«

»

१२ जनाकै उम्मेदवारी कायम

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ जेठ
आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचन २०७१ मा चितवन क्षेत्र नम्बर–४ मा कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि उक्त क्षेत्रमा १२ जनाकै उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत विद्याराज पौडेलले कार्यालयले उम्मेदवारी फिर्ता गर्न दिएको समय जेठ १६ गते साँझ पाँच बजे भित्र कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएको जानकारी दिए ।
‘१६ गते नामावली फिर्ता लिनको लागि मिति तोकिएकोमा कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेनन्’ पौडेलले भने– ‘शनिबार १७ गते १२ जना उम्मेदवारको नामावली नै प्रकाशित गरिनेछ ।’
निर्वाचन कार्यतालिका अनुसार भोलि १८ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने पौडेलले जानकारी दिए । संविधानसभा सदस्य उपनिर्वाचनको लागि चितवन क्षेत्र नम्वर ४ मा एक जना स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी परेको छ ।
चितवन ४ मा हुने उप निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पार्वती रावल, नेपाली काँग्रेका तर्फबाट रामकृष्ण घिमिरे, एकीकृत नेकपा माओवादीको तर्फबाट खुसीराम पाख्रीन उम्मेदवार रहेका छन् । त्यस्तै, नेकपा (माले)बाट सृजना ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रामविक्रम ठकुरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट जगदेबी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट पदम थापा मगर, नेपाल आमा पार्टीबाट कृष्णप्रसाद दवाडीले उम्मेदवार मनोनयन दर्ता गराएका छन् । साथै जन प्रजातान्त्रिक पार्टीबाट किरणकुमार अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवबहादुर वस्ती, नेपाल परिवार दलका तर्फबाट केशव आचार्य र स्वतन्त्र रुपमा जोखु महतो (थारु)ले आइतबार उम्मेदवारी दर्ता गरेका थिए ।