«

»

देवघाटमा त्रिकोणात्मक झोलुङ्गे पुल बनाउन पहल

सुवास पण्डित
भरतपुर, ३ साउन
देवघाट क्षेत्र विकास समितिले पवित्र तीर्थस्थल देवघाटधाममा त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणका लागि पहल अघि बढाएको छ । समाजसेवी एव् राजनीतिज्ञ शैलेन्द्र पिया देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्त भएपछि तनहुँ, नवलपरासी र चितवन जोड्ने गरि त्रिकोणात्मक पुल निर्माणका लागि पहल अघि बढेको हो ।
पियाले देवघाटको नदि छेउलाई मध्यभाग मानि, चितवन, तनहुँ र नवलपरासीको गैंडाकोट जोड्ने गरि पुल निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव लगिएको जानकारी दिए । अहिलेको पुलले चितवन र तनहुँको देवघाट क्षेत्रलाई मात्र जोड्ने तर नवलपरासी क्षेत्रबाट आउने भक्तजनहरुलाई असुविधा भएकोप्रति क्षेत्र विकास समिति सचेत रहेको पियाले बताए ।
पियाले अहिलेको संरचना जीर्ण तथा जोखिम बनेकोले नयाँ संरचना तत्काल निर्माणका लागि पहल अघि बढेको बताए । देवघाटलाई रिङ्गरोड क्षेत्र भित्र पार्ने योजना पनि समितिले अघि सारेको छ ।
दैनिक १५÷१६ भन्दा बढि शब दहन गर्ने यस क्षेत्रमा विद्युतीय शव दहन गृह निर्माणका लागि काम अघि बढिसकेको पियाले जानकारी दिए । पिया भन्छन्– ‘यतिका सँख्यामा शवहरु दहन गर्दा आवश्यक पर्ने दाउराले एकातिर वनको बिनाश गरेको छ भने त्यसको प्रदुषण पनि उत्तिकै छ ।’
देवघाटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि आवश्यक कदम चाल्नु नै आफ्नो पहिलो काम भएको पियाको भनाई छ । उनले देवघाटलाई देश र बिदेशकै धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रचार प्रसार, बिकास र विस्तारका साथै पूर्वाधार निर्माण पनि जोड दिने बताए ।
देवघाटमा अहिले पनि झण्डै पन्ध्र सय व्यक्तिहरुका लागि बस्न मिल्ने संरचना निर्माण भैसकेको तर त्यसको व्यहारिक काम र व्यवस्थापन नहुँदा समस्या आएको पियाले बताए । ‘बिभिन्न समितिका नाममा बनेका भवन र संरचनाहरु चलाउन नसक्दा चावी लगाउने र हिँड्ने काम मात्र भएको रहेछ, अब सवैसँग समन्वय गरि देवघाटमा व्यवस्थित धार्मिक पर्यटकीय स्थलको विकास गर्ने र तीर्थ आउनेहरुलाई सुविधा दिने गरि काम अघि बढाउँछु’ पियाले भने ।
पियाले देवघाट देवताहरुको पवित्रभूमि भएकोले यहाँ भौतिक संरचना निर्माणमा विशेष ख्याल गरिने बताउँदै अत्याधुनिक भवनहरु निर्माण हुँदा त्यसले यसको महत्त्वलाई घटाउन सक्ने तर्फ सचेत बनेको बताए । बिगतमा स्थानिय बासिन्दालाई क्षेत्र बिकास समितिले सँगसँगै हातेमालो गर्न नसक्दा समस्या देखिएको भन्दै पियाले स्थानीय बासिन्दाकै सहयोग र संरक्षणमा मात्र देवघाटको विकास सम्भव हुने बताउँछन् ।
उनले चितवन, तनहुँ, नवलपरासीका जिल्ला विकास समितिलाई पनि यसको बिकासमा जोड्न पहल गर्ने बताए । देवघाटमा रहेका वृद्धाश्रमहरुको क्षमता विस्तार गरिने तथा वृद्धवृद्धाहरुको स्वास्थ्य र खानपानलाई व्यवस्थित बनाउन बिशेष ध्यान दिएको समेत पियाले जानकारी दिए ।