«

»

चितवनको निर्वाचन र प्रवृत्ति

मोहन बस्याल
चितवन शिक्षाका हिसाबले अन्य धेरै जिल्ला भन्दा अगाडि छ । यहाँका झण्डै असी प्रतिशत नागरिक साक्षर बनेको तथ्याङक जिल्ला शिक्षा कार्यालयसँग छ । आर्थिक हिसाबले पनि चितवनका नागरिकको अवस्था राम्रै छ, केही गाविसको अपवादलाई छाडेर । सूचना तथा सञ्चारको पहुँचको हिसाबले पनि चितवनका नागरिक जागरुक छन् । सूचना तथा सञ्चारको सहज पहुँचले पनि चितवनका स्थानियबासीले धेरै कुरा छिटो थाहा पाउने हैसियत राख्छन् । सूचनाको पहँुचले नयाँ बिचार सँगको पहुँच पनि सहज बनाउने भएकोले चितवनका नागरिकले नयाँ बिचार र सिद्धान्तका कुरालाई पनि छिट्टै थाहा पाउने, त्यसलाई अंगाल्ने वा बिरोध गर्ने अवसर पनि पाएका छन् । चितवनमा भएका निर्वाचनमा नागरिकले दिएको फरक फरक नतिजाले पनि चितवनका जनता परिवर्तन र नयाँ पनको पक्षमा छन् भन्ने देखाउँदै आएको छ ।
बिगतमा फरक फरक नजिता
पञ्चायतकालको अन्त्यतिर तथा बहुदलिय व्यवस्था शुरु पछिको निर्वाचनमा बामपन्थी उम्मेदवारको दबदबा रहेको चितवनमा २०५६ सालमा चारवटै निर्वाचन क्षेत्रमा काँग्रेसको जित हुनु र फेरी २०६४ सालमा सबै क्षेत्रमा बामपन्थी उम्मेदवारको बिजय हुनुले निर्वाचनको परिणाम सधँै अपेक्षाकृत नै हुन्छ भन्न नसकिने देखाएको छ । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमालेमय देखिएको चितवनमा २०५६ सालको संसदीय निर्वाचन एमालको पक्षमा देखिएन । निर्वाचनको भिन्न परिणाम आउनुमा तात्कालिन बिभिन्न परिस्थिति र परिवेशको भूमिका पनि महत्वपूर्ण हुन्छ । पञ्चायतकालिन समयको उत्तरार्धमा जनता परिवर्तनको पक्षमा सक्रियतापूर्वक लागि रहेका थिए । बहुदलिय व्यवस्थाको शुरुवाती क्रममा परिवर्तनलाई संस्थागत गर्ने मात्र होईन आमुल परिवर्तनका लागि बामपन्थी दल र उम्मेदवारप्रति जनताको बढि चासो र बिश्वास देखिएको थियो । बिभिन्न घटनाक्रम र परिस्थिति बदलिँदै जाँदा २०५६ सालको निर्वाचन अघि एमाले टुक्रिनु र माओबादी हिंसात्मक भूमिगत आन्दोलनमा होमिएकोले कांग्रेसलाई जित सहज भएको तात्कालिन परिस्थिति हो ।
२०६४ सालमा माओवादीलाई शान्ति प्रकृयामा ल्याउनु र राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापनालाई संस्थागत गर्ने निर्वाचनका मुख्य एजेण्डा थिए । त्यसो त संविधान निर्माण गर्ने घोषित प्रमुख एजेण्डा पनि थियो । राजतन्त्रको अन्त्य र संविधानसभा निर्वाचनको बहसमा ज्यादा माओवादी देखिएको र माओवादी मुलधारमा आए मुलुकमा शान्ति हुने अपेक्षाका कारण पनि २०६४ सालमा माओवादीले आफ्नो पक्षमा जनमत लिन सकेको देखिन्छ । अहिले परिस्थिति केही परिवर्तित छ । माओवादीकै नेतृत्वका दुईवटा सरकार र तिनले गरेका काम नेपाली जनताले हेरि सकेका छन् भने अहिले एकीकृत नेकपा माओवादीको नेतृत्व गरिरहेका शीर्ष नेतृत्वको कडा आलोचनाका साथ नेकपा–माओवादी अलग समूह बनाएर लागेको छ । त्यसैले यस पटक चितवनमा मुख्य तीन राजनीतिक दल बीच प्रतिस्पर्धा हुने अनुमान र अपेक्षा गरिएको छ । यस पटकको जित हारमा मत अन्तर यी तीन दलका उम्मेदवारहरु बीचमा खासै ठूलो अन्तर नहोला भन्ने अनुमान गरिएको छ । यस पटकको निर्वाचनमा आफ्नो पक्षमा मत जुटाउन सबै दलले केही न केही फरक ढंगले जनतामाझ जाने प्रयास गरि रहँदा केही समानतापनि देखिएका छन् ।
पार्टीबाट लोकप्रिय उम्मेदवारमा जोड
यस पटक चितवनमा राजनीतिक दलले स्थानीय स्तरमा लोकप्रिय उम्मेदवारलाई बढि जोड दिएका छन् । नेपाली काँगेसले चारवटा क्षेत्रमा स्थानीय उम्मेदवारलाई टिकट दिएको छ भने तुलनात्मक हिसाबले बलियो पकड मानिएको क्षेत्र नम्वर चारमा केन्द्रिय सभापति सुशिल कोईरालालाई नै उम्मेदवार बनाएको छ । सम्भावित प्रधानमन्त्रीका रुपमा समेत चर्चा चलाउँदै त्यसको प्रभाव सिंगो चितवनमा पार्ने दाउमा काँग्रेस लागेको देखिएको छ । त्यसका लागि जिल्लाबाट समानुपातिकको सूचीमा पर्ने नेताहरुमा सोही क्षेत्रका नै बढि देखिएको छ ।
एमालेले आफ्ना उम्मेदवार चयन गर्दा स्थानीय स्तरमा लोकप्रिय, राष्ट्रिय छबि बनाएका र बिशिष्ट  क्षमता भएका गरि बिबिधता ल्याउने प्रयास गरेको छ । यसअघि जित हासिल गरेको क्षेत्र नम्वर एकमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सकेका सुरेन्द्र पाण्डेलाई उम्मेदवार मात्र होईन सो क्षेत्रका चारजना नेतालाई समानुपातिकको सूचीमा राखेकाले एमालेको पहिलो प्राथमिकता एक नम्वर क्षेत्र हो भन्ने प्रष्ट देखिएको छ ।
माओबादीले क्षेत्र नम्वर तीन, चार र पाँचमा यसअघि भएको संविधानसभा निर्वाचनमा बिजय हासिल गरेका उम्मेदवारलाई नै दोहो¥याएको छ । यस अघिको निर्वाचनमा मत अन्तर धेरै रहेको कारणले एमाओबादी ढुक्क जस्तो देखिएको छ । क्षेत्र नम्वर दुईमा यस अघि बिजयी भएका रामबहादुर थापा र क्षेत्र नम्वर एकमा उम्मेदवार बनेकी शोभा कट्टेलले पार्टी परिवर्तन गरेपछि ती क्षेत्रमा नयाँ उम्मेदवारले मौका पाएका छन् ।
यय अघिका निर्वाचनमा जेलनेल बेहोरेका, पार्टीका लागि योगदान दिएकालाई उम्मेदवार बनाउनेमा जोड दिँदा अपेक्षाकृत नतिजा नपाएकाले पनि यस पटक कस्ले जित्न सक्छ भन्नेमा ज्यादा जोड दिएको देखिन्छ । उमेरले सत्तरी नाघेका उम्मेदवार पनि चुनावी मैदानमा आउनु उनीहरुको आफ्नो राजनीतिक जिवनको लोकप्रियतालाई चुनावमा प्रयोग गरिएकै हो ।
उम्मेदवारबाट घरदैलोमा जोड
चितवनमा यस पटक सबैजसो उम्मेदवारले घरदैलोमा जोड दिएका छन् । सबै घरमा पुगेर एक पटक भेटेपछि केही न केही प्रभाव पार्न सकिन्छ भन्नेमा उम्मेदवार र निर्वाचन परिचालन गर्ने समूहको जोड देखिन्छ । मतदाता को हो को होईन भन्ने पहिचान नगरी बाटोमा पर्ने सबै घर पसेर त्यहाँ रहेका सबै जनासँग भोट मागेको दृश्य देखिएको छ । घर दैलोमा जाने क्षेत्रका मतदाताको सूची लिएर सम्बन्धित व्यक्तिलाई भेटेर भोट माग्न सकेको भए उम्मेदवारकै लागि पनि राम्रो हुने देखिन्छ तर त्यस्तो तयारी गरेको देखिँदैन । जे होस् उम्मेदवारले यस पटकको निर्वाचनमा आफु लडेको क्षेत्रको भू–बनावट, घरहरुको अवस्था, खानेपानी, बाटोघाटो सबै कुरा कस्तो छ भन्ने महशुुुस गर्ने अवसर पाएका छन् । नियमित निर्वाचन हुने भए उम्मेदवारको नियमित घरदैलोको समय पनि पर्याप्त हुने र साँसद कोषकै रकम पनि सदुपयोग हुने अपेक्षा गर्न सकिन्छ ।
आचार संहिताको फरक महशुस
जथाभावी तुल, ब्यानर, भण्डा भुण्ड्याउने, भित्ता भित्तामा रंगीचंगी पर्चा पोष्टर टाँस्ने, युवाहरुलाई रक्सी मासु खुलाउने, चर्काे आवाजमा मार्ईक बजाएर हिंड्ने यस अघिका निर्वाचनका अनुभव हुन् । तर यस पटक यी कुरामा धेरै हद सम्म नियन्त्रण देखिएको छ । बाजागाजा, बजारमा तुल ब्यानर नदेखिँदा चुनाबी रौनक नभएको महशुस पनि कतिपयले गरेका छन् । तर यसले दलहरुको खर्चमात्र जोगाएको छैन सभ्य प्रतिस्पर्धा गर्न पनि सिकाउँदै लगेको छ । पुरानो ह्याङ्गले नछाडेर होला यस पटक पनि पहिले जस्तै निर्वाचन आचार संहिता बिपरित निर्वाचनका गतिबिधि गर्ने प्रयास गरेको भने देखिएको छ । कतिपय ठाउँमा निर्वाचन अधिकृतको कार्यालयको निर्देशनले पनि यस्ता कुरामा सुधार आएको देखिएको छ ।
निर्वाचनमय सञ्चार माध्यम
किसानका खेतमा धान भित्र्याउने समय छ । पटक पटक परेको पानीले उनीहरुले सास्ती बेहोर्नु परेको छ । मूल्य नपाएर हैरानी पनि छ । यस्तै समाजका अरु महत्वपूर्ण मुद्दा पनि छन् । चाड पर्व पनि छ । तर अहिले चितवनका सबैजसो सञ्चार माध्यमको मुख्य मुद्दा निर्वाचननै देखिएको छ । यसलाई स्वभाविक र आवश्यकता पनि मान्नुपर्छ । निर्वाचनका मुद्दामा सञ्चार माध्यम जति सक्रिय, पारदर्शी र शाहसी हुन्छन् उतिनै निष्पक्ष निर्वाचन र सही उम्मेदवार चयनमा सघाउ पुग्छ । केही अपबाद बाहेक सबै जसो उम्मेदवारका प्रशंसा र उनीहरुले गरेको राम्रो काम, उनीहरुका असल चरित्र बाहिर ल्याउन नै चितवनका सञ्चार माध्यम सक्रिय छन् । निर्वाचनका बेला आफ्नो पक्षमा जनमत जुटाउन सञ्चार माध्यमको भरपुर प्रयोग गर्न राजनीतिक दल सचेत देखिएका छन् । उनीहरुलाई आफ्नो पेशागत छबिको पनि ख्याल नगरी सहयोग गर्ने पत्रकारको पनि चितवनमा उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचनका बेला मतदान गर्न, मतदान सही तरीकाले गर्न  र सही उम्मेदवार चयन गर्न मतदातालाई सजिलो पार्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।