«

»

तनाव व्यवस्थापन शिविर शुरु

सञ्चारपत्र सम्वाददाता
नारायणगढ, १७ मंसिर
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, चितवनको आयोजनामा बुधबारदेखि नारायणगढको नारायणी नदी किनारमा ‘तनाव व्यवस्थापन एवम् आन्तरिक शान्ति अनुभूति शिविर’ शुरु भएको छ । शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।
शिविरमा प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, अन्तर्राष्ट्रिय मुख्यालय, माउण्ट आबू, राजस्थान, भारतबाट आएकी अन्तर्राष्ट्रिय ख्याती प्राप्त स्वव्यवस्थापन तथा व्यक्तित्व विकास विज्ञ, विदुषी, ब्रह्माकुमारी उषा दिदी स्रोत व्यक्तिको रुपमा रहेकी छन् ।
उक्त तनाव व्यवस्थापन एवम् आन्तरिक शान्ति अनुभूति शिविरको कृषिमन्त्री हरि पराजुलीले एक समारोहबीच उद्घाटन गरे । मन्त्री पराजुलीले आत्मज्ञानले मानिसको व्यक्तित्व विकासमा सहयोग गर्ने बताउँदै मनलाई शान्त र स्वस्थ राख्न ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले गरेको प्रवचन तथा प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द, नारायणगढकी मुख्य सञ्चालिका ब्रह्माकुमारी लक्ष्मीले आधुनिक जीवनमा देखापरेका विभिन्न दुव्र्यसनको अन्त्यका लागि प्रवचन उपयोगी हुने बताइन् । त्यस अवसरमा चितवनका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी मानबहादुर विके, मध्यक्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक रमेश खरेल, चितवनका प्रहरी प्रमुख सहकुल बहादुर थापालगायतको उपस्थिति थियो ।
चार हजार जनालाई बस्ने व्यवस्थासहित आयोजना गरिएको प्रवचन कार्यक्रम शुक्रबार सम्म बिहान ११ देखि १ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म गरी दुई सत्रमा सञ्चालन हुने आयोजकले जनाएको छ ।