«

»

क्षेत्रपुरको सडक चौडा बनाइदै

Dozarसञ्चारपत्र सम्वाददाता
नारायणगढ, २५ जेठ
भरतपुर उपमहानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको भित्री सडक विस्तार गर्ने काम सुरु भएको छ । क्षेत्रपुरको मिल्स एरियामा रहेको नमस्ते चोकदेखि रामेश्वर चोकसम्म नौ सय मिटर लम्बाइको सडक चौडा बनाउन सोमबारदेखि काम सुरु गरिएको हो ।
सडक चौडा बनाउनको लागि स्थानीयको सहकार्यमा उपमहागरपालिकाले सडक मापदण्ड विपरित रहेका घरका पर्खालहरु भत्काउन सुरु गरेको छ ।  सडकलाई दायाँ बायाँ १६ मिटर चौडा बनाउन लागिएको भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले बताए । गत २०७१ भदौदेखि नै सडक चौडा बनाउने भनेर सार्वजनिक सूचना निकाल्दा समेत उक्त सडकको मापदण्ड भित्र परेका केही घरधनीहरुले अटेरी गरेपछि उपमहानगरपालिकाले बल प्रयोग गरी संरचना भत्काउन सुरु गरेको सापकोटाले बताए ।
‘हामीले ७१ सालको भदौदेखि नै स्थानीय सञ्चार माध्यममा सूचना निकालेर सडक मापदण्ड भित्र परेका भौतिक संरचनालाई हटाउन अनुरोध गरेका थियौँ’ सापकोटाले भने, –‘धेरैले सहयोग गर्नुभयो, केहिले अटरी गरेपछि हामीले स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय वासिन्दाको सहयोगमा सडक बिस्तार गर्ने अभियान सुरु गरेका हौँ ।’ उक्त सडक यसै आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सापकोटाले बताए । बाटोको मापदण्ड पूरा नभएसम्म डिभिजन सडक कार्यालयले बाटो निर्माण नगर्ने भनेर चेतावनी पूर्ण पत्र पठाएपछि आफूहरुले मापदण्ड विपरितका संरचना भत्काउन सुरु गरेको सापकोटाले बताए ।
डिभिजन सडक कार्यालय भरतपुर, भरतपुर उपमहानगरपालिका र स्थानीय बासिन्दाको सहकार्यमा उक्त सडक फाराकिलो बनाउन थालिएको हो । सडक विस्तारको लागि तीन करोड रुपैयाँको योजना परेको जनाइएको छ । उक्त सडक विस्तारको लागि डिभिजन सडक कार्यालय, भरतपुरको ५० प्रतिशत रकम र बाँकी रकम स्थानीय बासिन्दा र भरतपुर उपमहानगरपालिका कार्यालयले व्यहोर्ने गरी सडक बिस्तारमा लागिएको सापकोटाले बताए ।
सडक बिस्तारसँगै बाटोको किनारमा एकतर्फी ढल समेत निर्माण गरिने बताइएको छ । उपमहानगरपालिकाले सडक मापदण्ड विपरीतका भौतिक संरचना हटाएर डीभिजन सडक कार्यालयलाई सोमबार चिठी पठाइएको बताएका छन् । आफूहरुले चिठी पठाएपछि बाटो फराकिलो बनाउने काम मंगलबारदेखि नै सुरु हुने सापकोटाले बताए ।