«

»

रत्ननगर रोटरीको चार्टर डे सम्पन्न

सञ्चारपत्र सम्वाददाता
रत्ननगर, १८ जेठ
रोटरी क्लब अफ रत्ननगरको १५ औँ ‘चार्टर डे सेरेमोनी’ सम्पन्न भएको छ । चार्टर डेका अवसरमा आयोजित कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले क्लबका सदस्यले सक्रियताका कारण १५ औँ स्थापना दिवस मनाउन सकेकोमा सबै रोटरीयनलाई धन्यवाद दिए ।
रत्ननगर नगरपालिकाकी कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले क्लबले मानवीय र सामाजिक क्रियाकलापमा समेत उदाहरणीय कार्य गर्दै आएकोमा धन्यवाद दिँदै नगरपालिकाका तर्फबाट सक्ने सहयोग गर्न तत्पर रहेको बताइन् । सोही समारोहमा होटल स्टार ब्याङ्क्वेटका प्रबन्ध सञ्चालक एवम् रोटरीयन भेषराज दुवाडीले आफ्नो होटलको कार्यक्रम कक्षलाई रोटरी हल नामाकरण गरेका थिए ।
क्लबका अध्यक्ष मधुपकुमार भट्टराईले वैशाख १४ गते भूकम्पपीडित घाइतेलाई रगतको अभाव नहोस् भनेर आफ्नै संयोजनमा एक सय ४४ जनाद्वारा रक्तदान गरिएको उल्लेख गरे । यस्तै, १५ गते रत्ननगरका व्यवसायीहरुबाट संकलित सय कार्टुन पानी काठमाडौँमा लगेर वितरण गरिएको जानकारी दिए ।
रोटरी क्लबकै अगुवाइमा चितवन गुराँस इन्भेष्टमेन्ट प्रालि र पण्डित नारायणप्रसाद पोखरेल प्रतिष्ठानको सहयोगमा संकलित राहत गोरखाको बगुवा, खान्चोक भञ्ज्याङ, तान्द्राङलगायतका ठाउँमा वितरण गरिएको उनले जनाए । सो क्रममा दुई सय बोरा चामल, त्रिपाल, चिउरा, कम्मललगायतका सामग्री हस्तान्तरण गरिएको भट्टराईले बताए ।
निराजन खनालको संयोजकत्वमा सञ्चालित कार्यक्रममा रोटरीका डिस्ट्रिक्ट सेक्रेटरी भोजराज कौडाल, रत्ननगर नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेल, रनपाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्र लामिछानेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम क्लबका अध्यक्ष मधुपकुमार भट्टराई ‘माधव’को अध्यक्षतामा सम्पन्न भएको थियो ।