«

»

सम्पादकीय : आफ्नै खुट्टामा बञ्चरो

चारैतर्फ बन्द, हड्ताल जस्ता कार्यक्रमको बिरोध भइरहेकै बखत शुक्रबार चितवनमा व्यवसायीहरुले नै बजार बन्द गराए । व्यवसीहरुको हक हितको लागि क्रियाशिल उद्योग वाणिज्य संघ, चितवनको अगुवाईमा जिल्लाका उद्योग व्यवसाय बन्द गरियो । नारायणगढको लक्ष्मीनारायण वस्त्रालयका सञ्चालक लक्ष्मीनारायण श्रेष्ठमाथि राजस्व अनुसन्धान विभागले भ्याट छलेको आरोपमा झण्डै साढे चार करोड रुपैयाँ जरिवाना तोकेको बिरोधमा उद्योग व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ, चितवनले आन्दोलन नै शुरु गरेर बजार बन्द गराएको हो । विशेषगरि विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ संगठनहरु र विभिन्न समूहले पटक–पटक बन्द हड्ताल आहन गर्दा मारमा परियो भनेर सवैभन्दा चर्को आवाज उठाउने उद्योग व्यवसायी नै हुन् । उद्योग व्यवसाय बन्द गर्दा चितवनमा दैनिक करोडौंको घाटा हुने र सर्वसाधारणले असुविधा भोग्नुपरेको भन्दै उद्योग वाणिज्य संघले बन्द नगर्न आहन गर्दै आएको थियो । तर आज उसैले बिरोधका लागि बन्द गर्ने शैली अपनाएको छ । 
बन्द हड्ताल सधैंका लागि बन्द गरौं भन्ने उद्योगी व्यवसायीहरुले नै बन्दा गर्दा अरुलाई पनि यसले बन्द गर्न प्रेरित गरेको जस्तो देखिएको छ । उद्योगी व्यवसायीहरुले त बिरोधका लागि आफ्नो व्यापार व्यवसाय बन्द गरे, हामीले बन्द गराउँदा के हुन्छ ? भन्ने गलत सन्देश गएको छ भने यो पनि राम्रो भएन । अर्कोतर्फ माग पुरा गराउने हतियार नै बन्द हो भन्ने गलत चिन्तनबाट स्वयम् व्यवसायीहरु नै मुक्त हुन जरुरी रहेको यो श्रृङ्खलाबाट बुझ्न सकिन्छ । नारायणगढ, भरतपुर, रत्ननगर यसैपनि व्यस्त व्यवसायिक क्षेत्र हुन् । यहाँ चितवनका बासिन्दा मात्र होइन छिमेकी जिल्लाबाट समेत सामान किनमेलका लागि मानिसहरु आउने गर्छन् । यस्तो महत्वपूर्ण व्यपारिक केन्द्र उद्योगी व्यवसायीहरुले नै माग पूरा गराउने नाममा बन्द गर्दा यसको सन्देश के जाने ? उद्योगी, व्यवसायी र उनीहरुको संगठनले गम्भीरताका साथ चिन्तन मनन् गर्न जरुरी छ ।
हाम्रो देशमा सानो सानो विषयमा पनि बन्द गरेर अरुलाई सास्ती दिने खराब संस्कृति मौलाउँदै गएकोमा यसले सवैलाई चिन्तित बनाएको छ । यसले विभिन्न क्षेत्रमा घाटा शिवाय केही दिएको छैन । शुक्रबार जुन विषयमा उद्योग वाणिज्य संघले चितवनका उद्योग व्यवसाय बन्द गरायो के यो बन्द गरेर समाधान हुने विषय हो ? सरकारले एउटा व्यवसायीमाथि जे आरोपमा करोडौं रुपियाँ कर तोकेको छ साथसाथै पुनरावेदन गर्ने बाटो पनि खुल्ला गरिदिएको छ । यदि अन्याय भएकै हो भने लोकतान्त्रिक पद्दतीमा बिरोध जनाउने र अपील गर्ने अरु धेरै बाटाहरु हुन्छन् । सरकारले बेलाबखत उद्योगी व्यवसायीहरुले गर्ने अपील सुन्ने गरेको तथ्य पनि हामी सामु छ । त्यसतर्फ नलागी जिल्लामा उद्योग व्यवसाय बन्द गरेर समस्याको समाधान गर्ने बाटो खोज्नु उत्तम र बुद्धिमता नठहर्न सक्छ । व्यवसायीले नै उद्योग, व्यवसाय बन्द गर्नु आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु जस्तै भएन र ?