«

»

नगरपालिकाको टेण्डरप्रति व्यवसायीको विरोध

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ जेठ
चितवनको एकमात्र फलफल तथा तरकारी थोक बजार सञ्चालनका लागि नगरपालिकाले टेण्डर आह्वान गरेको भन्दै थोकबजारका व्यवसायीहरुले गुनासो पोखेका छन् । नारायणगढस्थित लायन्सचोकमा नगरपालिकाको स्वामित्व रहेको करीव ११ कठ्ठा क्षेत्रफलमा रहेको थोक बजारलाई नगरपालिकाले आयस्रोत वृद्धि गर्ने योजना सहित टेण्डर आह्वान गरेपछि उनीहरु असन्तुष्ट बनेका हुन् ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघ नारायणगढको शुक्रबार सम्पन्न पाचौँ अधिवेसनमा सहभागि व्यवसायीले मुल्यवृद्धिमा असर पर्ने गरी अवैज्ञानिक भाडा कायम गर्न खोज्नु न्यायसङ्गत नहुने बताएका छन् । साथै तरकारी थोक व्यवसायी संघ नारायणगढका अध्यक्ष रामचन्द्र वंशी ठकुरीले नगरपालिकाले सटरहरुको भाडा एक सय २५ प्रतिशत वृद्धि गर्नेगरी टेण्डर आह्वान गरिनुले व्यवसायलाई नै विस्थापित गराउन खोजिएको बताए ।
चितवनको मध्यभागमा रहेको थोक बजारकै कारणले ट्राफिक जाम र स्टलहरुको अवैज्ञानिक संरचनाले गर्दा बजार व्यवस्थापन गर्नसमेत कठिन हुँदै आएको छ । नगरपालिकाको स्वामित्वको जग्गामा ५७ वटा स्टल सहित निजी क्षेत्रको करीब २० कट्ठा क्षेत्रफलमा एक सय वटा स्टल सञ्चालनमा रहेका छन् । बजारमा दैनिक तरकारी र फलफूल किन्नेको भिड लाग्ने गर्दछ । संघका उपाध्यक्ष थिरप्रसाद धितालले बैकल्पिक थोक बजार निर्माण नगरिएसम्म व्यवसायीलाई विस्थापित गराउन नहुने बताए ।
उनले भरतपुर नगरपालिकाले बर्सेनी पसलको भाडा वृद्धि गरे पनि सुविधा केही दिन नसकेको बताए । थोक बजारको स्थापना ०५० सालमा भएको हो । कृषि उपज बजार सञ्चाल समिति मार्फत् सञ्चालन हुँदै आएको बजार ०७० साउन १ गते देखि नगरपालिकाले स्वयम सञ्चालन गर्दै आइरहेको छ ।