«

»

कैदीबन्दीलाई रिहा गर्न माग

9सञ्चारपत्र सम्वाददाता
नारायणगढ, ३ जेठ
कैदीबन्दीका आफन्तहरुले कारागारमा रहेका आफ्ना आफन्तलाई कैदमुक्त गर्नुपर्ने बताएका छन् । देशमा महाविपत्ति आइपरेको बेलामा कैदीबन्दीहरुलाई कैदमा राख्न नहुने भन्दै उनीहरुको सजाय माफी दिएर रिहा गरिनुपर्ने बताएका हुन् ।
कैदीबन्दी अभिभावक संघ चितवनले आइतबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय विपत्तिबाट देश रोइरहेको बेला सबै कैदीबन्दीहरुलाई जेलमुक्त गरी राष्ट्र निर्माणमा जुट्न दिन आग्रह गरेका थिए । उक्त कार्यक्रममा कैदीबन्दीको अभिभावकका तर्फबाट आफ्नो भनाइ राख्दै प्रतिभा त्रिपाठीले राणा कालिन समयमा आएको भूकम्पमा पनि कैदीबन्दीहरुले आम माफी पाएको उल्लेख गर्दै वर्तमान सरकारले पनि सबै कैदीबन्दीलाई आम माफी दिनुपर्ने बताइन् ।
‘विपद्को समयमा कैदीबन्दीहरु परीवारसँग बस्न पाउनु उनीहरुको अधिकार हो’ त्रिपाठीले भनिन्, –‘कैदीबन्दीहरुको जेल जीवन मुक्त गर्दै उनीहरुलाई राष्ट्रको पुनर्निमाणमा लगाउनु पर्दछ ।’ विक्रम सम्वत १९९० सालमा कैदीबन्दीहरुलाई छोडिएको नजिर हेर्दै त्यसै अनुरुप अहिलेका कैदीबन्दीहरुलाई पनि छोडिनुपर्नेमा त्रिपाठीले जोड दिइन् । कारागार सुधार गृह भएको कारण उनीहरुलाई यो महाविपत्तिको समयमा जेल जीवनबाट छुटकारा गराउनुपर्नेमा त्रिपाठीले जोड दिइन् ।
12उक्त कार्यक्रममा कैदीबन्दीका अभिभावक तीलप्रसाद न्यौपानेले नेपालको प्रचलित कानुनको पालना गर्दै कैदीबन्दीलाई रिहा गरिनुपर्ने बताए । मुलुक विपत्तिबाट गुज्रिएको अवस्थामा सम्पूर्ण कैदीबन्दीलाई आम माफी दिदै पुनर्निमाणमा लगाउनुपर्ने न्यौपानेले बताए ।
कार्यक्रममा रिता बास्तोलाले कैदीबन्दीलाई खोरमा भेँडा बाख्रा कोचे जस्तै गरेर कारागारमा राख्ने गरिएको बताइन् । जिल्ला कारागार चितवनमा एक सय ५० कैदीको क्षमता भएकोमा पाँच सय ६० भन्दा धेरै कैदी राखिएको बास्तोलाले बताइन् । कारागारमा सुरक्षित रहने ठाउँ नभएको उल्लेख गर्दै कारागारको भित्ता तथा पर्खाल भत्किएको अवस्थामा कैदीबन्दीहरु भाग्ने सुरक्षित ठाउँ नभएको बास्तोलाले बताइन् ।
उक्त कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले अहिलेको कानुनले कैदीबन्दीलाई कैद मिनाहा गर्न नसक्ने बताए । ‘परम्परागत कानुनले कैदीबन्दीलाई छोड्न मिल्दैन’ पोखरेलले भने, –‘सरकारले तुरुन्त अध्यादेश ल्याएर केही मुद्दामा बाहेक सबैलाई आम माफी दिनुपर्छ ।’ कैदीबन्दीका अभिभावकका कुरालाई सम्बोधन गर्दै खास खास मुद्दामा बाहेक सबैलाई आम माफी दिनुपर्ने पोखरेलले बताए ।
मुलुक यतिबेला विपद्मा परेर राज्यका धेरै भौतिक संरचना ध्वस्त भएका र तिनीहरुको पुनर्निर्माणमा जुट्नुपर्ने पोखरेलले बताए । ‘ध्वस्त संरचनाको पुनर्निर्माण गर्ने दक्ष जनशक्ति यति बेला राज्यसँग छैन’ पोखरेलले भने, –‘यसलाई मध्यनजर गर्दै राज्यले धेरै कैदीबन्दीलाई आम माफी दिनुपर्छ ।’ नेपालमा रहेका सम्पूर्ण कारागारहरु जिर्ण भएका र कुनै भाग भत्किएमा भाग्ने ठाउँ समेत नभएको पोखरेलले बताए ।
‘कैदीहरुको जीवन सुरक्षित राख्नुपर्ने सरकारको दायित्व हो’ पोखरेलले भने, –‘कारागारमा एक जना कैदी मर्दा पनि त्यसको जिम्मेवार राज्यले लिनुपर्छ ।’ कैदीहरुलाई सुरक्षित कारागार नभएको कारण उनीहरुलाई मुक्त गरिनुपर्ने र यस विषयमा सदनमा आफूले कुरा राख्ने पोखरेलले बताए ।
नारायणगढको कार्यक्रम पछि कैदीबन्दी अभिभावक संघ चितवनले जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन् । कारागारमा रहेका सम्पूर्ण कैदीबन्दीहरुलाई सरकारले तत्काल रिहा गर्नुपर्ने माग राखिएको ज्ञापनपत्र आफूहले जिल्ला प्रशासन कार्यालयमा बुझाएको संघका अध्यक्ष विकासमान श्रेष्ठले बताए । कैदीबन्दी अभिभावक संघका अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा बाबुराम रामुदामुले कार्यक्रम बारे प्रष्ट पार्दै स्वागत मन्तव्य राखेका थिए ।