«

»

पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प 

british campप्रकाश सिग्देल

गैँडाकोट, १ चैत
नवलपरासीकोे गैँडाकोटस्थित ब्रिटिस क्याम्पलाई पार्कको रुपमा विकास गरिने भएको छ । नारायणी नदीको किनार र मौलाकालीकाको फेदीमा रहेको सो क्याम्पलाई गँैडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिले करिब ४० लाख लागतमा वातावरणमैत्री पार्क निर्माण गर्न लागेको गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्री तिवारीले बताए ।
पर्यावरणीय हिसावले निकै सुन्दर र ऐतिहासिक हिसावले पनि मह¤वपूर्ण मानिएको सो क्षेत्र चितवन र नवलपरासीको पर्यटकीय केन्द्रको रुपमा विकास गर्नेगरी त्यसको विकास र प्रवद्र्धनका लागि नगरपालिकाको वातावरण मैत्री कार्यक्रमबाट साझेदारी कार्यक्रमअन्तर्गत पार्क निर्माण कार्य सुरू भएको उनले बताए ।


पार्क निमार्णका लागि पहिलो चरणमा नगरपालिकाको तीन लाख ७० हजार र देवघाट क्षेत्र विकास समितिको दुई लाख गरी पाँच लाख ७० हजारले सो क्षेत्रको करिव तीन बिघा जमिनको संरक्षण र तारबार गरिनेगरी काम अगाडि बढ्ने उनले जानकारी दिए ।
पाँच वर्षभित्रमा पार्कको सम्पूर्ण काम पूरा हुनेगरी देवघाट क्षेत्र विकास समितिले थ्री डि एनिमेसनमार्फत गुरूयोजना तयार गरी काम सुरू गरेको क्षेत्र विकास समितिका सव–इञ्जिनियर्स अशोक पराजुलीले बताए ।
पार्क निर्माणका लागि धनबहादुर पौडेलको अध्यक्षतामा नौ जनाको निर्माण समिति र क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा सात जनाको अनुगमन समिति गठन गरी काम सुरू गरेको क्षेत्र विकास समितिले जनाएको छ । पार्कमा पिकनिक स्पोट, बालमैत्री पार्क, भ्यु टावर, गार्डेन, नारायणी नदीमा ग्याबिन भरी बोटिङ एरिया तयार गरिने बताइएको छ ।
यसैबीच गैँडाकोट नगरपालिकाले नगरका विभिन्न स्थानमा पार्क तथा तलाउ निर्माण कार्य थालेको जनाएको छ । चालु आर्थिक वर्ष र गत आर्थिक वर्षमा गरी गँैडाकोटका विभिन्न स्थानमा आधा दर्जन तलाउ र केही साना पार्कहरु निर्माण गरेको गैँडाकोट नगरपालिकाका वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अनुगमन तथा मूल्याङ्कन अधिकृत विजया शर्माले बताइन् ।
नगरपालिकाले मौलाकालिका मन्दिरको फेदीमा ८ लाख रुपैयाँको लागतमा जलवायु अनुकूलनका लागि पोखरी, गणेश मन्दिरको फेदीमा ५ लाख रुपैयाँको लागतमा पार्कसहितको पोखरी, गैँडाकोट ९ नम्बर वडाको धवाह खोलामा १३ लाख ५० हजार लागतमा ताल, १७ नम्बर वडाको त्रिपुरेश्वर मन्दिर परिसरमा ५ लाख लागतमा पोखरी, १३ नम्वर वडाको सिख्रैली कैलास सन्यास आश्रममा १० लाख लागतमा पोखरी, १० नम्बर वडाको चुवाडी खोलास्थित मुकुन्दसेन सामुदायिक वनको परिसरमा ३ लाख ७५ हजार लागतमा सिँचाई सुविधासहितको पोखरी निमार्ण कार्य चालु रहेको उनले जानकारी दिइन् ।
त्यस्तै गत आर्थिक वर्षमा गँैडाकोट ४ को खानेपानी ट्याकी परिसरमा ९ लाख ५० हजारमा पोखरी सहितको पार्क, ५ नम्बर वडाको सुन्दरी सामुदायिक वनको फेदीमा चार लाख ५० हजारमा अमृतधारा सुन्दर पोखरी निर्माण र राजमार्गमा सोलार बत्ती राख्ने काम सम्पन्न भएको नगरपालिकाका इञ्जिनियर लक्ष्मी सोतीले बताए ।
त्यस्तै विभिन्न विद्यालयमा डस्बिन वितरण, सामुदायिक वनहरुमा वृक्षरोपण र सबै वडामा सरसफाइमूलक सचेतना कार्यक्रम गरिएको उनले बताए । त्यस्तै यही चैत्र ३ गतेबाट गैँडाकोटका सबै वडामा सुईरो वितरण गरी प्लास्टिकजन्य फोहोरको व्यवस्थापनका लागि अभियान थालिने कार्यालयले जनाएको छ ।