«

»

हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु

heli2सिन्धुपाल्चोक, १९ जेठ
माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त हुँदा चार जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ३ बजेर ४५ मिनेट जाँदा माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ हेलिकप्टर सिन्धुपाल्चोकको बलेफी–८, यमुनाडाँडामा दुर्घटनाग्रस्त भएको हो । 
भूकम्प पीडितको राहत र उपचारका लागि खटिएको हेलिकप्टर बिजुलीको हाइटेन्सन लाइनलाई छोएपछि बलेफी पारीको यमुनाडाँडामा गएर दुर्घटनाग्रस्त भएको हो । बिजुलीको तारलाई छोएको ठाउँमा नै हेलिकप्टर खसेको भए बलेफी बजारमा परेर अरु मानवीय क्षति हुने थियो । हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सुदेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताए ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने मध्ये पाइलट भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका सुबेक श्रेष्ठ र उपचारका लागि गएका डाक्टर सन्दिप गौतम, स्वास्थ्यकर्मी शेरबहादुर कार्की र नर्स हल्याण्डकी नागरिक जेसिका छन् । गौतम र श्रेष्ठको परिचय पत्र हेरेर प्रहरीले दुर्घटनास्थलमा नै सनाखत गरेको थियो ।
बलेफी बजारको माथि रहेको बिजुलीको हाइटेन्सन लाइनमा छोइएको हेलिकप्टर सुनकोशी नदीको पारीपट्टी यमुनाडाँडामा दुर्घटनाग्रस्त भएर खसेको थियो । हेलिकप्टर खसेको वरपरको जंगलमा आगलागी भएको तथा हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको थियो । हेलिकप्टरसँगै चार जनाको शव पनि क्षतविक्षत अवस्थामा भेटिएको छ ।
तीन जना पुरुष र एक महिलाको शव दुर्घटनाग्रस्त हेलिकप्टर वरपर रहेका थिए । चार वटा शव मध्ये तीन वटा जलेरको तथा विभत्स अवस्थामा भेटिएका छन् । एउटा पुरुषको शव भने शरिरमा केही चोट लागेको अवस्थामा थियो । स्थानीय प्रत्यक्षदर्शीले बताए अनुसार ती पुरुष हेलिकप्टरले बिजुलीको तारलाई छोएर अनियन्त्रित भएकै अवस्थामा हेलिकप्टरबाट हामफालेका हुन् ।
हेलिकप्टर दुर्घटनाग्रस्त भएको यमुनाडाँडाको झण्डै चार सय मिटर क्षेत्रमा आगलागी भएकाले टाढैबाट आगो तथा धुवाँको मुस्लो देखिएको स्थानीयले बताएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग सिम्रिक एयरसहितका अन्य एयरका हेलिकप्टर पनि घटनास्थलमा पुगेर उद्धारको काम गरेका थिए ।
वैशाख १२ मा आएको भूकम्प र त्यसपछिका पराकम्पनले त्रासमा रहेका सिन्धुपाल्चोकको विकट गाउँ तेम्बाथानका नागरिकको उपचार गरेर फर्कदै गरेको हेलिकप्टर दुर्घटनामा परेको हो । धेरै सिन्धुपाल्चोक बासिन्दालाई भूकम्पले आफूलाई पु¥याएको क्षति भन्दा पनि आफ्नो दुःखमा साथ दिन आएका सहायताकर्मीको दुर्घटनामा परी ज्यान गएको घटनाले बढी पीडा दिएको घटनास्थलमा उपस्थित स्थानीयले बताए ।