«

»

क्यान्सर अस्पतालका कर्मचारीको राहत

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १८ जेठ
भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण कर्मचारीहरुबाट उठाइएको रकम सोमबार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
अस्पतालमा कार्यरत सबै तहका कर्मचारीहरुको तीन दिनको तलब बराबरको रकम १३ लाख ८३ हजार चार सय ५७ रुपैयाँ ३८ पैसा प्रधानमन्त्री सुशील कोइराला मार्फत प्रधानमन्त्री राहात कोषमा हस्तान्तरण गरिएको हो । क्यान्सर अस्पताल सञ्चालक समितिका सदस्य राम प्रसाद न्यौपाने, कार्यकारी निर्देशक सिवी पुन र उप कार्यकारी निर्देशक देजकुमार गौतमले संयुक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नै पुगेर अस्पतालका पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरुले सो रकम उपलब्ध गराएका हुन् । रकम लिँदै प्रधानमन्त्री कोइरालाले कर्मचारीहरुले आफ्नो तलबबाट कटाएर उपलब्ध गराएको रकमको सदुपयोग हुने र भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माणमा खर्च गरिने प्रतिक्रिया दिए । प्रधानमन्त्री राहत कोषमा दिएको रकम दुरुपयोग हुन्छ कि भनेर आम जनतामा भ्रम फैलाउने कार्य भएको भन्दै, प्रधानमन्त्री राहात कोषमा जम्मा भएको रकम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मार्फत योजनाबद्ध तरिकाले खर्च हुने र त्यसको सार्वजनिक लेखा परीक्षण समेत हुने कुरा बुझाउन आवश्यक रहेको प्रम कोइरालाले बताए ।
रकम हस्तान्तरणका अवसरमा क्यान्सर अस्पताल सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपानेले महाभूकम्प पीडितहरुलाई सम्पूर्ण नेपालीहरुले एक भएर सहयोग गर्नुपर्ने अवस्थाको बोध गरेर नै यो अभियान चलाइएको बताए । देशमा विपत्त् पर्दा सहयोग गर्नु हरेक नागरिकको दायित्व भएको भन्दै न्यौपानेले प्रधानमन्त्रीलाई पुनर्निर्माणको कार्य अघि बढाउन आग्रह गरेका थिए ।