«

»

त्रिवेणीको एकीकृत कारोबार सुरु

IMG_20150601_133041सञ्चारपत्र सम्वाददाता
भरतपुर, १८ जेठ
त्रिवेणी विकास बैंकले ब्राइट र पब्लिक विकास बैँकसंग गाभिएर सोमबारबाट एकीकृत कारोबार सुरु गरेको छ । गाभिएपछि त्रिवेणी विकास बैंकको चुक्ता पूँजी ७४ करोड रुपैयाँ पुगेको छ । बैँकको निक्षेप छ अर्ब ४२ करोड रुपैयाँ र कर्जा पाँच अर्ब ६० करोड भएको बैँकले जनाएको छ । यसैगरी बैँकमा अब २० शाखा, दुइ एक्स्टेन्सन काउण्टर, छ सीमित इकाइ र तीन एटिएम रहनेछन् ।
मुलुकको वित्तीय बजार सुदृढिकरणको लागि नेपाल राष्ट्र बैँकले लिएको बैँक तथा वित्तीय संस्था एकापसमा गाभिने नीतिलाई आत्मसात गर्दै सुदृढ वित्तीय संस्थाको रुपमा त्रिवेणीलाई विस्तारित गर्न सकिएको बैँकका अध्यक्ष लंकबहादुर के.सी.ले सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘तीनवटा विकास बैँक गाभिएर अब त्रिवेणीबाट एकीकृत कारोबार सुरु गरिएको छ । अब हामीलाई देशको जुनसुकै भागमा गएर पनि आर्थिक कारोबार गर्ने ढोका खुलेको छ ।’–पत्रकार सम्मेलनमा अध्यक्ष के.सी.ले भने ।
बैँकको एकीकृत कारोबारको शुभारम्भ बैँकका अध्यक्ष के.सी.ले केन्द्रीय कार्यालय भरतपुरबाट सोमबार विहान गरेका थिए । एकीकृत भएपछि त्रिवेणी बैँकका अब ९० हजार निक्षेप ग्राहक, सात हजार कर्जा ग्राहक र दुइसय नौजना कर्मचारी भएका छन् ।
बैँकको निकट भविष्यमै काठमाडौँ उपत्यकामा कर्पोरेट अफिससहित शाखा र देशको प्रमुख व्यापारिक एवम् ग्रामिण क्षेत्रमा थप शाखा खोली कारोवार विस्तार गरिने बैकका प्रमुख कार्यकारी अधिकृत सागरकुमार घिमिरेले जानकारी दिए । पत्रकार सम्मेलनमा बैँकमा गाभ्ने र गाभिने प्रक्रियामा सहयोग गर्ने नियमनकारी निकायलाई घिमिरेले धन्यवाद व्यक्त गरेका थिए ।