«

»

भूकम्पले चितवनका ३९ सरकारी कार्यालयमा क्षति

मालपोत कार्यालय चितवनको भाथिल्लो तलामा भूकम्पले क्षति पु¥याएपछि त्यस ठाउँको सामान सुरक्षित ठाउँमा सार्दै सशस्त्र प्रहरी र कार्यालयका कर्मचारीहरु ।

मालपोत कार्यालय चितवनको भाथिल्लो तलामा भूकम्पले क्षति पु¥याएपछि त्यस ठाउँको सामान सुरक्षित ठाउँमा सार्दै सशस्त्र प्रहरी र कार्यालयका कर्मचारीहरु ।

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ जेठ
वैशाख १२ गते आएको महा भूकम्प र त्यसपछिका पराकम्पनले चितवनका विभिन्न ३९ वटा सरकारी कार्यालयको भवनमा क्षति पु¥याएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभीजन कार्यालय चितवनका डिभीजन प्रमुख सुनिल कुमार ठाकुरले चितवनका ११ वटा सरकारी कार्यालयका भवनमा आंशिक क्षति र २८ वटा कार्यालय भवनमा सामान्य क्षति पुगेको पुगेको बताएका छन् । चितवन जिल्ला कारागार, जिल्ला पशु सेवा कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, मत्य विकास केन्द्र भण्डारा, कृषि विकास बैंक भरतपुर, मालपोत कार्यालय भरतपुर लगायतका सरकारी कार्यालयका भवनहरुमा आंशिक क्षति पुगेको ठाकुरले बताए ।
त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभाग, डिभीजन कार्यालय चितवन, जिल्ला शिक्षा कार्यालय, सिँचाई कार्यालय लगायतका २८ वटा सरकारी कार्यालयका भवनहरुमा सामान्य क्षति पुगेको ठाकुरले बताए । अनुगमनमा संलग्न रहेका सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय चितवनका ईन्जिनीयर राजेन्द्र खतिवडाले आफूहरुको अनुगमनका क्रममा धेरै सरकारी कार्यालयका भवनहरुमा सामान्य क्षति पुगेको देखिएको बताएका छन् । धेरै क्षति भएका कार्यालयहरुमा सचेत रहन आग्रह गरिएको समेत खतिवडाले बताए ।

भवनको प्रकृति हेरी कार्यालय प्रमुखलाई सचेत गराइएको खतिवडाले जानकारी दिए । सामान्य क्षति पुगेका भवनहरुमा सामान्य मर्मत संभारपछि बस्न मिल्ने भएपछि आंशिक रुपमा क्षति भएका सरकारी कार्यालयको कामकाज अर्को कोठाबाट गर्न आग्रह गरिएको खतिवडाले बताए । ईन्जिनीयरको आग्रह अनुसार सबै सबै सरकारी कार्यालयले क्षति भएको कोठाबाट काम रोकेर अर्को कोठामा काम सुरु गरेका छन् ।
सहरी विकास तथा भवन निर्माण विभाग, डिभीजन कार्यालय चितवनले चितवन र नवलपरासीका सरकारी कार्यालयको भवन सम्बन्धि अनुगमन गर्ने गरेको छ । वैशाख १२ गते आएको महाभूकम्प र त्यसपछि पटक पटक आएको पराकम्पनका कारण चितवनका ३९ वटा सरकारी कार्यालयमा करिब एक करोड तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुगमनमा खटिएका ईन्जिनीयरहरुले बताएका छन् । भूकम्पका कारण क्षति पुगेका भवनहरु पुनर्निर्माण गर्नको लागि करिब चार करोड ५० लाख रुपैयाँ लाग्ने समेत अनुगमनमा खटिएका ईन्जिनीयरहरु बताउँछन् ।