«

»

विद्युत प्राधिकरण भरतपुरद्वारा ८० करोड राजश्व सङ्कलन

प्रकाश सिग्देल
भरतपुर, ३ साउन
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्ष ०७०÷७१ मा ८० करोड ७० लाख १५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा छ करोड रुपैयाँ बढि हो ।
विद्युत प्राधिकरण भरतपुरले आर्थिक वर्ष ०६८÷६९ मा ५४ करोड ६३ लाख ७५ हजार आठ सय २२ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । ०६९÷७० मा राजश्व सङ्कलन बढेर ७४ करोड ३४ लाख ५१ हजार रुपैयाँ पुगेको थियो ।
आर्थिक वर्ष ०६९÷७० राजश्व सङ्कलनको हिसावले सफल वर्षको रुपमा रहेको प्राधिकरणले जनाएको छ । उक्त आर्थिक वर्ष विद्युत चुहावट र बक्यौता रकम असुलिमा कडाई गरिएकोले अघिल्लो आर्थिक वर्षको तुलनामा अत्यधिक राजश्व सङ्कलन भएको कार्यालयका लेखा अधिकृत केशर बहादुर ताडाले बताए । प्राधिकरणले पछिल्लो समयमा भने विद्युत चुहावट नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेकोे जनाएको छ ।
भरतपुर क्षेत्रमा घर बन्ने क्रम तिब्र बन्दै गएपनि मिटरको अभावमा नयाँ घरमा लाईन दिन नसकिएकाले विद्युत चुवाहट नियन्त्रणमा पनि केहि समस्या भएको कार्यालयका इन्जिनियर विपिन ढकालले बताए । प्राधिकरण केन्द्रले मिटर नपठाउँदा गत मंसिरदेखि नयाँ मिटर जोड्ने र पुराना बिग्रिएका मिटर फेर्ने काम रोकिएको ढकालले जानकारी दिए ।
प्राधिकरणमा मिटर नभएपछि कार्यालयले उपभोक्ताको निवेदन लिने काम समेत रोकेको लेखा अधिकृत ताडाले बताए । कार्यालयले समयमै मिटर ल्याउन नसक्दा एक हजार भन्दा बढि उपभोक्ता घरमा मिटर राख्नका लागि पखाईमा छन् । प्राधिकरणले मिटर जडान नगरेपछि छिमेकीको घरबाट तार तानेर बत्ति बाल्न बाध्य भएको उपभोक्ताको गुनासो छ ।
त्यसैगरी, प्राधिकरणले थ्रिफेज लाईन समेत जडान नगरिदिँदा उद्योगीहरु मारमा परेका छन् । भरतपुर नारायणगढ क्षेत्रमा नयाँ उद्योग खोल्ने तयारीमा रहेका उद्योगीहरु मारमा परेका हुन् । प्राधिकरणले ट्रान्सफर्मरमा लोड बढि भएको जनाउँदै थ्रिफेजको मिटर जडान नगरिदिँदा लाखौँ लगानी गर्दै सञ्चालन गर्न लागिएको कामले गति लिन नसकेको भरतपुरका चुडामणी शर्माको गुनासो छ ।
विद्युत प्राधिकरणले भने भरतपुर नगर क्षेत्रमा रहेका ९० प्रतिशत टान्सफर्मरमा लोड बढि भएको बताउँदै अझै एक वर्ष थ्रिफेजको लाईन दिन नसकिने जनाएको छ । आफ्नै लगानीमा ट्रान्सफर्मर खरिद गरे लाईन जोड्ने काम नरोकिने तर प्राधिकरणको ट्रान्सफर्मरबाट लाईन दिन नसकिने इन्जिनियर ढकालले बताए । केहि उपभोक्ताले भने थ्रिफेज लाईन जडानमा नाताबाद हावी हुने गरेको आरोप लगाएका छन् ।