको छ ।
नेविसंघ चितवनका अध्यक्ष रहेका खनालले भने, ‘अन्जनले अरुणलाई अध्यक्ष बनाउँदा पार्टीले नस्वीकार्ने, आज त्यही बिधि प्रकृया अवलम्वन गर्दा भने स्वीकार्ने कारण के छ ?’ । उनले ‘नितान्त व्यक्तिगत दुरासय, चरित्र हत्या, तेजोबध गर्ने हिसावले पूर्वाग्रही भएर जिल्ला पार्टी चलेको’ आरोप लगाए ।
खनालले आफु पार्टीका एकाध व्यक्तिको ‘एस म्यान’ नबन्दा केन्द्रिय प्रतिनिधि अन्जन चौलागाईले गरेको निर्णय नमानिएको भन्दै कोइरालाको टिमले गरेको निर्णय बिधि सम्मत नभएकोले नमान्ने बताए ।
नेविसंघको केन्द्रिय नीति अनुरुप नै साउन २० गते भित्र चितवन जिल्लाको अधिवेशन गरि सक्न भनिएको थियो । सूर्य ढकाल नेतृत्वको सम्मेलन आयोजक समितिबाट अमृत अधिकारी सहितका १० जना शेरबहादुर देउवा समर्थकहरुले समितिमा नरहेको उल्लेख गरेका छन् ।
यता चितवन जिल्लाबाट केन्द्रिय सदस्य रहेका निर्मल पौडेलले जिल्लामा नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिहरुलाई पाखा लगाउन चितवनको पार्टी नेतृत्व लागिपरेको प्रतिक्रिया दिएका छन् । उनले पार्टीले तानाशाही शैलीमा नेविसंघभित्र अनावश्यक हस्तक्षेप गर्दै आएको भन्दै रोष प्रकट गरे ।
पौडेलले भन्छन्– ‘नेविसंघ भित्रका सम्भावनाहरुलाई सिध्याउने र आफ्नो वरिपरी घुम्ने दुतहरुलाई काखी च्यापी जिल्लामा संगठनलाई ध्वस्त बनाउने काम भएको छ ।’ उनले ढकाल नेतृत्वको जिल्ला समितिले गर्न लागेको जिल्ला अधिवेशन बारे आफुलाई जानकारी नआएको बताए । उनले केन्द्रिय अध्यक्ष रञ्जित कर्णले ढकाललाई अध्यक्ष बनाएर जिल्ला असहज अवस्था ल्याएको आरोप लगाए ।
नेविसंघका अध्यक्ष रन्जित कर्णले गएको वर्ष असार १७ गते विज्ञप्ति जारी गर्दै सूर्य ढकाललाई अध्यक्ष पदमा चयन गरेको जानकारी गराएपछि नेविसंघको विवाद त्रिकोणीय बनेको थियो । कर्णले ढकाललाई अध्यक्ष बनाएपनि संघका केन्द्रीय सदस्य एवम चितवनको तर्फबाट केन्द्रीय प्रतिनिधि अन्जन चौलागाईले १८ गते अर्को एक विज्ञप्ति जारी गर्दै अरुणेश्वर खनाल नै नेविसंघ चितवनको अध्यक्ष भएको दाबी गरेका थिए । चितवनको अधिवेशन गर्नका लागि तोकिएका केन्द्रिय प्रतिनिधि तथा केन्द्रिय सदस्य अञ्जन चौलागाईले उत्तम जोशीको नेतृत्वमा रहेको जिल्ला कार्यसमितिलाई विघटन गरी अरुणेश्वर खनाललाई जिल्ला अध्यक्षमा चयन गरिएको घोषणा गरेका थिए ।
नेपाली काँग्रेस चितवनले बनाएको पार्टी संयन्त्रले वैशाख १३ गतेका लागि २४ औं जिल्ला अधिवेशन आह्वान गरेपनि त्यसअघि नै अरुणेश्वर खनाललाई अध्यक्ष भएको घोषणा गरिएपछि विवाद झनै चुलिएको थियो । काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठको संयोजकत्वमा बनेको पार्टी संयन्त्रले नेविसंघ चितवनका पदाधिकारीहरुको समेत सहमतिमा वैशाख ६ गतेको अधिवेशनलाई एक साताका लागि स्थगित गरी वैशाख १३ गते गर्ने गरी सारेको थियो । तर सो मितिमा समेत अधिवेशन गर्न गराउन काँग्रेस र नेविसंघले नसकेपछि नेविसंघ केन्द्रले सूर्य ढकाललाई अध्यक्ष तोकेको थियो ।
नेबिसंघको बिबाद मिलाउन बनाइएको पाँच सदस्यीय संयन्त्रमा संयोजक श्रेष्ठ, सुनिल श्रेष्ठ र राजीव न्यौपाने एकातिर भए भने, झलक गुरुङ र इन्द्र कमल बुढाथोकी अर्कोतिर लागे । नेविसंघ भित्रको विवाद काँग्रेसका लागि टाउको दुखाईको विषय बन्दै आएको छ ।