«

»

क्यान्सर अस्पतालको खल्लो वार्षिकोत्सवमा अध्यक्षको प्रश्न ः

Cancerनिर्देशक ज्यू, कर्मचारीलाई खबर गर्न बिर्सेको त होइन ?
प्रतिमा सिलवाल
भरतपुर, १० असोज
‘कार्यकारी निर्देशकले अस्पतालका कर्मचारीहरुलाई निम्ता दिनै बिर्सेको त होइन ? यो अस्पतालमा छ सय जनाको हाराहारीमा कर्मचारी छौं । कार्यक्रम हलभने खाली, किन यस्तो ?’ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठ बिहीबार अस्पतालको वार्षिकोत्सवमा कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण सिंहलाई प्रश्न गर्दै थिए ।
अस्पतालको १४ औं वार्षिकोत्सव समारोहमा अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा कर्मचारीको पातलो उपस्थिति देखेपछि अध्यक्ष श्रेष्ठले सार्वजनिक रुपमै कार्यकारी निर्देशकको कार्यक्षमतामा प्रश्न उठाए । ‘यो हलमा हामी वार्षिकोत्सव मनाउनै आएका हौं त ? उनले थपे, ‘खुसी मनाउने ठाउ“मा भएको योे शुन्यताले मलाई लज्जित बनाएको छ ।’ उनले कर्मचारीहरुको विचमा अस्पतालप्रति देखिएको वितृष्णाप्रति गम्भिर हुन समेत आग्रह गरे ।
क्यान्सर अस्पतालमा लामो समयदेखि कर्मचारीको सेवा सुविधाका विषयमा भएको विवाद बुधबार बेलुका चर्किएको थियो । विवादमा प्रहरीले अस्पतालमा कार्यरत एक वरिष्ठ अधिकृत सहित चार जनालाई पक्राउ गरेको थियो । अस्पतालमा विवाद बढेको कारण नवौं क्यान्सर सतर्कता दिवस तथा १४ औं वार्षिकोत्सव समारोहमा पनि अधिकांश कर्मचारी उपस्थित भएनन् । अस्पतालको अडिटोरियम हलको अधिकांश कूर्ची खाली थिए । कार्यक्रममा अस्पतालका विरामी तथा विरामीका सहयोगीहरु पनि सहभागी थिए ।
यस अघिका वार्षिकोत्सवमा भव्य ढंगले गरिने औपचारिक कार्यक्रम यसपालि भने करिब एक घण्टामै टुङ्ग्याइयो । मध्यान्ह करिब १२ बजेबाट सुरु भएको कार्यक्रम एक नबज्दै सकिएको थियो ।
क्यान्सर अस्पतालका अधिकांश डाक्टर, नर्स तथा कर्मचारी भने एकले अर्कोलाई सिध्याउने खेलमा रहेको अस्पतालको कार्यक्रममा उपस्थित हुनु नै बेकार भन्दै थिए । ‘अस्पतालमा एउटा कर्मचारीले अर्कोलाई कसरी सिध्याउने भन्ने खेल चलेको छ’ अस्पतालका एक कर्मचारीले भने– ‘यस्तो विवादमा भएको कार्यक्रममा के रौनकले सहभागी हुनु ।’
अस्पतालका कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण सिंहले भने अस्पतालको वार्षिक प्रगती प्रतिवेदन छोटकरीमा सुनाएर आफ्नो बोल्ने पालो टुङ्ग्याए । औपचारिक कार्यक्रममा चितवनका राजनीतिक दल तथा विभिन्न क्षेत्रका व्यक्तिहरु पनि थिएनन् । अस्पताल सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले भरिएको मञ्चमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि अन्तिममा पुगेका थिए । कार्यक्रममा प्रजिअ तथा प्रहरी प्रमुखलाई बोल्न समय दिइएन ।
स्वास्थ्य मन्त्रालयका सदस्य सचिव डा. प्रविण मिश्र प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य डा. श्यामबाबु यादव, डा. विजयराज न्यौपाने लगायतले बोलेका थिए ।