«

»

सञ्चार सञ्जालमा एकलको नेतृत्व

ekal silwalसञ्चारपत्र सम्वाददाता
भरतपुर, ७ भदौ
श्रमजीवि पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गराउन सञ्चार सम्वद्ध संस्था, सरकार तथा सरोकारवालासंग माग गर्ने लगायत विभिन्न छ बँुदे प्रस्ताव पारित गर्दै सञ्चार सञ्जाल चितवनको सातौ साधारण सभा तथा चौथो अधिवेशन शनिवार भरतपुरमा सम्पन्न भएको छ ।
अधिवेशनले कान्तिपुर पब्लिकेसन्सको प्रकाशन र वितरणमा गरिएको अवरोधप्रति पनि खेद व्यक्त गरेको छ । पब्लिेकसन्ससंग भएको गुनासो तथा मागलाई वार्ताद्वारा टुंग्याउँदै पत्रिका निर्वाध वितरण गर्ने वातावरण सिर्जना गर्न पनि सञ्जालले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
दश वर्षअघि चितवनका व्यवसायिक पत्रकारहरुको सक्रियतामा सञ्चार सञ्जालको स्थापना भएको थियो । सञ्जालले विभिन्न सामाजिक विषयवस्तुलाई सञ्चारमाध्यममा ल्याउनेदेखि पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि समेत काम गर्दै आएको छ ।
शनिवार सम्पन्न संस्थाको चौंथो अधिवेशनले पुनः एकल सिलवालकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । पदाधिकारीतर्फ भने कार्यसमितिको उपाध्यक्षमा सूर्यप्रकाश कँडेल, सचिवमा रमेशकुमार पौडेल, कोषाध्यक्षमा सविता श्रेष्ठ र सह–सचिवमा सुरज पौडेल सर्वसम्मत चयन भएका छन् । यसैगरि सदस्यहरुमा दिपेन्द्र बडुवाल, तिलकराम रिमाल, मोहन बस्याल र कृष्णप्रसाद पौडेल सर्वसम्मत भएको संस्थाले जनाएको छ । 

अधिवेशनमा सञ्जालका सचिव रमेशकुमार पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । निवर्तमान कोषाध्यक्ष प्रतिमा सिलवालले विगत आर्थिक वर्षका आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । दुवै प्रतिवेदन सदस्यहरुको छलफलपछि पारित गरिएको थियो ।
अधिवेशन सम्पन्न गर्न सल्लाहकार रामवावु सुवेदीको संयोजकत्वमा संस्थापक अध्यक्ष कृष्ण गिरी र संस्थापक कोषाध्यक्ष हरिप्रसाद पोखरेल रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले अधिवेशनमा नेतृत्व सर्वसम्मत गराउन समेत सहजिकरण गरेको थियो ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएपछि नवनिर्वाचित अध्यक्ष एकल सिलवालले संस्थाको भावी योजनासहित पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सञ्चार सञ्जाललाई थप क्रियाशिल बनाउने प्रतिबद्धता व्यक्त गरे । पछिल्ला वर्षहरुमा शिथिल देखिएको संस्थाका सुरुवाती वर्षहरु गर्व गर्न लायक भएको स्मरण गर्दै सिलवालले विगतलाई समिक्षा गरेर सञ्जाललाई सक्रिय बनाउन समुदायसंग सञ्चारकर्मीको छलफल र सञ्चारकर्मीको क्षमता विकासका कार्यक्रमहरु सम्पन्न गर्ने लक्ष्य लिएको पनि बताए ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई व्यक्त गर्दै सञ्जालका संस्थापक अध्यक्ष एवम् सल्लाहकार कृष्ण गिरीले चितवनको पत्रकारितालाई व्यवसायिक र विशिष्टिकृत बनाउन सञ्जालले पत्रकारहरुको क्षमता वृद्धिमा जोड दिनुपर्ने बताए ।
सञ्जालका संस्थापक कोषाध्यक्ष एवम्

sanchar sanjal

 नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले पत्रकारहरुको क्षमता अभिवृद्धिसंगै पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका सवालमा सञ्जालसंग सहकार्य र समन्वयात्मक तरिकाले अगाडि बढ्न सकिने बताए । संस्था स्थापना भएको नौ महिनामै तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’ गरेपछि महासंघको आन्दोलनमा सञ्जालले साथ दिएको स्मरण गर्दै पोखरेलले भने–‘सञ्जालले अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध लडेको पनि इतिहास छ । सञ्जालले प्रेस स्वतन्त्रताका लागि खेलेको भूमिकालाई विर्सन हुँदैन ।’
सञ्जालले आगामी वर्षमा गर्ने पाँच प्रकृतिका कार्यक्रमका विषयमा समेत अधिवेशनमा छलफल भएको थियो । संस्थाले गर्न लागेका कार्यक्रमहरुमा सार्वजनिक संवाद, स्थलगत अन्वेषण र सञ्चार समीक्षासहित विशिष्टीकृत पत्रकारिता तालिम र विभिन्न विषयमा पत्रकारहरुबीच अन्तरक्रिया रहेका छन् ।