«

»

भूकम्प दोष निवारणको लागि महायज्ञ

सञ्चारपत्र सम्वाददाता
नारायणगढ, १८ जेठ
भूकम्प दोष निवारण, भूकम्पमा परी दिवङ्गत भएकाहरुको चिर शान्तिको कामना तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्दै चितवनमा वृहत् राष्ट्र शान्ति महायज्ञ हुने भएको छ ।
पूरोहित समाज नेपालको आयोजनामा हुन लागेको उक्त महायज्ञमा एक सय ५१ जना पूरोहितबाट शास्त्रीय विधी अनुसार पूजापाठ हुने बताइएको छ । पूरोहित समाज नेपालले सोमबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी जेठको २२ र २३ गते दुई दिनसम्म नारायणगढमा रहको हरिहर मन्दिर परिसरमा महायज्ञ हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा प्राध्यापक डाक्टर हरिशरण उपाध्यायले धर्मलाई वास्ता नगर्दा नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प आएको बताए । उक्त भूकम्पको दोष निवारणको लागि वृहत् राष्ट्र शान्तिको कामना सहित महायज्ञ गर्न लागिएको उपाध्यायले बताए । उनले भूकम्पको शास्त्रीय र धार्मिक मह¤वको बारेमा चर्चा गर्दै भविष्यमा अहिलेको जस्तो विध्वंश नहोस् भनि महायज्ञ गर्न लागिएको बताए ।
पत्रकार सम्मेलनमा पण्डित चन्द्रमणि शास्त्रीले दुई दिनसम्म हुने महायज्ञमा एक सय २१ जना पूरोहितहरुबाट महारुद्री पाठ गरिने बताए । महायज्ञ पूरा गर्नको लागि एक सय ५१ जना पूरोहितको आवश्यकता पर्ने र त्यसको सबै तयारी पूरा भएको शास्त्रीले बताए । राष्ट्र शान्ति महायज्ञमा धमिराको माटोबाट बनाइएको एक हजार एक सय शिवलिङ्गमा एक हजार तीन सय पटक महारुद्री पाठ गरिने शास्त्रीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा पूरोहित समाज नेपालका केन्द्रीय अध्यक्ष युवराज पोखरेलले हाम्रो मुलुक शिव भगवानले रक्षा गरेको कारण महारुद्री गर्न लागिएको बताए । भगवान शिव राष्ट्र नायक भएको कारण जेठको २२ र २३ गते गरिने राष्ट्र शान्ति महायज्ञमा सम्पूर्ण नेपालीलाई उपस्थित हुन समेत पोखरेलले आग्रह गरे । विनाशकारी महाभूकम्पका कारण धेरै धन, जनको क्षति भएकोले शान्तिको लागि महायज्ञ गर्न लागिएको पोखरेलले बताए ।
दुई दिनसम्म हुने महायज्ञमा एक हजार एक सय शिवलिङ्ग पूजन, महारुद्राभिषेक, वैष्णवी शान्ति, वेद, श्रीमद्भागवात, सप्तशती, शान्तिकाध्याय पाठ, महा गरुडपूराण, भूमि पूजन, नाग पूजन, गंगा पूजन, शान्तिसूक्त पाठ, गायत्री मन्त्र जप, लक्ष्यवर्ती सहित हवन, तर्पण, मार्जन आदि हुने जनाइएको छ । हरिहर मन्दिर परिसरमा हुने महायज्ञमा २२ गते पूजा सुरु गरी २३ गते विशेष पूजा हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष कुलचन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्दै नेपालीको दुख निवारण होस् भन्दै शास्त्रीय विधिबाट महायज्ञ गर्न लागिएको बताए । राष्ट्रमा ठूलो विपत्ति आएपछि महायज्ञ गर्नुपर्छ भनेर अथर्व वेदमा भनिएको कारण बृहत् राष्ट्र शान्ति महायज्ञ गर्न लागिएको न्यौपानेले बताए । पत्रकार सम्मेलन बृहत् राष्ट्र शान्ति महायज्ञ सम्पादन समितिका संयोजक डाक्टर गुरुप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।