«

»

मत्स्य विकासको २० प्रतिशत बजेट चितवनमा

एक हप्ताभित्र मत्स्य विकास अधिकृतको व्यवस्था हुने

कोमलचन्द्र भगत
भण्डारा, ५ पुस
चितवनमा एक हप्ताभित्र मत्स्य विकास अधिकृतको व्यवस्था हुने भएको छ । पूर्वी चितवनको भण्डारामा रहेको मत्स्य विकास कार्यालयलाई केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौँले मत्स्य विकास अधिकृतको दरबन्दी दिन लागेको हो ।
पुस ३ गतेदेखि ५ गते शनिबारसम्म सञ्चालन भएको मत्स्य स्वास्थ्य घुम्ती शिविर कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मत्स्य विकास कार्यक्रमका निर्देशक रमानन्द मिश्रले चितवनको लागि मत्स्य विकास अधिकृतको दरबन्दी बनाएर एक हप्तामा कर्मचारी पठाउने बताएका हुन् । मिश्रले ९० प्रतिशत भन्दा बढी माछा मर्नुको मुख्य कारण पानीको गुणस्तर राम्रो नहुनु रहेको बताए ।
मिश्रले देशभरी माछा कार्यक्रमको लागि बिनियोजन गरिएको कुल बजेटको २० प्रतिशत रकम चितवनको लागि छुट्याइएको जानकारी दिए । चितवनमा माछा पालक कृषकहरु बढ्दै गएका कारण यहाँ धेरै बजेट छुट्याइएको मिश्रले स्पष्ट पारे । आगामी दिनमा माछा पालन व्यवसायको विकासको लागि प्रयोगशालाले चितवनलाई सक्दो सहयोग गर्ने पनि मिश्रले प्रतिबद्धता जनाए ।
मत्स्य विकासको क्षेत्रमा सरकारी निकायबाट २९ करोड रुपैयाँ बिनियोजन भएकोमा १९ करोड रुपैयाँ मात्र खर्च हुनुले मत्स्य विकासमा धेरै काम गर्न नसकिएको उनको भनाई छ । कृषि विकासमा पाँच प्रतिशत प्रिमियमको व्यवस्था भएपनि माछामा दुई प्रतिशत प्रिमियम मात्र तिरे पुग्ने व्यवस्था मत्स्य विकासको पहलले गर्दा नै भएको उनको दावी थियो ।
समग्र कृषि नितिले मत्स्य पालन क्षेत्रका समस्यालाई सम्बोधन गर्न नसकेकोले यस क्षेत्रका लागि छुट्टै नितिको आवश्यकता रहेको उनले औंल्याए । बजारको माग अनुसार यहाँ उत्पादन भएको माछाले नपुगेका कारण भारतीय माछामा नेपाल निर्भर हुनु परेको मिश्रले बताए ।
अबको केहि वर्षमा नेपाललाई माछा पालनमा आत्मनिर्भर बनाउन सबैको दृढ सङ्कल्प जरुरी रहेकोमा पनि उनले जोड दिए । माछा ढुवानी गर्न चाहिने रेफ्रिजेरेटर भ्यान, माछा मार्ने जाल तथा माछाको दाना बनाउने मेशिन आयात गर्ने कम्पनीलाई भन्सार छुटको व्यवस्था भएको समेत उनले जानकारी दिए ।
त्यस अवसरमा मत्स्य पालक कृषकहरुले माछा पालन सम्बन्धि तालिमको अभाव तथा माछा पोखरीको लागि सरकारी स्तरबाट कुनै पनि किसिमको अनुदानको व्यवस्था नभएको भन्दै असन्तुष्टी जनाएका थिए । उनीहरुले मत्स्य पालन व्यवसाय कुखुरा पालन भन्दा पनि जोखिममा रहेको भन्दै चितवन माछा पालनको लागि राम्रो सम्भावना भएको जिल्ला भएपनि पानीको गुणस्तर नाप्ने मेशिनको अभावले समस्या भोग्नुपरिरहेको बताएका थिए ।