«

»

गर्मीले छालाका बिरामी बढे

sweat-300x300प्रकाश सिग्देल
भरतपुर, १८ जेठ
बढ्दो गर्मीका कारण चितवनका अस्पतालहरुमा छालाका बिरामीहरुको चाप बढ्दै गएको चिकित्सकले बताएका छन् ।
चितवनलगायत तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेपछि अस्पतालहरुमा छालाका समस्या भएका बिरामीहरुको चाप बढेको चितवन मेडिकल कलेज भरतपुरका छाला रोग विशेषज्ञ डा. अच्युत पोख्रेलले बताए । चितवन मेडिकल कलेजमा मात्रै दैनिक ७० भन्दा बढि बिरामी हरु छालाको समस्या लिएर आउने गरेको डा.पोख्रेलको भनाई छ ।
पछिल्ला केही दिन यता चितवनमा गर्मी बढेर ३८ डिग्रि सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मी भएपछि मानिसमा छाला सम्बन्धी रोगको सङ्क्रमण बढेकोले जिल्लाका सबै अस्पतालमा छाला रोगका बिरामीको चाप बढेको डाक्टर पोख्रेलले बताए ।
गर्मीका कारण छालामा खोईरो लाग्ने (कपाल झर्ने रोग), दाद, दुबी, सेतो र रातो घमौरा, चिलाउने र पास्नी रोग, पसिनाको एलर्जी, डडुवा रोग, डण्डीफोर बढेर आउने लगायतका समस्या भएका बिरामीहरुको चाप रहेको पोख्रेलले जानकारी दिए । दिउँसो अत्यधिक गर्मी बढ्र्ने र साँझ अत्यधिक हावाहुरी लाग्ने र त्यसले गर्मीको समयमा लाग्ने रोगको संक्रमण बढाउन सक्ने भन्दै घाम र हावाहुरीबाट बच्न डा.पोख्रेलको सुझाव छ ।
गर्मीका कारण छालामा कुनै समस्या आएमा तुरुन्तै चिकित्सककोमा पुगेर रोगको पहिचान र उपचार गर्नुपर्ने डा. पोख्रेलको सल्लाह छ । चितवनमा अत्यधिक गर्मी बढेपछि बाहिर निस्कन र दैनिक कार्य गर्न पनि समस्या भएको सिमा सुरक्षा बल आपटारीका प्रमुख शम्भु उप्रेतीले बताए ।
गर्मीका कारण रोगको जोखिम समेत उच्च हँुदै गएको छ । बढ्दो गर्मीसंगैै यससँग सम्बन्धित विभिन्न रोगहरुको सङ्क्रमण र जोखिम बढेको भरतपुर अस्पतालका डाक्टर प्रकाश खतिवडाले बताए । गर्मीमा फोहोर पानीका कारण सर्ने झाडापखाला, हैजालगायतका रोगको जोखिम हुने उनको भनाई छ ।
कहिले पानी पर्ने तथा कहिले चर्को घाम लाग्नेक्रम निरन्तर रहेमा भाइरल ज्वरो पनि फैलन सक्ने डाक्टर खतिवडा बताउँछन् । यस्ता रोगहरु छिट्टै नै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सबैलाई सजग रहन खतिवडाको आग्रह छ ।
गर्मी बढेसँगै तराई क्षेत्रमा लामखुट्टेको अत्यधिक वृद्धि हुनाले यसको टोकाईबाट फैलने मलेरिया, डेङ्गुजस्ता रोगहरुको पनि उच्च जोखिम रहने भएकोले सजग रहन चितवन अस्पताल भरतपुरका निर्देशक फिजिसियन डा विजय पौडेलको आग्रह छ । गर्मीमा बढी मेहनत गरेर काम गर्नेहरुको बढी पसिना निस्कने भएकाले त्यसबाट शरीरमा समस्या उत्पन्न हुन नदिन पानी प्रशस्त पिउन उनको सुझाव छ ।
शरीरको तापक्रम सन्तुलनमा राख्न पानी अधिक पिउनुपर्ने डाक्टर पौडेल बताउँछन् बताउनु हुन्छ । गर्मीमा प्रदुषण समेत धेरै हुने भएकाले लामो बाहुला भएको कपडा लगाएर हिडेमा र माक्सको प्रयोग गर्न सकेपनि छालाको रोगमा कमी आउने पौडेलले बताए । गर्मीमा बाहिरबाट घर आउँदा साबुन पानीले हात धुने, नुहाउने, वरपरको वातावरण सफा राख्ने, सधैँ पानी उमालेर पिउने, खानेकुरा अपच हुने तरिकाले नखाने, बासि र अस्वस्थकर जस्तो देखिने खानेकुरा नखाने, बढी तनाव नलिने र राती सुत्ने बेला बिस्तारा राम्रोसँग टक्टक्याएर सुत्ने लगायतका कुरामा ध्यान दिन सके गर्मीको कारण हुने रोगबाट बच्न सकिने डा. पौडेल बताउँछन् ।