«

»

निजीमा समातिए क्यान्सरका डाक्टर

Sanjaya Shahaसुवास पण्डित
भरतपुर, १५ मंसिर
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका एक डाक्टर कार्यालय समयमा निजी क्लिनिकमा काम गर्दागर्दै समातिएका छन् ।
क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डाक्टर सञ्जय कुमार साह सोमबार सगरमाथा डायग्नोष्टिक सेन्टर भरतपुरमा काम गर्दागर्दै समातिएका हुन् । उनले क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा अल्ट्रासाउण्ड र सिटी स्क्यान गराउँदै आएका थिए ।
क्यान्सर अस्पतालमा आएका बिरामीलाई निजी डायग्नोष्टिक सेन्टरमा बोलाएर एक्सरे गर्दागर्दै डाक्टर साहलाई नागरिक समाजका व्यक्तिहरुले सोमबार दिउँसो पौने १ बजे पक्राउ गरि क्यान्सर अस्पताल भित्र रहेको प्रहरीलाई बुझाएका थिए । प्रहरीले साहलाई अस्पतालका कार्यकारी निर्देशक डाक्टर सिवि पुन र उप कार्यकारी निर्देशक डाक्टर देज कुमार गौतम समक्ष बुझाएको थियो ।
डाक्टर साह नर्मदा बिसिको यूएसजी गर्दै गर्दा पक्राउ परेका थिए । करार सेवामा रहेका साहले पटक पटक कार्यालय समयभित्र बिरामीलाई अस्पताल बाहिर बोलाइ एक्सरे, सिटी स्क्यान गराउँदै आएका थिए । उनीमाथि नागरिक समाजका अगुवाहरुले निगरानी गर्दै आएका थिए ।
“कार्यालय समयमा पटक पटक बाहिर आएर बिरामी जाँचेको देख्यौँ, भेट्यौँ, अति भयो भनेर हामीले समातेर प्रहरीलाई बुझाएका हौँ,” नागरिक समाजका अगुवा दधिराम गौतमले भने, “अब अन्य चिकित्सक जो अस्पतालको कार्यालय समयमा निजी क्लिनिक वा निजी अस्पतालमा जान्छन् तिनलाई पनि समातेर प्रहरीलाई बुझाउँछौँ ।”
गौतमले आफुहरु चौबिसकोठी लगायतका चोक चोकमा खटिएर क्यान्सर अस्पताल ध्वत बनाउन खोज्ने, अस्पताललाई ट्रान्जिट बनाएर निजीमा गएर कमाउ धन्दा गर्ने डाक्टर तथा कर्मचारीहरुलाई नछाड्ने बताए । साह पक्राउ परेको विषयलाई लिएर नागरिक समाजका अगुवा तथा क्यान्सर अस्पताल प्रशासनबीच छलफल समेत भएको थियो ।
छलफलमा नागरिक समाजका अगुवाहरुले अस्पतालका कर्मचारी तथा चिकित्सक कार्यालय समय भन्दा अगावै खाना खाने बहानामा निजी अस्पताल तथा क्लिनिकमा जाने गरेका तर प्रशासनले यसलाई रोक्न पहल नगरेको भन्दै असन्तुष्टि पोखेका थिए । क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर सिवि पुन, उप कार्यकारी निर्देशक डाक्टर देज कुमार गौतम र बिजय न्यौपानेको उपस्थितिमा भएको छलफलमा अबदेखि कर्मचारी तथा चिकित्सकहरु कार्यालय समयभित्र निजी क्लिनिक तथा अस्पतालमा गएमा निगरानी गर्ने र आवश्यक कारवाहीको प्रकृया पनि तुरुन्त थाल्ने सहमती भएको छ ।
“साह एक पात्र हुन्, यस्तो प्रवृत्ति क्यान्सर अस्पतालमा छ, यसले सवैलाई सचेत बनाउने छ” उप कार्यकारी निर्देशक डाक्टर देज कुमार गौतमले भने– “अस्पताल प्रशासनले यस्ता मनपर्दी क्रियाकलापहरुलाई कडाई गर्न शुरु गरिसकेको छ ।”
क्यान्सर अस्पतालका डाक्टरहरु कार्यालय समयमै निजी क्लिनिक तथा अस्पतालमा गएर बिरामी जाँच गर्ने तथा क्यान्सर अस्पतालमा आएका बिरामीलाई चिट लेखेर निजी अस्पतालमा पठाउने गर्दै आएका छन् । बिरामीलाई चिट लेखेर पठाए बापत डाक्टरहरुले निजी अस्पतालबाट मोटो रकम कमिसन पाउने गर्दछन् । क्यान्सर अस्पतालका डाक्टरहरुको यस्तो कार्यको बिरोध हुँदै आएपनि अस्पतालले कारवाही गर्न नसक्दा उनीहरुको प्रवृत्ति ज्यूँका त्यूँ छ ।