«

»

जङ्गली जनावरको त्रासले गहुँ लगाउनै छोडियो

इन्दिरा दाहाल
माडी, १० पुस
माडीका उत्तरी क्षेत्रका किसानहरुले हिउँदे बाली गहुँ खेती गर्न छाडि सकेका छन् । केही वर्ष अगाडि सम्म तीन खेती धान, मकै, गहुँ भित्र्याउने किसान पछिल्लो समय गैंडा, हात्ती, चित्तलले खेतमा लगाएको बाली खाएर नष्ट गर्न थालेपछि हिउँदे बाली गहुँ लगाउन छाडेका हुन् ।
धान बाली लगाउँदा किसानहरु मिलेरे मच्याङ् निर्माण गरि रातको समयमा कुरेर धान बाली भित्र्याए पनि जाडोको समयमा गाह्रो हुने किसानहरु बताउँछन् । खेतको छेउमा लगाएको बिद्युतीय तार सोलार फेन्सिङ्ले जाडोको समयमा घाम नलागेपछि पावर नदिने भएकाले जनावर सहजै खेत बालीमा आउने भएकाले बिगत सात÷आठ वर्ष देखि गहुँ खेती गर्न छाडेको माडी नगरपालिका वडा नम्वर–८ का विष्णु रिमाल बताउँछन् ।
माडीको उत्तरी क्षेत्र दिवानगर, गौरीनगर, गोपालनगर, हरिनगर, सिमरा, धोवाह, अमिलिया, बनकट्टा लगायत ठाउँका किसानहरुले लगाएको बाली जङ्गली जनावरले खाईदिने हुनाले यस क्षेत्रका किसान वर्षेनी निकुञ्जका जनावरबाट पीडित हुँदै आएका छन् । अन्य बाली भन्दा गहुँ नरम हुने भएकोले उम्रिन थालेसँगै गैंडा चर्न आउने भएकाले गहुँ छरेपनि फलाउन नपाउने भएपछि गहुँ छर्नै छाडेको सिमराका गंगाराम महताले बताए ।
जङ्गली जनावरको आतङ्क बढेर खेती बाली नष्ट हुन थालेपछि माडीका अधिकांश किसानले आफ्नो जमिनमा पोखरी खनेर माछा पालन गर्न थालेका छन् । आफ्नो भएको तीन विगाहामा पोखरी निर्माण गरेर माछा पालन गर्न थालेको सिमराकै अर्का किसान मणिराम महतोले बताए । सिमरामा माछा उत्पादन गरे पनि खोलाका कारण बाटो अप्ठ््््यारो भएकोले माछा ढुवानी गर्न समस्या परिरहेको उनले बताए ।
प्रत्येक रात जङ्गली जनावरले आफ्नो खेतबारीमा लगाएको बाली खाईदिँदा क्षतिपूर्ति नपाइने तर जाडोको समयमा एकभारी सुकेका दाउरा ल्याउन खोज्दा निकुञ्जका सैनिकको दुव्र्यवहार सहनु परेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । मानव वस्तीमा निकुञ्जका जनावरको प्रवेश रोक्न नसक्दा मध्यवर्ती क्षेत्रका वासिन्दाहरु पीडित हुनु परिरहेको छ ।