«

»

धानको मूल्य नतोक्दा किसान मर्कामा

आनन्द पोखरेल
भरतपुर,  कात्तिक
‘पोहोर सालको भन्दा यसपालि पाँच क्वीन्टल जति धानको उत्पादन बढ्यो’ रत्ननगर– ७ का किसान हरिप्रसाद शर्माले हर्षित मुद्रामा भने । धानको उत्पादन बढेर हर्षित भएका शर्माले एकै छिनमा दुखेसो पनि पोख्न थाले, किसानले बेच्ने धानले उचित मूल्य पाएन भनेर ।
शर्मा भन्दै थिए– ‘अहिले मेरो मात्रै होइन मेरो वरिपरीका छिमेकीहरु सबैको धान उत्पादनमा वृद्धि भएको छ ।’ धानको उचित मूल्य नपाउँदा थन्काउनु परेको शर्माको गुनासो छ ।
‘धानको लागत मूल्य हिसाब गर्ने हो भने जति खर्च लागेको छ त्यो भन्दा पनि कम मूल्यमा खरिद गर्न व्यापारीहरु आएका छन्’ शर्माले भने ।  
सरकारले धानको मूल्य नतोकिदिएका कारण धान उत्पादनमा वृद्धि भएर पनि विक्री गर्नको लागि समस्या परेको किसानहरुको गुनासो छ । ‘धानको उत्पादन त बढ्यो तर साउन र भदौ महिनामा कम वर्षा भएको कारण जति उत्पादन हुनुपर्ने थियो त्यति हुन सकेन’ मङ्गलपुर– ७ कि हरिमाया पौडेलले भनिन् । आफुलाई चाहिने भन्दा बढी धान उत्पादन भएपनि विक्रीको लागि उचित मूल्य नपाउँदा विक्री नगरिएको पौडेलले बताइन् ।

yemale devi gyawali
धानको उत्पादनमा वृद्धि भएको भएपनि बाली भित्र्याउने बेलामा पानी परेर धान उम्रिएपछि फूलबारीका किसान विजय अधिकारी भने चिन्तित बनेका छन् । अधिकारी भन्छन्,– ‘धान पोहोरको भन्दा राम्रो थियो, काटेपछि उठाउने तयारी गर्दै गर्दा लगातार तीन चार दिनसम्म पानी परेर धान पूरै उम्रिएको छ, व्यापारीले पनि लैजान मान्दैनन् ।’
अघिल्ला वर्षहरुमा सहकारीले धान लगेर बीउको पैसा समेत फिर्ता दिने गरेको तर अहिले धान उम्रिएको भएर सहकारीले समेत नलगेको अधिकारीको दुखेसो छ । तरकारी खेती गर्नको लागि छिटो फल्ने हर्दिनाथ धान लगाएको तर बाली उठाउने बेलामा पानी परेको कारण उम्रिन पुगेको फुलबारीका किसान अधिकारीले जानकारी दिए ।
‘पहिले त धान हात्तीलाई खुवाउन लैजाने कुरा थियो तर अहिले हात्तीलाई खुवाउन पनि नलैजाने भनेका छन्’ अधिकारीले आफुहरुको आशामाथि तुषारापात भएको बताए ।
जिल्ला कृषि विकास कार्यालय, चितवनले समेत यस वर्ष धानको उत्पादनमा वृद्धि हुने जनाएको छ । ‘यस वर्ष समयमा नै पानी परेको थियो, रोग किराको प्रकोप पनि लागेन त्यसैले चितवनको धान उत्पादनमा कम्तिमा पनि आठ प्रतिशत वृद्धि हुन्छ’ कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने भने ।
धानको उचित मूल्य किसानले नपाएको सम्बन्धमा जिज्ञासा राख्दा लामिछानेले भने,– ‘धानको मूल्य कृषि विकास कार्यालयले तोक्न मिल्दैन, यो नेपाल सरकारले तोक्नु पर्छ या त व्यापारिक प्रतिष्पर्धाबाट तयार हुन्छ ।’
राधा चार, हर्दिनाथ चार, युएस तीन सय १२, गोरखनाथ लगायतका ‘ओगटे’ जातका धानहरु यस वर्ष चितवनमा लगाइएको प्रविधिक सहायक लामिछानेले बताए । पूर्वी चितवनको पूर्वी क्षेत्रमा ५० प्रतिशत धान भित्र्याइसकिएको र पश्चिम चितवन लगायत अन्य ठाउँहरुमा समेत चाँडो पाक्ने जातका धानहरु भित्र्याउने क्रम जारी छ । मौसमको प्रतिकुलताको कारण धान भित्र्याउने बेलामा समस्या देखिएको लामिछाने बताए । अहिले अधिकांश किसानहरु धान भित्र्याउनमा नै व्यस्त रहेका छन् ।
चितवनमा यस वर्ष २९ हजार पाँच सय ७५ हेक्टरमा वर्षे धान लगाइएको थियो । गत वर्ष चितवनमा ९७ हजार आठ सय ६० मेट्रिक टन धान उत्पादन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय, चितवनले जनाएको छ ।
धान भित्र्याउने समयमा पानी परेको कारण बिउको उत्पादनमा कमी आउने प्राविधिक सहायक लामिछानेले जानकारी दिए । दसैंको समयमा भारतमा ‘फाइलिन’ नामको आँधीको कारण नेपालमा समेत भएको वर्षाले चाँडो पाक्ने जातको धानमा असर परेको लामिछानेले बताए ।