«

»

सीताराम माविलाई एक लाख सहयोग

11377299_1609510005933141_4757813817170781565_nसञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ जेठ
भूकम्प र हावाहुरीका कारण क्षतिग्रस्त भएको देवघाटस्थित सीताराम संस्कृत माविको भवन पुनर्निर्माणका लागि बङ्गलामुखी ट्रष्टले एक लाख रुपैयाँ सहयोग गरेको छ । ट्रष्टका संरक्षक हेमकान्त सेढार्इंले सो रकम प्रदान गरेका हुन् ।
भूकम्पले भत्काएको भवन हावाहुरीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएपछि अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गर्न बङ्गलामुखी ट्रष्ट पिप्लेले विद्यालयलाई आर्थिक सहयोग गरेको हो । भूकम्प र हावाहुरीका कारण विद्यालयको पाँच वटा कोठा पूर्ण रुपमा क्षति भएपछि विद्यालयले विभिन्न दाताहरुको सहयोगमा पाँच कोठाको अस्थाई टहरा निर्माण गर्न लागेको  छ ।
टहराको छानो छाउन जस्ता पाता र अन्य सामाग्री खरिदका लागि ट्रष्टले विद्यालयलाई एक लाख रुपैयाँ उपलब्ध गराएको ट्रष्टका संरक्षक हेमकान्त सेढार्इंले बताए । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शम्भु उप्रेतीको रोहवरमा काम हुने गरी विद्यालयलाई सो रकम सहयोग गरेको सेढाईंले बताए ।
बेलायतमा बसोवास गर्दै आएका सेढाईंले नेपालमा भूकम्प पीडितहरुको सहयोगका लागि बेलायतमा रहेका नेपालीहरुले सङ्कलन गरेको १९ लाख रुपैयाँ भन्दा बढि रकम बराबरको राहत सामग्री लिएर भूकम्प पीडित क्षेत्रमा जाने तयारी भइरहेको समेत बताए । ट्रष्टले चितवन, धादिङ लगायतका जिल्लाका बढि प्रभावित क्षेत्रमा पुगेर नमूना घर निर्माण गर्ने तयारी गरेको उनले बताए ।
सेढाईंको पहलमा पिप्लेमा ट्रष्ट निर्माण गरी सामाजिक काममा लागिरहेको ट्रष्टका अध्यक्ष बुद्धिराज सेढाईंले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बेलायती नागरिक बेसन माई विलकिल्सन, ट्रष्टका महासचिव विश्व राज सेढाईं, सीमा सुरक्षा बल आँपटारीका प्रमुख शम्भु उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर भारतीलगायत स्थानीय वासिन्दाहरुको सहभागिता थियो । विद्यालयको पुनर्निर्माणमा सीमा सुरक्षा कार्यालयले प्राविधिक सहयोग गर्ने भएको छ ।
भूकम्प र हावाहुरीका कारण विद्यालयमा करिव ५० लाख रुपैयाँ बराबरको क्षति  भएको विद्यालयका प्राचार्य मिलन घिमिरेले जानकारी दिएका छन् । हावाहुरीले विद्यालयको छानो उडाएर भौतिक संरचना भत्किएपछि विद्यार्थीहरु पुस्तकालय, कम्युटर कक्ष र मन्दिरको पेटीमा बसेर पढिरहेका छन् । कक्षा कोठा नहुँदा एउटै कोठामा तीन वटा सम्म कक्षा सञ्चालन गर्नु परेको विद्यालयले जनाएको छ ।
विद्यालयले अभिभावकहरुको भेला गरेर पुनर्निर्माण र पठनपाठन सञ्चालनका सम्बन्धमा छलफल चलाइसकेको छ । दैनिकजसो चल्ने हावाहुरीका कारण विद्यालयको पठनपाठन असुरक्षित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर भारतीले बताए । सीताराम संस्कृत माविमा देवघाट क्षेत्रका चार सय भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।