«

»

सामान्य चर्केको घरमा बस्न मिल्छ ः विज्ञ

11169724_881969545192698_3679196865252968641_o

यसरी भत्केको घरमा बस्न नहुने विज्ञहरुले बताएका छन् ।

तिलकराम रिमाल
भरतपुर, ३ जेठ
मानवीय क्षति कम भएपनि भूकम्प र पटकपटकको पराकम्पनका कारण ठूलो सङ्ख्यामा यहाँका घरहरु चर्किएपछि सर्वसाधारणमा त्रास छाएको छ । सम्बद्ध विज्ञहरुले आत्तिनु नपर्ने जनाएपनि पटकपटकको पराकम्पनको कारण घरधनीहरु पालमा बसेका छन् भने डेरावालहरु सुरक्षित ठाउँको खोजीमा भौंतारिएका छन् ।
सामान्य चर्काई समस्या नभएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका इञ्जिनियरहरुले बताएका छन् । यहाँका सरकारी कार्यालय, शिक्षण संस्था, सामाजिक संघ संस्था र सर्वसाधारणका धेरै घरहरुमा सामान्य चर्केको अवस्था देख्न सकिन्छ । उच्च गर्मीका कारण आफैमा पनि चितवनका भवनहरु चर्किएको पाईन्छ । भूकम्पछि पहिले र पछि चर्किएका सबै संरचनाहरु त्रासमा परिणत भएका छन् ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर सुनिलकुमार ठाकुर सामान्य चर्किदा डराउनु नपर्ने बताउँछन् । उनले गारोवाला घरहरुमा भुइँदेखि छत वा छानासम्म ५ मिलिमिटर वा त्योभन्दा बढी चर्किए त्यस्तो घर मर्मत गरेर मात्र बस्न मिल्ने बताए । झ्याल वा ढोकाको कुनाबाट ५ मिलिमिटर वा सोभन्दा बढी चिरा परेमा, छत र गारोको बीचमा ५ मिलिमिटरभन्दा बढीको चिरा भएमा, झ्याल वा ढोकाको बीचको गारोमा दुवैतिरबाट छड्के चिरा परेमा, घर ढल्किएमा, घरको एक तिहाई वा सोभन्दा बढी भागमा ठाडा, छड्के वा तेस्रा चिराहरु परेमा मात्र खतरा रहने ठाकुरले बताए ।
त्यसैगरी पिल्लरवाला भवनमा पिल्लर वा बिममा एक मिलिमिटरभन्दा चौडा छड्के चर्काई भएमा, भुइँतलामा धेरै पिल्लर र बिममा चर्काई भएमा, गारोमा पिल्लर हुँदै छड्के चिरा भएमा र पिल्लर वा बिमबाट प्लाष्टर फुटेर डण्डि देखिएमा मर्मत गरेर मात्र बस्नु पर्ने उनले बताए ।
त्यसैगरी कुनाको पिल्लरमा भएको १–२ मिलिमिटर भन्दा चौडा, तेस्रा र ठाडो चिराहरु र घरको कुनै भाग ठाडो लाईनमा नभई छड्के परेको अवस्थामा बाहेक आत्तिनु नपर्ने भन्दै ढुक्कसँग बस्न सकिने प्रमुख इञ्जिनियर सुनिलकुमार ठाकुरले बताए ।
जिल्लाका अधिकांश भवनहरुमा सामान्य चर्किएको अवस्थामा आत्तिनु नपर्ने सोही कार्यालयका इञ्जिनियर सुरेश खनालको भनाई छ । भूबनोटका कारण पनि चितवनको पर्सादेखि पूर्वका केही क्षेत्रका संरचनाहरुमा क्षति पुगेको उनले बताए । भवन निर्माण आचारसंहिता पालना नगरेका र भवनको क्षमताभन्दा बढी सामान राखिएको अवस्थामा पनि संरचनाहरुमा क्षति पुग्ने उनले बताए ।
चितवनको भरतपुर क्षेत्रमा ठूलो संख्यामा घर बहालमा बस्नेहरु रहेका छन् । यहाँका अधिकांश घरहरुमा सामान्य चर्केको पाईन्छ । सोही आधारमा डराएर नसुत्ने, नयाँ ठाउँको खोजीमा भौतारिनु नपर्ने इञ्जिनियर खनालले बताए । चर्किएका सरकारी भवनको सहरी विकास तथा भवन डिभिजन कार्यालय र निजी भवनहरुको सम्बन्धित नगरपालिका र इञ्जिनियरिङ एशोसिएसनले निरीक्षण गरिरहेका छन् ।