«

»

भवन अनुगमनमा तीव्रता

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १८ जेठ
भूकम्पको कारण घर चर्किएर अनुगमनको लागि निवेदन परेका घरहरुको अनुगमनलाई भरतपुर उपमहानगरपालिका कार्यालयले तीव्रतका साथ अगाडि बढाइरहेको छ ।
अनुगमनको क्रममा सोमबारसम्म भरतपुर उपमहानगरपालिका भित्र रहेका १२ वटा घरमा रातो स्टिकर टाँसिएको भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए । त्यसैगरी, ३० वटा घरमा पहेँलो स्टिकर टाँस गरिएको र दुई हजार सात सय ५० घरहरु सामान्य अवस्थाको रहेको सापकोटाले बताए । घरहरुको अवलोकलन गरी रातो स्टिकर टाँस्नुपर्ने, पहेँलो स्टिकर टाँस्नुपर्ने र सामान्य अवस्थाको गरी तीन प्रकारमा वर्गिकरण गरिएको सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार रातो स्टिकर टाँसिएका घरमा बस्न प्रतिबन्ध लगाइएको छ भने पहेँलो स्टिकर टाँसिएका घरलाई तुरुन्त ममर्त सम्भार गर्नुपर्ने र बस्दा समेत संयमित र सचेत भएर बस्न आग्रह गरिएको छ । त्यस्तै, सामान्य प्रकृतिका घरहरुमा भने अहिले कुनै समस्या नरहेको र सहज रुपमा नै बस्न सकिने सापकोटाले जानकारी बताए ।
त्यस्तै, उपमहानगरपालिकाले रातो र पंहेलो स्टिकर टाँसिएका घरहरुको अवस्था विश्लेषण गरी नगर सम्मन्वय समितिको निर्णय गराएर राहत तथा सहयोगको लागि चितवनको जिल्ला दैवी प्रकोप उद्धार समितिसँग अपिल गर्ने समेत जानकारी दिएको छ । गत वैशाख १२ गते आएको विनासकारी भूकम्प र त्यसपछि विभिन्न समयमा आएको पराकम्पनहरुको कारण भरतपुर उपमहानगरपालिका भित्र रहेका घर धनीले कार्यालयमा बुझाएको निवेदनको आधारमा घरको स्थिति हेरेर अनुगमन गरिएको भरतपुर उपमहानगरपालिकाका भूकम्प सुरक्षा उपशाखाका प्रमुख इन्जीनियर सूर्य प्रकाश लामाले बताए ।
हाल उपमहानगरपालिकामा सूचीकृत इन्जीनियर र कन्सलटेन्टहरु गरी ४० जना तालिम प्राप्त कर्मचारीलाई उपमहानगरपालिका भित्रका विभिन्न वडामा विभाजन गरेर अनुगमनको लागि परिचालन गरिएको लामाले जानकारी बताए । इन्जीनियर लामाका अनुसार अनुगमन गरिएको घरमा घरको अवस्था हेरी भवन विभागले रातो, पहेँलो स्टिकर टांस्नुपर्ने वा सामान्य अवस्थाका हुन् भनि चिन्ह प्रदान गर्ने गरेको छ ।
सोमबारसम्म भरतपुर उपमहानगरपालिका भित्रका दुई हजार सात सय भन्दाबढी घरधनीले आफ्नो घर अनुगमनको लागि निवेदन दिएका छन् भने निवेदन दिने क्रम जारी रहेको कार्यालयले जनाएको छ । भवन अनुगमनको लागि निवेदन पेश गर्न जाँदा भवनको नक्सापसको प्रमाणपत्र र घरको चर्किएको भागको फोटो समेत पेश गर्न कार्यालयले आग्रह गरेको छ ।