«

»

संपादकीय : आपराधिक क्रियाकलाप बन्द होस्

बिहीबार चितवनको लङ्कुमा पाइप बम भेटियो । शुक्रबार मोरङमा कुकर बम फेला प¥यो । ती बम सेनाले बेलैमा नियन्त्रणमा लिएर निष्क्रिय पार्न नसकेको भए त्यसले जनधनको ठूलो नोक्सानी गर्न सक्थ्यो । बम राखेको सर्वसाधारणले देखे र सुरक्षा निकायलाई खबर गरेपछि सम्भावित दुर्घटना टरेको छ । चितवन र मोरङमा मात्रै होइन पछिल्लो समय देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमण गर्ने, बम पड्काउने, बम राखेर छोड्ने तथा सवारी साधनमा आगजनी गर्ने जस्ता गतिबिधि भइरहेका छन् । आगामी मंसिर ४ का लागि तयारी गरिएको संविधानसभा सदस्य निर्वाचनको मुखैमा आएर यस्ता गतिबिधि बढ्दै जाँदा यसले जनतालाई त्रसित बनाएको छ ।
सार्वजनिक स्थलमा बम राख्ने, उम्मेदवारलाई आक्रमण गर्ने र उम्मेदवारले प्रयोग गरेका गाडी जलाउने कार्यमा जो सहभागी भएपनि त्यो कार्य संविधानसभा निर्वाचन नचाहनेहरुबाट भएको प्रष्ट हुन्छ । लोकतन्त्रमा बिरोध जनाउन बम, गोली र बारुदको जरुरी पर्दैन, आफ्ना असहमतिहरु प्रष्ट रुपमा जनतासमक्ष राख्न सकिन्छ । हतियार भन्दा पनि बलियो कलम चलाएर जनतालाई आफ्नो पक्षमा पार्न तथा सुसूचित गराउन सवैलाई छुट छ । तर फेरि पनि हिजो सशस्त्र द्वन्द्वको समयमा जस्तो गरि सार्वजनिक स्थलहरुमा बम राख्ने सम्मका काम गरेर तथा भौतिक आक्रमणमै उत्रिएर जनतालाई त्रसित पार्ने गतिबिधि गर्नुले कसैको पनि मन जित्न सक्ने अवस्था छैन ।
दश वर्षे सशस्त्र द्वन्द्वको मार भोगेका नेपाली जनताले अब त्यस्तो द्वन्द्व होइन शान्ति र सृजना चाहिरहेका छन् । त्यसैका लागि जनताले अघिल्लो संविधानसभा निर्वाचनमा राजनीतिक दलहरुलाई मत पनि दिएका हुन् । भलै त्यो संविधानसभाले संविधान बनाउन सकेन । तैपनि नयाँ संविधान र समृद्धिको परिकल्पना बोकेर जनताले आउँदो संविधानसभा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा आफ्नो मत जाहेर गरिसकेका निर्वाचन अघिको अहिलेको जनताको उत्साहले पनि देखाइसकेको छ ।
अहिले नेकपा–माओवादी र उ सम्वद्ध ३३ दलिय मोर्चा आगामी संविधानसभा सदस्य निर्वाचनको विरुद्धमा उभिएका छन् । मुलुकमा राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको जग बसाएको मन नपराएका तत्व पनि हुनसक्छन् । यसै सन्दर्भमा निर्वाचनको मुखैमा आएर एकातर्फ ३३ दलिय मोर्चाले निर्वाचन बहिष्कारका कार्यक्रमलाई सक्रिय बनाउनु र अर्कोतर्फ ठाउँ ठाउँमा सार्वजनिक स्थलमा बम भेटिनु, उम्मेदवारमाथि साँघातिक आक्रमण हुनु र सवारी साधन जलाइनु जस्ता घटनाको श्रृङ्खलाले यस्ता घटना को बाट भइरहेका छन् भन्ने गम्भीर प्रश्न उठाइदिएको छ । यी घटनाहरुमा निर्वाचन बहिष्कारको अभियान चलाएको नेकपा–माओवादी र उ सम्वद्ध मोर्चाको सम्लग्नता छ कि छैन भन्ने विषयमा पनि आम रुपमा छलफल र बहस भइरहेको सुनिन्छ ।
जनताले जानेको के हो भने देशको बिधि बिधान मान्दिन नभनेको ड्यास माओवादी सहितको ३३ दलिय मोर्चाले आफ्ना माग पूरा नगरिएको भन्दै आगामी संविधानसभा निर्वाचन बहिष्कारको घोषणा गरेका छन् । तर सार्वजनिक स्थलमा बम राख्ने सम्मका क्रियाकलापमा चाहिँ उनीहरुको सम्लग्नता हो कि होइन भन्ने विषयमा अब उनीहरुले नै जवाफ नदिइ सुखै छैन । किनकी सार्वजनिक स्थलमा बम राखिँदा त्यसबाट क्षति भोग्ने भनेको जनताले नै हो । त्यस्तो क्रियाकलाप गर्न कानुनले कसैलाई पनि छुट दिएको छैन । सरकारले यस्ता क्रियाकलापमा सम्लग्न जो कोहीलाई पनि बेलैमा नियन्त्रणमा लिन सक्नुपर्छ र कुनैपनि राजनीतिक आवरणको आधारमा कसैलाई पनि छुट दिनु हुँदैन ।