«

»

रात्री बसमा हतियार सहितका प्रहरी

असोज १५ बाट विशेष सुरक्षा योजना थपिंदै
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १० असोज
जिल्ला प्रहरी कार्यालय, चितवनले असोज १५ गतेदेखि कार्यान्वयन हुने गरि पुनः विशेष सुरक्षा योजना लागू गर्ने भएको छ ।
दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर कार्तिक मसान्तसम्म विशेष सुरक्षा योजना लागू गरिने चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कुमार कार्कीले जानकारी दिएका छन् ।
विशेष गरेर दशैँको समयमा हुने गरेका आपराधिक घटनाहरुलाई नियन्त्रण गर्नको लागि अभियान प्रभावकारी हुने प्रहरी उपरीक्षक कार्कीले बताए । ‘दशैं, तिहार र छठको समयमा हुने गुण्डागर्दी, जाँड रक्सी सेवन तथा जुवा तास नियन्त्रणमा प्रहरी परिचालन गर्नेछौँ’ कार्कीले भने ।
चाडपर्वको समयमा यात्रुहरु ठगिने गुनासो आउने हुनाले भरतपुरको आँपटारी र मुग्लिनमा हाई वे चेक प्वाइन्ट राखिने जानकारी कार्कीले दिए । यात्रुहरुलाई अनावश्यक दुख दिने, महङ्गो भाडा लिने तथा यात्रुलाई लठ्याउने औषधी सुँघाएर लुट्ने कार्य नियन्त्रणको लागि हाई वे चेक प्वाइन्ट प्रभावकारी हुने कार्कीको भनाई छ ।
चाड पर्वको समयलाई लक्षित गरेर बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिने कार्कीले बताए । यात्रु सहायता कक्षले आर्थिक अपराध नियन्त्रण गर्न सघाउ पु¥याउने विश्वास उनले व्यक्त गरे ।
रातीको समयमा राजमार्गमा आपराधिक गतिविधि बढेको गुनासो आएपछि प्रहरीले बुधबारबाट रात्रि बसहरुमा हाइ वे गस्ती परिचालन गरेको जानकारी प्रहरी उपरीक्षक कार्कीले दिए ।
‘सहायक अधिकृतको कमाण्डमा एउटा रात्री बसमा चार जना लामो हतियार सहितका प्रहरी बुधबार साँझबाट परिचालन गरेका छौँ’ कार्कीले भने । चितवनको मुग्लिङ– नारायणगढ सडक खण्ड अन्तर्गत जुगेडीबाट मुग्लिङसम्म हतियार सहितका प्रहरीले रात्री बसलाई स्कर्टिङ्ग गर्ने कार्कीले बताए ।
दशैँ, तिहार तथा छठ पर्वको समयमा हुने गरेका अप्रिय घटनालाई नियन्त्रण गर्नको लागि बजारका मुख्य चोकहरुमा सादा पोशाकका प्रहरीहरु परिचानल गरिने प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।
चाडपर्वलाई लक्षित गरेर मादक पदार्थ सेवन (मापसे) मा कडाई पनि उनले बताए । चाड पर्वको समयमा जिल्लामा रहेका प्रहरीको जनशक्तिले मात्रै नपुग्ने कारण क्षेत्रबाट सय जना प्रहरी थप गरिने प्रहरी उपरीक्षक कार्कीले बताए ।
भदौ ७ गतेबाट लागू भएर असोज ७ गते सकिएको एक महिने विशेष सुरक्षा योजनामा प्रहरीले सफलता प्राप्त गरेको कार्कीले दावी गरे । यो एक महिनाको अवधिमा प्रहरीले प्राप्त गरेको सफलताको कारण फेरि असोज १५ गतेबाट कार्तिक मसान्तसम्मको लागि विशेष सुरक्षा योजना ल्याइन लागेको कार्कीले बताए ।