«

»

पीडा माथि पीडा थप्ने भूकम्प

सञ्चारपत्र सम्वाददाता
लोथर, १८ जेठ
गत वैशाख १२ गते आएको विनासकारी भूकम्पले चितवनको पहाडी गाविस लोथरको वडा नम्बर १ चात्राङमा रहेको १९ घरमा क्षति पु¥याएको छ ।
चात्राङमा रहेका २१ घर मध्ये १९ वटा घरमा बस्न नमिल्ने गरी क्षति भएको छ । भूकम्पको कारणले क्षति पु¥याएसँगै सो ठाउँका स्थानीयहरु अहिले आफैले अस्थायी टहरा निर्माण गरेर वसोवासको व्यवस्था गरिरहेका छन् । भौगोलिक विकटताको कारण पछि परेको उक्त गाउँमा भूकम्प आएपछि थप पीडा थपिएको छ । त्यहाँका जनताहरु भूकम्प पछि घरहरु पुनर्निर्माण गर्न आवश्यक जनशक्ति, उचित परामर्श र सुरक्षित आवासबाट समेत वञ्चित हुनुपरेको छ ।
चात्राङका स्थानीयलाई भूकम्पको कारणले आफ्नो घरहरु भत्किएपछि अहिले सुरक्षित आवास कसरी निर्माण गर्न सकिन्छ भन्ने चिन्ताले सताउन थालेको छ । भूकम्पको कारणले कुनै मानवीय क्षति नभएपनि घरहरु बस्नै नमिल्ने गरी भत्किएपछि अहिले यहाँको जनजीवन प्रभावित बनेको छ । सामान्य खेतिपाती गर्दैे जिविका चलाउँदै आएका स्थानीयलाई बाटो, उचित शिक्षादीक्षा, खानेपानी लगायतको समस्या थियो भने अहिले थप समस्या झेल्न बाध्य भएका छन् ।
भूकम्पका कारण घरहरु समेत भत्किएपछि सुरक्षित आवासको लागि चात्राङका बासिन्दा चिन्तित भएका छन् । तत्कालको लागि हावाहुरी, पानी, चट्याङ आदिबाट जोगिनको लागि भएपनि अस्थायी टहराहरुको निर्माण गरिरहेको बताउने चात्राङ गाउँका कालिका राप्रावि व्यवस्थापन समितिका अध्यक्ष सूर्य लिम्बु स्थायी रुपमा भने यही ठाउँमा बस्न सकिन्छ कि सकिदैन भन्नेमा दोधार रहेको बताउँछन् । खुला ठाउँमा हावाहुरी तथा चट्याङको डर हुने भएकाले भत्किएको घरमा रहेका काम लाग्ने सामानहरु प्रयोग गरेर टहरा निर्माण गर्न लागेको लिम्बुले बताए ।
‘भूकम्पको कारणले स्थानीयहरुमा डर र त्रास उत्पन्न भएको छ’ लिम्बुले भने, –‘केही मात्रामा भएपनि सहज जीवन बिताउनको लागि राज्यबाट उचित सेवा सुविधाको व्यवस्था भए सहज हुने थियो ।’ सरकारले अनुगमन गर्दा सुगम ठाउँको मात्रै अवलोकन गरेकोमा दुख व्यक्त गर्दै लिम्बुले गाउँको समस्या बुझी जनजीवन सहज बनाइदिन राज्यसँग माग गरेका छन् । राम्रो बाटो, खानेपानी लगायतको सुविधाह्रु भए आफूहरुलाई राहत मिल्ने स्थानीय बासिन्दाहरु बताउँछन् ।