«

»

फोहोर नउठ्दा व्यवसायी प्रभावित

नारायणगढ, २८ वैशाख
भरतपुर उपमहानगरपालिकाले समयमै फोहोर नउठाउँदा फलफूल तथा तरकारी व्यावसाय प्रभावित भएको नारायणगढका फलफूल तथा तरकारी व्यावसायीले बताएका छन् ।
उपमहानगरपालिकाले तरकारी उपज बजारको दैनिक रुपमा फोहोर उठाउने सम्झौता भएपनि कहिलेकाहीँ एक सातासम्म पनि फोहोर नउठाएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण धितालले बताए । व्यवसायीले उपमहानगरपालिकालाई मासिक रुपमा ६ लाख ५० हजार रुपैयाँ तिर्दै आएको छ । व्यवसायी संघले सरसफाई शुल्क मात्र मासिक ४० हजार दिने गरेका अध्यक्ष धितालले बताए ।
बुधबारदेखि उपमहानगरपालिकाले उक्त क्षेत्रको फोहोर नउठाउँदा दुर्गन्ध फैलिदै गएको र दुर्गन्धका कारण उपभोक्ता समेत घटेको अध्यक्ष धितालले बताए । उक्त फलफूल तथा तरकारी बजारमा ५७ वटा टहरामा १ सय भन्दा बढी व्यवसायी रहेको धितालले बताए । तरकारी बजारबाट दैनिक ४० लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँ सम्मको व्यापार हुने गरेको धितालले बताए ।
भरतपुर उपमहानगरपालिकाले यथाशीघ्र ल्याण्डफिल साईटको निर्माण गरी नियमित रुपमा फोहोर उठाउन धितालले माग गरेका छन् । भरतपुर उपमहानगरपालिकाका कार्यकारी निर्देशक नारायण सापाकोटाले नगरपालिकाको स्थायी डम्पीङ साईट नभएका कारण यस्तो समस्या आएको बताए ।