«

»

चितवनमा फस्टाउँदै व्यवसायिक पुष्पखेती

आनन्द पोखरेल
भरतपुर, कात्तिक
धार्मिक कार्य गर्दा होस् या कुनै सभा समारोह गर्दा नै किन नहोस्, फूलको थुङ्गा दिने वा माला लगाइदिने प्रचलन बढ्दै गएको छ । दिन प्रतिदिन फूलको माग बढ्दै जान थालेपछि परम्परागत रुपमा रोपिने फूलले माग धान्न कठिन हुने भएको कारण चितवनमा पनि व्यवसायिक रुपमा पुष्प खेती गर्न थालिएको छ ।

Sayapatri Phul
व्यवसायिक रुपमा पुष्प खेती गर्न जनतालाई सहयोग पु¥याउने उद्देश्यले चालु आर्थिक वर्षबाट जिल्ला कृषि विकास कार्यालय, चितवनको बजेटमा ‘पुष्पखेती’ कार्यक्रम थप गरिएको वागवानी अधिकृत धनबहादुर थापाले जानकारी दिए ।
‘प्रथम चौमासिकबाट गर्नुपर्ने काम दसैँ पछि मात्र स्वीकृत भएर आयो, अब ढिला भएपनि तिहार लगत्तै सुरु गर्ने छौँ’ वागवानी अधिकृत थापाले भने । पुष्प खेती थप कार्यक्रम भएकोले स्वीकृत भएर आउँदा ढिला भएको थापाले बताए ।
तिहार लगत्तै चितवनमा पुष्पखेती गर्ने किसानको तथ्याङ्क संकलन गरिने र अन्य किसान जो पुष्प व्यवसायमा आउन चाहन्छन् उनीहरुलाई पनि सँगै राखेर तालिमको व्यवस्था गरिने वागवानी अधिकृत थापाले जानकारी दिए । ‘हामीले पुष्प व्यवसाय गर्न चाहनेको समूह बनाएर काम गर्ने हो, व्यवसायिक रुपमा पुष्पखेती गर्न चाहने किसानको लागि नर्सरी बनाइदिने, फूलका विरुवाहरु दिने लगायतका आवश्यक सहयोग गर्ने छौँ’ थापाले भने ।
घर सजाउने कामको लागि अहिले सहरी क्षेत्रमा फूलको माग बढ्न थालेको गुञ्जनगरमा पुष्पखेती कृषक प्रकाश पन्तले बताए । पुष्प व्यवसायलाई कट फ्लावर र नर्सरी गरेर दुई वर्गमा विभाजन गरिएको पन्तले जानकारी दिए । चितवनमा कति जनाले व्यवसायिक रुपमा पुष्पखेती गरेका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि कट फ्लावर र नर्सरीका गरी झण्डै १५ जना यस व्यवसायमा संलग्न रहेका रत्ननगरका पुष्प व्यवसायी नारायण आचार्य बताउँछन् ।
विशेष गरि सयपत्री, मखमली लगायतका फूलको माग तिहारको समयमा बढ्ने गरेको व्यवसायीहरुको अनुभव छ । चितवनमा व्यवसायिक रुपमा कति जनाले पुष्प खेती गरेका छन् ? भन्ने सञ्चारपत्रको प्रश्नमा जिल्ला कृषि विकास कार्यालय, चितवनका वागवानी अधिकृत धनबहादुर थापाले भने,– ‘अहिलेसम्म कृषि विकास कार्यालयको पहलमा पुष्पखेती भएको छैन, पुष्प खेतीको बारेमा कुनै कार्यक्रम नै थिएन, त्यसैले हामीले चासो दिएका छैनौँ ।’
पुष्पखेतीमा संलग्न पन्तले तिहारको समयमा फूलको मालाको अत्यधिक माग हुने गरेको कारण स्थानीय फूलले थेग्न नसकेर भारतको कोलकाताबाट समेत सयपत्री फूलको माला चितवन ल्याउने गरिएको छ । चितवनमा व्यवसायिक रुपमा पुष्पखेती गर्न थालिएपछि तिहार भन्दा अन्य समयमा फूलको मागको ९० प्रतिशत बजार यहाँको स्थानीय फूलले नै पूरा गरेको पुष्पखेती कृषक प्रकाश पन्तले जानकारी दिए ।
‘तिहारको समयमा चितवनको लागि १० प्रतिशत मात्र माला बाहिरबाट आयात हुन्छ, त्यो पनि सहरी क्षेत्रको लागि’ पन्तले भने । पन्तले आफुले उत्पादन गरेका फूलका माला काठमाडौँ लगेर बेच्ने गरेको बताए । ‘स्थानीय बजारमा भन्दा काठमाडौँमा मालाको मूल्य राम्रो पाइन्छ, त्यसैले मैले आधा भन्दा बढी माला काठमाडौँ पठाउने गरेको छु’ पन्तले भने ।
स्थानीय बजारमा भारतबाट आएको माला सस्तोमा पाइने तर स्तरीय र ताजा माला केही महङ्गो पर्ने भएकोले यहाँका उपभोक्ताले नकिन्ने हुनाले माला काठमाडौँ पठाउने गरेको पन्तले बताए । पन्तले हाल एक विगाहामा सयपत्री र अरु १५ बिगाहामा अन्य पुष्प खेती गर्दै आएका छन् । उनले यो तिहारको लागि २० हजार थान माला तयार पारेको बताए ।
त्यस्तै, रत्ननगर टाँडीका नारायण आचार्यले ज्यामिरे नजिक हाँजिपुरमा पुष्पखेती गरेका छन् । उनले १५ वर्ष अघि पाँच कठ्ठाबाट सुरु गरेको व्यवसायिक पुष्प खेती तीन विगाहसम्म पु¥याएको जानकारी दिए । आचार्यले हाल ‘ग्ल्याडुलस’ जातको फूलखेती सुरु गरेका छन् । फूल टिप्न र माला बनाउनको लागि जनशक्ति बढी चाहिने भएका कारण सयपत्री फूल लगाउन छोडेको आचार्यले बताए ।