«

»

चोरीको गहना किन्दा व्यवसायी थुनामा

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ४ असोज
सुनचाँदी व्यवसायीले गहना बेच्ने मात्रै गर्दैनन् । ग्राहकबाट सुनचाँदीका गहना किन्ने पनि गर्छन् । यसैले गहना बेच्दा आफ्नो पसलको बिल दिएर मात्रै बेच्नुपर्छ भने ग्राहकसंग बिल भएको गहना मात्र किन्न पाईन्छ । सुनचाँदी व्यवसायको कारोवार गर्दा चोरीका गहनाहरु किनबेच नहुन् भन्नका लागि यसो गरिएको हो । तर बुटवलका एक सुनचाँदी व्यवसायी भने बिलसहितको सुन किन्दा समेत चितवन प्रहरीको कारवाहिमा परेका छन् । बुटवलका व्यवसायी रवि विकलाई चोरीको सुन कारोवार गरेको आरोपमा प्रहरीले ईलाका प्रहरी कार्यालय, रत्ननगरमा एक हप्तादेखि हिरासतमा राखि अनुसन्धान गरिरहेको छ ।
धादिङ घर भएका अनिल पाण्डेले टाँडीमा रहेको प्रदिप गेष्ट हाउसबाट भदौ २८ गते सुन चोरेर बुटवलको पुष्पलाल पार्कमा रहेको शिव श्रीराम गुल्मेली सुनचाँदी पसलमा लगि बेचेको प्रहरीको भनाई छ । पाण्डेले बिलसहितको एक तोला ९४ लालको सुनको सिक्री बिक्री गरेको वडा प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर केदारराज पन्तले बताए । ‘पसलमा भएको सीसीटिभी क्यामेरा हेर्दा पनि सिक्री बिक्री गरिएको देखिएको छ ।’ पन्तले भने ।
बुटवलमा सिक्री बेचेर टाँडी आइसकेपछि चोरीको आरोपमा पाण्डे पनि पक्राउ परेका हुन् । तर अनुसन्धानका लागि चोरीको गहना किन्ने पसल देखाउन प्रहरीसहित बुटवल पुगेका पाण्डे भने प्रहरीको नियन्त्रण कक्षबाटै फरार भएपछि यो घटना रहस्मय भएको छ । ‘एकातिर प्रहरीको नियन्त्रणमा रहेको चोर फरार हुने, अर्कोतिर विनाकारण बुटवलको व्यवसायीलाई अनुसन्धानको बहानामा चितवन ल्याएर थुन्ने काम भएको छ । यो हामीमाथि अन्याय हो ।’ हाल प्रहरीको थुनामा रहेका पसल सञ्चालक रवि विकका दाजु बाबुराम विकले भने ।
‘बिल सहितको गहना लिएर आएपछि हामीले किनेका हौँ । त्यसमाथि गहना बेच्ने बेलामा उसले आफ्नो परिवार साह्रै विरामी भएकाले उपचारका लागि गहना बेच्नुपरेको बतायो ।’ बिकले भने–‘त्यसमाथि सबै कुरा सीसीटिभी क्यामेरामा छर्लङ्ग छ । हामीले सुनभन्दा अरु कुरा किनेका छैनौँ ।’
सुनको प्रमाणिकरण गराउने भन्दै रवि विकलाई रामनगरस्थित वडा प्रहरी कार्यालय बुटवलका ईन्सपेक्टर केदारराज पन्तले ईलाका प्रहरी कार्यालय, रत्ननगरको लिखित अनुरोधमा चितवन पठाएका हुन् । चितवनमा चोरीमा संलग्न पाण्डे पक्राउ परेपछि प्रहरीले बिक्री गरेको स्थान पत्ता लगाउनको लागि प्रहरी लगाएर पाण्डेलाई बुटवल लगेको थियो । बुटवलमा विक्री गरेको जानकारी भएपछि चितवन प्रहरीले चोरीमा संलग्न भनिएका अनिल पाण्डेलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलको जिम्मा समेत लगायो ।
वडा प्रहरी कार्यालय बुटवलले पिसाब गर्न शौचालय गएकोमा भागेको भन्दै घटनालाई तोडमोड गरेपछि बिल सहित सुन खरिद गरेका सुन व्यापारी रवि विक थप समस्यामा परेका छन् । कार्यालयका इन्चार्ज समेत रहेका ईन्सपेक्टर पन्तले विहानको समयमा ड्युटीमा रहेका प्रहरी जवान अर्जुन पौडेलको गल्तीले यस्तो घटना भएको बताए । पन्त आफैले कुरा मिल्ने भन्दै चितवन ल्याईएका बिकलाई चितवन प्रहरीले म्याद थप गरी कारवाही प्रक्रिया अगाडी बढाएपछि बुटवलका व्यापारीहरू थप आक्रोशित हुँदै चितवन आईपुगेका छन् ।
उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले यस्ता किसिमका घटनाले व्यवसायीमाथि अन्याय भएको बताए । चोरी कार्यमा संलग्नलाई पक्राउ गरी कारवाही गर्नुपर्ने प्रहरीले नै चोरीको आरोपमा पक्राउ परेका युवकलाई भगाएर व्यवसायीलाई दुःख दिएको श्रेष्ठको आरोप छ ।
ईलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरिक्षक टिकाबहादुर कार्कीले चोरलाई पक्राउ गरेर चोरीका घटनाबारे थप अनुसन्धान गर्न बुटवल लैजादा भागेको स्वीकार्दै पसलमा अन्य चोरीका गहनाहरु पनि किनबेच भएको भन्ने उजुरीका आधारमा पसल सञ्चालकलाई नियन्त्रणमा लिएर मुद्धा चलाईएको बताए । पसलमा जडान भएको सीसीटिभीको रेकर्डमा भने चोरीको आरोप लागि फरार भएका पाण्डेले सुनको सिक्री मात्रै बिलसहित बेचेको देखिएको छ ।