«

»

चितवनमा फल्यो साढे पाँच करोडको सुन्तला

आनन्द पोखरेल
भरतपुर, १५ मंसिर
जिल्ला कृषि विकास कार्यालय, चितवनले यसवर्ष जिल्लामा सुन्तला उत्पादन अघिल्लो वर्षभन्दा बढ्ने अनुमान गरेको छ । कृषि विकास कार्यालयका वागवानी अधिकृत धनबहादुर थापाले यस वर्ष चितवनमा कम्तीमा पनि दुई हजार मेट्रिक टन सुन्तला उत्पादन हुने बताए ।
‘यस वर्ष मौसम राम्रो परेको छ, सुन्तलाको उP1000544 copyत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान गरेका छौँ’ वागवानी अधिकृत थापाले भने । अघिल्लो वर्ष सुन्तलाको फूल लाग्ने बेलामा असिना परेकोले उत्पादनमा कमी आएको थियो ।
विशेष गरि चिसो हावापानी भएको क्षेत्रमा सुन्तला खेती फस्टाउने बताउँदै थापाले भने– ‘मध्य पहाडी हावापानी भएको क्षेत्रमा सुन्तला खेती राम्रो हुने गरेको छ, सुन्तलाको लागि उपयुक्त हावापानी चितवनको पहाडी गाविसहरुमा भएको कारण यहाँका किसानहरु व्यवसायिक रुपमा सुन्तला खेतितर्फ आकर्षित भएका हुन् ।’
सुन्तला खेतीको राम्रो स्याहार सुसार भएको खण्डमा एक हेक्टर क्षेत्रफलमा कम्तिमा पनि १० मेट्रिक टन सुन्तला उत्पादन हुने थापाले ्रबताए । दारेचोक गाविसको ३, ४ र ५ नम्वर वडा सुन्तला खेतीको लागि पकेट क्षेत्र भएको थापाले जानकारी दिए । काउले गाविसको वडा नम्वर ३ र ६ मा पनि सुन्तलाको उत्पादन राम्रो भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस वर्ष सुन्तला खेतिको उत्पादन राम्रो भएको र वजार मूल्य पनि राम्रो भएको वागवानी अधिकृत थापाले जानकारी दिए । अघिल्लो वर्ष चितवनमा लगभग पाँच करोड रूपैयाँ बरावरको सुन्तला उत्पादन भएको जानकारी दिँदै थापाले भने,– ‘ चितवनमा यस वर्ष साढे पाँच करोड रूपैयाँ भन्दा वढी मूल्यको सुन्तला उत्पादन हुँदैछ ।’
व्यवसायिक रुपमा सुन्तला खेती गरेका कृषकहरुले मंसिर महिनाबाट सुन्तला टिप्न सुरु गर्ने थापाले बताए । सुन्तला पुषको दोस्रो सातासम्म टिपेर बेच्ने गरिएको जानकारी दिँदै थापाले भने,– ‘अहिलेसम्म कति सुन्तला टिपियो भन्ने जानकारी आइपुगेको छैन तर मंसिरको पहिलो साताबाट पुषको दोस्रो सातासम्म किसानहरुले सुन्तला टिप्दै गरेका हुन्छन् ।’
चितवनको तीन वटा गाविसमा व्यवसायिक रुपमा सुन्तला खेती हुने गरेको छ । दारेचोक, काउले र चण्डीभञ्ज्याङ गाविसमा व्यवसायिक रुपमा सुन्तला खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय, चितवनले जानकारी दिएको छ ।
चितवनको तीन वटा गाविसमा गरेर दुई सय २५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय, चितवनका वागवानी अधिकृत धनबहादुर थापाले जानकारी दिए । ‘तीन वटा गाविसका करीव एक सय ५० देखि दुई सय जना कृषकहरुले व्यवसायिक रुपमा सुन्तला खेती गरेका छन्’ थापाले भने । अघिल्लो वर्ष चितवनमा एक हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थापाले जानकारी दिए ।
सामान्यतया सुन्तलाले छ देखि सात वर्षबाट उत्पादन दिन सुरु गर्ने भए पनि कलमी गरेको सुन्तलाले चार वर्षबाट नै उत्पादन दिने थापाले जानकारी दिए । ‘कलमी गरेको सुन्तला चार वर्षमा फल्न सुरु गर्ने भए पनि सुन्तलालाई चाहिने आवश्यक स्याहार सुसारको आधारमा उत्पादन दिन सुरु गर्छ’ थापाले
भने ।
सुन्तलाको विरुवा रोपिएपछि राम्रोसँग मल र सिँचाइको सुविधा पुगेको अवस्थामा सुन्तलाले राम्रो उत्पादन दिने बताउँदै थापाले भने– ‘सुन्तला टिपेर सकिएपछि मंसिर देखि माघको १५ भित्रमा सुन्तलालाई आवश्यक पर्ने मल तथा सिँचाइ उपलब्ध गराउनु पर्छ ।’
अन्य व्यवसायलाई जस्तै सुन्तलालाई सधैँ भरि स्याहार गरिराख्नु नपर्ने बताउँदै थापाले भने,– ‘वर्षमा एक पटक प्राङ्गारिक मल, रासायनिक मल राखिदिए पुग्छ, मल राख्दा बोटको फेदमा नपर्ने गरि वरिपरीबाट राख्नु पर्दछ र माटोले राम्रोसँग मललाई छोप्नुपर्ने हुन्छ ।’ सुन्तला टिप्ने क्रममा कुनै हाँगा भाँचिएको छ भने त्यो हाँगालाई राम्रोसँग काट्नु पर्ने बताउँदै थापाले भने,– ‘सुन्तलाको हाँगा काटेर फालियो भने त्यसले बोटलाई सङ्क्रमण गर्न सक्दैन र उत्पादन बढ्छ ।’
सुन्तलामा अहिले विभिन्न खालका रोग देखिएको कारण जिल्ला कृषि विकास कार्यालय, चितवनले किसानलाई समुह समुह बनाएर सचेतना कार्यक्रम गर्ने गरेको उनले बताए । ‘सुन्तलामा फेद कुहिने, जरा कुहिने, टुप्पोबाट सुक्दै आउने र बोटमा ढुसी लाग्ने गरेको छ, यसको समाधानमा जिल्ला कृषि विकास कार्यालय, चितवन लागि परेको छ’ वागवानी अधिकृत थापाले भने । सुन्तलाको रुखमा कुनै समस्या देखिएमा तुरुन्त जिल्ला कृषि विकास कार्यालयमा खबर गर्न पनि थापाले आग्रह गरे । सुन्तलाको टुप्पो सुक्ने रोग लाग्न थालेको करिव पाँच वर्ष भएको वताउँदै थापाले भने,– ‘यो नयाँ रोग हो यसको उपचारको विधी पत्ता लागेको छैन, विरुवा रोप्ने बेलाबाट नै स्याहार पु¥याइएको खण्डमा टुप्पो सुक्ने रोग लाग्दैन ।’
सुन्तला खेतीमा देखिने समस्या र त्यसको समाधानको लागि जिल्ला कृषि विकास कार्यालयले समय समयमा सुन्तलाको पकेट क्षेत्रमा गएर सामुहिक रुपमा कृषकलाई प्रशिक्षण दिने गरेको थापाले बताए । ‘सुन्तलामा कुनै रोग देखिएको अवस्थामा कार्यालयबाट शिविर चलाएर भएपनि सकेसम्म रोगको नियन्त्रण तर्फ लागेका छौँ’ थापाले भने । सुन्तलामा रोग लागेर उपचार गर्नु भन्दा पहिले देखि नै बोट विरुवाको स्याहार सुसारमा लागियो भने उत्पादनमा वृद्धि हुने र सुन्तलाको बोटमा कुनैपनि रोगको संक्रमण हुन नसक्ने थापाले जानकारी दिए ।
चितवनमा उत्पादन भएको सुन्तला विशेष गरि मुग्लिङ वरिपरी कै क्षेत्रमा आधा जति खपत हुने गरेको भए पनि मुख्य गरेर काठमाडौँ, पोखरा, बुटवल, भैरहवा लगायतका सहरमा विक्री हुने गरेको थापाले जानकारी दिए । सुन्तलाको थोक विक्री मुख्य सहरहरुमा गरिने भए पनि मुग्लिङबाट विक्री गरिने सुन्तला सबै ठाउँका उपभोक्ताले उपभोग गरेका बताउँदै थापाले भने,– ‘चितवनको सुन्तला उत्पादन हुने दारेचोक राजमार्ग जोडिएको हुनाले यहाँको सुन्तला देशभरका उपभोक्ताले उपभोग गरेका छन् ।’