«

»

‘नगरपालिका’ जहाँ बिजुली समेत छैन

madi ko bidhut ko durupayogतीर्थ नेपाल
भरतपुर, १७ मंसिर
चितवन निकुञ्ज पारीको दक्षिण पश्चिम क्षेत्र ‘माडी’ उपत्यकामा अझै बिजुली पुगेको छैन । सोही उपत्यकाको चार वटा गाउँ विकास समिति गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरीलाई समेटेर सरकारले मंगलबार नगरपालिका घोषणा गरेको छ ।
नगरपालिका घोषणा गर्नुपूर्व त्यस क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारमध्ये बिजुली बत्ती पुग्नुपर्ने प्रावधान पनि मुख्य हो । तर नयाँ घोषणा गरिएको माडी नगरपालिकाका बासिन्दा अझैपनि बैकल्पिक उर्जाको प्रयोग गर्न बाध्य छन् । धन हुनेले सोलार पावरबाट बत्ती बाल्छन् । बिपन्नलाई टुकी बत्तीकै सहारा छ ।
नवघोषित माडी नगरपालिकाको चारवटा गाविसमा गरी ३७ हजार छ सय ८३ जनसंख्या रहेको स्थानीय विकास मन्त्रालयको तथ्याङ्क छ । क्षेत्रफल दुई सय १८ वर्ग किलोमिटर छ । माडी नगरपालिकाको केन्द्र बघौडाको बसन्तपुर बजारलाई तोकिएको छ । चारवटा गाविसलाई एउटा नगरपालिका बनाउँदा १२ वटा वडा बनाउने सरकारको निर्णय छ ।
माडी बहुमुखी क्याम्पस बसन्तपुर, जनजीवन उच्चमावि अयोध्यापुरी र सोमेश्वर उच्चमावि गर्दी गरी माडी उपत्यकामा एउटा क्याम्पस र दुईवटा उच्चमावि रहेका छन् । यहाँ स्वास्थ्य सेवाको पनि उत्तिकै समस्या छ । अयोध्यापुरीको खरकट्टामा स्वास्थ्य चौकी छ तर दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन् । बघौडाको बसन्तपुरमा अस्पताल छ, चिकित्सक छैनन् । गर्दी र कल्याणपुरमा पनि उपस्वास्थ्य चौकी छ आवश्यक स्वास्थ्यकर्मी छैनन् ।
साविक अयोध्यापुरी गाविसको वडा नम्वर ९ मा पर्ने बाँदरझुलाको अवस्था झनै कहालीलाग्दो छ । विकास र पूर्वाधारको अभावमा स्थानीयबासीलाई नगरपालिका घोषणा हुनु ‘कागलाई बेलपाक्यो हर्ष न बिस्मात’ भएको गाविस सचिव देवप्रसाद पौडेल बताउँछन् । बाँदरझुला बस्ती जङ्गलको बीचमा पर्छ । यस बस्तीको जनसङ्ख्या ३५ सयको हाराहारीमा रहेको सचिव पौडेलले जानकारी दिए । अधिकांश सुकुमवासी र बिपन्न रहेका बाँदरझुलावासी टुकीकै सहारामा रात बिताउने गरेका पौडेलले बताए ।
राष्ट्रिय निकुञ्जको जङ्गल हुँदै बिजुलीको तार लैजानुपर्ने भएकाले माडीको बिद्युतीकरणमा ढिलाइ भएको हो । जमिन मुनीबाट तार लगिए पनि बघौडा गाविसको बसन्तपुर बजार नजिक निर्माण भैरहेको शवस्टेशन निर्माणको काम पूरा हुन नसक्दा माडीमा बिद्युत प्रवाह गरिएको छैन ।
आर्थिक वर्ष ०५५÷०५६ सालबाट माडीमा बिजुली पु¥याउन काम थालिएको थियो । बसन्तपुरमा ३३ केवी क्षमताको सव स्टेशनको निर्माण भैरहेको छ । निर्माणको जिम्मा लिएको शैलुङ निर्माण सेवाका गणेश बञ्जारा सामान्य पोलले काम नगरेपछि टावर निर्माण गर्नु परेको बताउँछन् ।
सरकारले चितवनको भरतपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउँदै माडीमा र पश्चिम चितवनमा नारायणी नगरपालिका गरी दुई नगरपालिका थप गरेपछि चितवन जिल्लामा नगरपालिकाको सङ्ख्या पाँच पुगेको छ । पश्चिम चितवनमा यसअघि चित्रवन नगरपालिका घोÈणा गरिएको थियो भने पूर्वी चितवनमा खैरहनी नगरपालिका घोÈणा गरिएको थियो । पूर्वी चितवनको रत्ननगर नगरपालिका भने जिल्लाको दोस्रो नगरपालिका हो ।
प्रस्तावित भरतपुर उपमहानगरपालिकालाई औपचारिक निर्णय गरिएसँगै जिल्लामा पहिलो उपमहानगरपालिका बनेको हो । भरतपुरलाई उपमहानगरपालिका बनाउन छिमेकी गाविस मङ्गलपुर, गीतानगर, शिवनगर, फुलबारी र पटिहानी गाविसलाई समेत समेटिएको छ । त्यस्तै, नारायणी नगरपालिकामा जगतपुर, पार्वतीपुर, शुक्रनगर र मेघौली गाविस समेटिएका छन् । रत्ननगर नगरपालिकामा बछ्यौली र पिठुवा गाविस गाभिएको छ ।