«

»

केरा खेतीगर्ने किसानको मागः

उचित क्षतिपूर्ति र विशेषज्ञ चाहियो
सञ्चारपत्र सम्वाददाता
रत्ननगर, १७ मंसिर
चितवनका केरा खेती गर्ने किसानले विभिन्न समयमा देखिने रोग र हावाहुरीका कारण हुने क्षतीले गर्दा पेशाबाट पलायन हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
चितवन केरा खेती प्रवद्र्धन विकास केन्द्रको रत्ननगरमा बुधबार आयोजित प्रथम साधारणसभा तथा अधिवेशनमा किसानहरुले हावाहुरी र बेलाबेलामा देखिने रोगका कारण वर्षेनी करोडौं रुपैयाँको क्षती बेहोर्नु परेको बताए । उनीहरुले केरा खेतीको प्रवद्र्धनका लागि सरकारले उचित क्षतिपूर्ति तथा केरा खेतीसँग सम्वन्धित विशेषज्ञ उपलव्ध गराउन माग पनि गरेका छन् ।
कार्यक्रममा केरा व्यवसायी समिति चितवनका पूर्व अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले यस्तै अवस्था रहिरहे अबको पाँच वर्षभित्र केरा खेतीगर्ने किसानहरु पलायन हुन सक्ने गुनासो गरे । केरा खेतीको पुरानो बगान मासिँदै जानु र नयाँ बगानमा विभिन्न रोगको सङ्क्रमण देखापर्नुले किसानहरु पलायन हुनसक्ने उनको भनाई थियो ।
आफूहरुले उत्पादन गरेको केरा न्यून भाउमा बेच्नुपर्ने तथा जनशक्ति नहुँदा समस्या पर्ने गरेको अधिकारीले बताए । कार्यक्रममा किसानहरु घननाथ महतो, पूर्णबहादुर खड्का लगायतले भारतीय केरासँग प्रतिस्पर्धा गर्नुपर्दा स्वदेशी केराले मूल्य पाउन नसकेको दुःखेसो पोखे । उनीहरुले खेतीमा प्रविधिको विकास समेत गर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रगती विवरण प्रस्तुत गर्दै चितवन केरा खेती प्रबद्र्धन विकास केन्द्रका अध्यक्ष यज्ञप्रसाद सुवेदीले चितवनमा अहिले दुई हजार विगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको र वार्षिक ५० करोड रुपैयाँको केरा उत्पादन हुने गरेको जानकारी दिए ।
नेपालको बजारमा ४० प्रतिशत हिस्सा ओगट्ने गरी उत्पादन हुने चितवनका केरा किसानले दैवी प्रकोपले निम्त्याउने बिपत्ति, बीउ, सिँचाईको अभाव झेल्दै आएको केन्द्रका उपाध्यक्ष विष्णुहरि पन्तले बताए ।
चितवन क्षेत्र नम्वर २ का सभासद शेषनाथ अधिकारी विशेष अतिथि रहेका उक्त कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरे, रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद पाण्डे, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुराल, फलफूल व्यवसायी समिति चितवनका अध्यक्ष श्रीप्रसाद धिताल, केन्द्रका पूर्व अध्यक्ष अम्बिका प्रसाद अधिकारी, सल्लाहकार ऋषिराम वाग्ले लगायतले मन्तव्य राखेका थिए ।
सोही अवसरमा केन्द्रले चितवनका चार जना पत्रकारलाई सम्मान गरेको छ । केन्द्रले पत्रकार होमनाथ सापकोटा, विमल खतिवडा, सन्तकुमार चौधरी र विवि भट्टलाई सम्मान गरेको हो । केरा खेतीको विकासमा योगदान गरेको भन्दै केन्द्रले किसानहरु अम्बिकाप्रसाद अधिकारी, बाबुराम भट्ट, रामलाल श्रेष्ठ, ऋषिराम वाग्लेलाई पनि सम्मान गरेको थियो ।