«

»

वाटरगेट काण्ड र नेपाली निर्वाचन

एकल सिलवाल
वाटरगेट भनेको अमेरिकाको राजधानी शहर वासिङटन डीसी स्थित एउटा ठाउँको नाम हो । त्यहाँ सन् १९७० को दशकमा भएको राष्ट्रपति पदको निर्वाचनसँग सम्बन्धित एउटा षडयन्त्रपूर्ण घटना वाटरगेट काण्डका नामले पत्रकारितजगत्मा चर्चित छ । नेपालमा आगामी मंसिर चार गते हुन लागेको संविधान सभाको चुनावको सन्दर्भ अलि फरक भए पनि चुनावमा हुने राजनीतिक षडयन्त्रको स्वरुप संसारभर एकै खालको देखिने गरेकाले एक पटक वाटरगेट काण्डमा के भएको थियो त्यसलाई सरसर्ति सम्झौं ।

 

जालझेल र षडयन्त्र गरेर सत्ता र संविधान सभामा पुग्ने सपना जोकोहीले देखेको भए पनि त्यो टिक्नेछैन भन्ने पाठ सूचनाका इमानदार स्रोत र स्वतन्त्र सञ्चारमाध्यमहरूको निरन्तर निगरानी देखिरहेका सम्बद्ध सबैले सिकून् । वाटरगेट काण्डको पाठ यत्ति हो । यसबाट हामीले सिक्न सक्यौं भने मुखमै आइपुगेको चुनाव स्वच्छ र शान्तिपूर्ण होला । नत्र निर्वाचनमा भएको अथाह लगानी खेर नजाला र रिचार्ड निक्सनका नयाँ अवतारहरू यहाँ पनि नजन्मलान् भन्न सकिन्न ।

 

सन् १९७२ मा अमेरिकी राष्ट्रपति पदको चुनाव हुँदैथियो । त्यसवेला राष्ट्रपति पदमा रिचार्ड निक्सन बहाल थिए । महाशक्तिराष्ट्रका रुपमा उदाउँदो अमेरिकाका सर्वशक्तिमान सरकार तथा राष्ट्र प्रमुखको हैसियतले सत्ता र शक्तिको अभ्यास गरिरहेका निक्सनलाई अर्को कार्यकालका लागि पनि सोही पदको उम्मेदवार बन्ने मोह जाग्यो । अन्ततः उनी फेरि उही पद र प्रतिष्ठा आर्जनका लागि चुनावमा उठे ।
रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका निक्सनलाई चुनौती दिन प्रतिष्पर्धी डेमोक्रेटिक नेशनल पार्टीका तर्फबाट जोन एफ केनेडी उभिए । राष्ट्रपति पदको दौडमा अरु स–साना पार्टीहरूले पनि आ–आफ्ना उम्मेदवारहरू अघि सारेका थिए । तथापि राष्ट्रिय शक्तिका रुपमा स्थापित दुई पार्टीका आधिकारिक उम्मेदवार हुनुका नाताले चुनावमा प्रतिष्पर्धा निक्सन र केनेडीका बीच हुने भयो ।
निष्पक्ष निर्वाचनका लागि सबैले विश्वास गरेको चुस्त आयोग छँदैथियो । त्यसले निर्वाचन आचारसंहिता जारी ग¥यो । चुनावी अभियान निकै चर्को गतिमा अघि बढ्न थाल्यो । आफू र आफ्नो पार्टीलाई चुनाव जिताउन दुवै दलका उम्मेदवारहरू कम्मर कसेर लागिरहेका थिए । त्यसै क्रममा एक दिन निक्सनका प्रतिष्पर्धी केनेडीको पार्टी मुख्यालय परिसरमा हेर्दा सामान्य लाग्ने तर अनौठो घटना हुन पुग्यो ।
केनेडीको दल डेमोक्रेटिक नेशनल पार्टीका अध्यक्ष लरेन्स ओब्रेनको कार्यकक्ष रहेको ठाउँ वाटरगेट नामले चिनिन्थ्यो । त्यहीँ रहेको केनेडीको पार्टी कार्यालय पसिरमा सन् १९७२ जुन १७ का दिन एक हूल अपरिचित व्यक्तिहरू प्रवेश गर्न खोजे । कार्यालय सुरक्षार्थ खटिएका चौकिदारहरूले परिचय मागेपछि तिनीहरूले आफूलाई धारा र शौचालय मर्मत गर्ने प्लम्बर हौं भनी चिनाए । चौकिदारहरूलाई तिनीहरूको कुरामा पत्यार लागेन ।
पार्टी कार्यालय परिसरका धारा र शौचालयहरूमा टुटेफुटेका पाइप मर्मत गर्ने वहाना बनाएर आएका अज्ञात मानिसहरूको उद्देश्य अरु नै केही हुनसक्ने शंका लागेपछि चौकिदारहरूले तिनीहरूलाई भित्र पसाउनुको सट्टा हिरासतको बाटो देखाइदिनु उपयुक्त हुने निक्र्यौल गरे । त्यसपछि प्रहरीलाई खबर गरिदिए । एकैछिनमा प्रहरी टोली वाटरगेट परिसरमा पुग्यो । शंकास्पद समूहका सबै जनालाई समातेर प्रहरीले अनुसन्धान शुरु ग¥यो ।
अनुसन्धानको शुरुमै तिनीहरू वास्तविक प्लम्बर थिएनन् भन्ने तथ्य पत्ता लगाउन सफल प्रहरीले आफ्नो दक्षता र मेहनत खर्चंदै गयो । हिरासतमा राखेर लगातार तीन दिनको जाँच पड्ताल पूरा गरेपछि प्रहरीले उनीहरू सबै जासुस भएको पत्ता लगायो । सके डेमोक्रेटिक पार्टीका अध्यक्ष ओब्रेनले गर्ने कुराकानीहरू लुकिछिपी रेकर्ड गर्ने र नसके पार्टीको चुनावी रणनीति सहितका महत्वपूर्ण कागजातहरू चोर्ने नियतले उनीहरू त्यहाँ गएको पनि खुलासा भयो ।
त्यस खतरनाक योजनामा उनीहरू व्हाइटहाउस अर्थात् राष्ट्रपति भवनबाट परिचालित भएको जानकारी पनि प्रहरीले विशेष सुराकबाट प्राप्त ग¥यो । त्यो शंकास्पद क्रियाकलापमा राष्ट्रपति भवनभित्रदेखिको भूमिका देखिनु भनेको तत्कालीन राष्ट्रपति रिचार्ड निस्कन मुछिनु थियो । उनी आफै दोस्रो कार्यकालको दाबेदारी सहित चुनावको मैदानमा हुनु, उनको जितलाई उनकै रिपब्लिकन पार्टीले प्रतिष्ठाको विषय बनाउनु र प्रतिष्पर्धी उम्मेदवार जोन एफ केनेडीको पार्टी मुख्यालयमा उनी समेत मुछिनेगरी जासुसीको प्रयत्न हुनु संयोग मात्र थिएन ।
प्रहरीले जतिजति अनुसन्धानको पत्र केलाउँदै गयो, उति नै त्यस घटना रहस्यमय देख्न थाल्यो । अमेरिकी सरकारको आन्तरिक जासुसी अंग संघीय जाँच व्युरो (एफबीआई) का अधिकारीहरूले पनि त्यो रहस्यको पेटारो खोल्ने काममा चासो देखाउन थाले । सुन्दा सामान्य लाग्ने घटनाभित्र लुकेको असामान्य नियत छर्लङ्ग पार्न सम्बन्धित सबै क्षेत्रले आ–आफ्ना प्रयासहरू केन्द्रित गरे ।
विस्तारै त्यो घटना अमेरिकी आमसञ्चारमाध्यहरूको पनि चासो बन्दै गयो । त्यसै क्रममा त्यहाँको चर्चित राष्ट्रिय पत्रिका वासिङटन पोष्टले वाटरगेट काण्डको वास्तविकता खोजी गर्न गहन रिपोर्टिङ गर्ने योजना बनायो । त्यस घटनाको पछाडि कसको कुन उद्देश्य लुकेको छ भनेर खोजी गर्ने जिम्मेवारी दिई पत्रिकाले बब उडवार्ड र कार्ल बन्स्टिन नामका दुई नयाँ संवाददाताहरू नियुक्त ग¥यो । उनीहरू खोजतलासमा लागे ।
खोजतलास थालेको केही दिनमै पत्रकारद्वयले राष्ट्रपति निक्सन नै त्यो खतरनाक योजनाका जिम्मेवार पात्र थिए भन्ने यकिन गरे । अत्यन्त विश्वासिला गोप्य स्रोतहरूबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति निक्सनले आउँदो निर्वाचनमा आफ्ना विपक्षीहरूलाई सिध्याउन ६ वटा मुख्य योजना बनाएको पाइयो । तिनै योजना अन्तर्गत वाटरगेट परिसरभित्र जासुसहरू छिर्न लागेका रहेछन् ।
सन् १९६९ मा बनाइएका ती योजनाहरूमा गोप्य समिति बनाउने, त्यसका लागि ६ करोड डलरको वन्दोबस्त गर्ने, सञ्चारमाध्यमहरूलाई दुरुत्साहित गर्ने, शत्रुको सूचि तयार पार्ने, डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूलाई हराउन जालसाजी अपनाउने र ती सबै योजना सफल पार्न आइआरएस अर्थात् अन्तर्राष्ट्रिय राजश्व सेवा, एफबीआई अर्थात् संघीय जाँच व्युरो र सीआइए केन्द्रीय गुप्तचर एजेन्सी जस्ता सरकारी जासुसी संयन्त्रको प्रयोग गर्ने बुँदाहरू उल्लेख थिए ।
ती सबै योजनाहरू खुलासा हुनेगरी श्रृंखलाबद्ध समाचारहरू वासिङटन पोष्ट पत्रिकाबाट सार्वजनिक भए । डेमोक्रेटिक पार्टीका अध्यक्ष लरेन्स ओब्रेनको कार्यालय भवन वाटरगेट परिसरबाट शुरु भएको सानो तरङ्गले विशाल समुद्रको छाल झैं भयानक रुप लिंदै गयो र बेरै नलागी वाटरगेट काण्डका रुपमा अमेरिकाभित्र र वाहिरी विश्वमा पनि सनसनी फैलाउन थाल्यो ।
त्यस काण्डले अमेरिकी शासकीय इतिहासमा नायकबाट क्रमशः खलनायक पात्रका रुपमा ओराल्दै लगे पनि राष्ट्रपति निक्सनले आफूमाथिको आरोप स्वीकारेनन् । पत्रकारद्वयले उनका कुकर्महरूको प्रमाण खोज्दै जाँदा एउटा महत्वपूर्ण संवादको श्रव्य रेकर्ड फेला पारे । त्यसमा राष्ट्रपति निक्सन र उनका एक सहयोगीबीच चुनावमा विपक्षीविरुद्ध षडयन्त्र गर्ने योजनाबारे भएको वार्तालाप थियो ।
पत्रकारहरूको हातमा आइपुगेको सोही टेप सन् १७७२ जुन २३ का दिन सार्वजनिक हुन पुग्यो भने त्यसमा आधारित वार्तालापको विवरण जुलाईमा वासिङ्टन पोष्ट र अरु पत्रिकाहरूमा पनि छापियो । निक्सन अझै झुकेनन् । बरु ती प्रमाणहरू झुठ्ठा हुन् भन्दै उनका सहयोगीहरूले पत्रकाहरूलाई नै चुनौती दिए । निक्सनकै पक्षमा रहेको बलियो जनमतको कारण दोश्रो पटकका लागि पनि उनी राष्ट्रपति पदमा निर्वाचित भए ।
नयाँ कार्याकाल सम्हालेपछि पनि उनले चुनाव जित्नका लागि विपक्षी विरुद्ध गरेका सुनियोजित षडयन्त्रहरूको श्रृंखला अखबारमा समाचार बनेर छापिन छाडेन । अखबारी आलोचनालाई गन्दै नगनी चुपचाप बसिरहेका निक्सनले मुख नखोली सुखै नपाउने समय आएपछि सन् १९७३ अप्रिल ३० तारिखका दिन उनले समाचारको खण्डन र आफ्नो बचाउका लागि ४ हजार शब्दको विज्ञप्ति निकाले । तैपनि सफाइ दिनुको सट्टा पत्रकारहरूले उनीविरुद्ध औंलो उठाइरहे ।
वाटरगेट काण्डको सशक्त खोज गरेकै कारण वासिङटन पोष्ट पत्रिकाले सन् १७७३ को मे महिनामा प्रख्यात् पुलिट्जर पुरस्कार प्राप्त ग¥यो । पत्रिकाले पुलिट्जर पुरस्कार पाउनु भनेको राष्ट्रपति निक्सनका बारेमा लेखिएका समाचारहरूको विश्वसनियता बलियो हुनु थियो । त्यसपछि अमेरिकी सिनेटभित्रै निक्सनविरुद्ध महाअभियोगको प्रस्ताव आउने पक्का भयो ।
राष्ट्रपति विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने कि नल्याउने भन्ने विषयमा छानविन गर्न गठित अमेरिकी सिनेटको एक विशेष समितिमा आफ्नै पार्टीका सदस्यहरूले समेत साथ नदिँदा निक्सन निरीह सावित भएका थिए । अन्ततः आफूविरुद्ध महाअभियोग लाग्ने पक्कापक्की भएपछि सन् १९७४ अगष्ट ८ तारिखका दिन राष्ट्रपति निक्सनले पदबाट राजीनामा दिए ।
पत्रकार तथा पत्रकारिताको सत्यनिष्ठ शक्तिका अगाडि महाशक्ति राष्ट्र अमेरिकाका सर्वशक्तिमान कार्यकारी राष्ट्रपतिले घुँडा टेक्नुप¥यो । यो काण्डको अर्को अनौठो रहस्य चाहिँ के छ भने त्यसबेला डिप थ्रोट नामले राष्ट्रपति निक्सनका बद्नियतपूर्ण कामहरूबारेको सूचना पत्रकारहरूलाई उपलब्ध गराउने एक जना अति नै विश्वस्त स्रोतले आफ्नो परिचय ३३ वर्षपछि मात्र खोलेका छन् ।
अमेरिकी राष्ट्रपतिलाई सत्ताबाट खसाल्न सफल शक्तिशाली समाचारका सूचनादाता अरु कोही नभई अमेरिकी गुप्तचर संस्था एफबीआईका तत्कालीन उपप्रमुख मार्क फेल्ट रहेछन् । यो रहस्य उनी आफैले वाटरगेट काण्डको ३३ वर्षपछि सन् २००५ को जुन महिनामा खोलेका थिए । राष्ट्र र जनताप्रति इमानदार हुँदै सत्यतथ्यको पक्षमा उभिएर शासकले गर्ने वदनियतलाई खुलासा गर्ने आफ्नो कदम आफैले खाएको पदीय सपथ विपरीत भए पनि त्यसबाट आफूलाई गर्व लागेको उनले वताएका थिए ।
वासिङटन पोष्टका पत्रकारहरूले पनि काल्पनिक नाम राखेर सूचना दिने मार्क फेल्टको परिचय गोप्य राखेर आफ्ना सूचनादाताको संरक्षणमा उच्चतम् इमानदारी प्रकट गरेका थिए । ती सत्पात्रको १९ डिसेम्बर २००८ अर्थात् विक्रम् संवत् २०६५ पुस ४ गते शुक्रबारका दिन ९५ वर्षको उमेरमा अमेरिकाको पेन्सल्भानियास्थित् आफ्नै निवासमा निधन भयो । तीन दशक भन्दा लामो अवधिसम्म रहस्यको गर्भमा लुकेको यस काण्डका डिप थ्रोट अर्थात मार्क फेल्ट जस्ता पात्रहरूको विश्वास जित्न सायद नेपाली मिडियाले बाँकी नै छ ।
नेपालमा दोस्रो पटक हुन लागेको संविधान सभा निर्वाचनको मिति नजिकिँदै जाँदा यसमा सहभागी राजनीतिक दलहरूबीच नै परस्पर हिंसा, थुनछेक र निषेधको झल्को दिने क्रियाकलापहरू देखिएका छन् । जालझेल र षडयन्त्र गरेर सत्ता र संविधान सभामा पुग्ने सपना जोकोहीले देखेको भए पनि त्यो टिक्नेछैन भन्ने पाठ सूचनाका इमानदार स्रोत र स्वतन्त्र सञ्चारमाध्यमहरूको निरन्तर निगरानी देखिरहेका सम्बद्ध सबैले सिकून् । वाटरगेट काण्डको पाठ यत्ति हो । यसबाट हामीले सिक्न सक्यौं भने मुखमै आइपुगेको चुनाव स्वच्छ र शान्तिपूर्ण होला । नत्र निर्वाचनमा भएको अथाह लगानी खेर नजाला र रिचार्ड निक्सनका नयाँ अवतारहरू यहाँ पनि नजन्मलान् भन्न सकिन्न ।