«

»

पुलिसलाई पनि ‘बेकुफ’ बनायो क्यान्सर प्रशासनले

sp karkiभरतपुर, १० असोज । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विवादका विषयमा पक्राउ गरिएका मध्ये अस्पतालकी वरिष्ठ अधिकृत अयोध्या कुमारी पाठकलाई सार्वजनिक अपराधको मुद्धा चलाउन अनुरोध गर्दै बिहीबार क्यान्सर प्रशासनले प्रहरीलाई जाहेरी पठायो ।
अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटालाई हातपात गरेको अभियोगमा सार्वजनिक अपराधको मुद्धा लगाउन माग गर्दै अस्पतालका कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण सिंहले प्रहरीलाई पत्र पठाएका थिए । जाहेरी पत्र अनुसार मुद्धा अघि बढाउन चितवन प्रहरी ठिक्क परेको थियो । प्रहरीले सबै कागजात मिलाएर अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला प्रशासनमा कागजात पठाएको थियो । सोही समयमा जिल्ला प्रहरी कार्यालय पुगेका कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा पत्रकारको टोलीसँग प्रहरी उपरीक्षक प्रद्युम्न कुमार कार्कीले ‘पाठकको व्यवहार ठिक नभएको’ भन्दै म्याद थप गरेर अनुसन्धान अघि बढाउने बताउँदै थिए ।
पक्राउ गरिएकी पाठकले पनि आफूमाथी कानुन अधिकृत सापकोटाले हातपात गरेको भन्दै मुद्धा दर्ता गर्न चाहेकोे विषयमा मानवअधिकारकर्मी मुकुन्द दहालले प्रश्न गरे । उनको भनाइ खण्डन गर्दै प्रहरी उपरीक्षक कार्कीले भने, ‘तिनको मुद्धा दर्ता नै गर्दिन ।’ उनले अझै थपे, ‘महिलाको अन्तिम हतियार नै हातपात गरे भन्ने हुन्छ । उनी यो घटनामा दोषी छिन्, म्याद थप गरेर उनीमाथी हामी कारबाही गर्छौं । उनको उजुरी म दर्ता नै गर्दिन ।’
एसपी कार्कीले आफ्नो कुरा सकेकै थिएनन्, टेबुलमा रहेको टेलिफोनमा घण्टी बज्यो । ‘क्यान्सर अस्पताका कार्यकारी निर्देशक डा. सिंहको फोन’ फोन राखेपछि उनले भने, ‘हामी मिल्यौं मुद्धा दर्ता नगर्नुस् भन्छन् ।’ एकैछिन अघि पाठकलाई ‘गलत व्यवहार गरेकी आइमाई’ भनिरहेका उनले डा. सिंहको फोन आएपछि भन्न भ्याए– ‘क्यान्सर अस्पताललाई क्यान्सर नै भएको छ । हामीले पनि नचाहिने दुःख पाएका छौं ।’ कार्कीले पक्राउ परेका अन्य तीनजनाको भने कुनै दोष नरहेको र उनीहरु हुलमुलमा परेर समातिएका बताए ।
यसैबीच, बुधबार सा“झ पक्राउ गरेका चारैजनालाई प्रहरीले बिहीबार साँझ छोडेको छ । तीन जना एमाले कार्यकर्ता सहित क्यान्सर अस्पतालकी कर्मचारी पाठकलाई बिहीबार सा“झ रिहा गरेको हो । बुधबार प्रहरीले पाठक सहित नेकपा एमालेका जिल्ला सदस्य रामप्रसाद न्यौपाने, राजु पौडेल र जिल्ला सल्लाहकार शम्भु सुवेदीलाई पक्राउ गरेको थियो । पाठकलाई भने आइतबार तारेखमा हाजिर हुनेगरी छाडिएको एसपी कार्कीले बताए ।
नेकपा एमाले चितवनले आफ्ना जिल्ला कार्य समिति सदस्य तथा सल्लाहकारलाई पक्राउ गरेको बिरोधमा बिहीबार नै जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो । एमालेले उनीहरुलाई बिना कसुर पक्राउ गरिएको भन्दै तुरुन्त रिहाइ गर्न माग गदै प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई ज्ञापनपत्र बुझाएको थियो ।