«

»

त्रासकाबीच अध्ययन गर्दै विद्यार्थी : भत्किएको भवनमै पढाई सुरु

student harrarseकरुणा देवकोटा
लोथर, १८ जेठ
वैशाखमा आएको महाभूकम्पको कारण बस्ने घर र अध्यनन गर्ने विद्यालयमा क्षति पुगेपछि लोथर गाविसका बालबालिकाहरु अझै पनि भूकम्पको कारणले भत्किएको भवनमा त्रासमा नै बसेर अध्ययन गर्न बाध्य भएका छन् ।
वैशाखको १२ गते आएको महाभूकम्प र त्यसपछि पटक पटक आएको पराकम्पनका कारण लोथर गाविसको वडा नम्बर १, चात्राङमा रहेको कालिका राप्राविको केही भवन भत्किएका छन् भने सबै भवन चर्किएका छन् । भूकम्पले आफ्नो घर र विद्यालय दुवै भत्काएपछि अहिले विद्यालयको कोठामा बसेर पढ्न समेत डर लाग्ने गरेको उक्त विद्यालयमा कक्षा ४ मा पढ्ने निशा लामाले बताएकी छिन् । यस भन्दा अगाडि यसरी घर भत्किएर घर बाहिर सुत्नुपरेको थाहा नपाएको बताउने निशालाई फेरि पनि भूकम्प आउँछ कि भन्ने डर मात्र लागिरहने बताउँछिन् ।
निशा मात्र नभई सोही विद्यालयमा कक्षा १ मा पढ्ने सन्तोष प्रजालाई समेत भूकम्पको कारणले डर लाग्ने गरेको छ । भूकम्पको कारणले आफ्नो घर समेत भत्किएपछि सन्तोष अहिले अस्थायी रुपमा निर्माण गरिएको टहरामा बस्दै आएका छन् । साथै विद्यालयमा समेत भत्किएका र चर्किएका कक्षाकोठा भित्र डरमा अध्ययन गर्न बाध्य भएका छन् विद्यार्थीहरु ।
गत वैशाख १२ गते आएको भूकम्पको कारणले विद्यालय भवनमा क्षति पु¥याएसँगै अहिले विद्यार्थीहरुलाई त्रासमुक्त वातावरणमा अध्ययन अध्यापन गराउन समस्या भएको विद्यालयका प्रधानाध्यापक वेचन चौधरीले जानकारी दिएका छन् । भूकम्पको कारणले विद्यालयका भित्ताहरु चर्किएर फुटेका छन् भने भवनका गाह्रोमा लगाएका ईंटाहरु समेत फुटेर कक्षा कोठामा ढल्ने खतरा छ ।
जिल्ला शिक्षा कार्यालय, चितवनबाट त्रिपालको व्यवस्था हुन्छ भनेर भनेको भएपनि त्रिपालले समस्या नटर्ने विद्यालयका शिक्षक चन्द्रप्रसाद अधिकारीले बताए । उपलब्ध स्रोत साधनको प्रयोग गरेर अस्थायी टहराहरु निर्माण गरी विद्यार्थीलाई पढ्ने वातावरण मिलाउन जिल्ला शिक्षा कार्यालयले भनेको भएपनि जनशक्तिको अभाव, स्थानीय स्रोत साधको अभावले गर्दा त्यो सम्भव नहुने अधिकारीको भनाइ छ । हाल विद्यालयमा छाइएको जस्तापाता र त्यहाँ प्रयोग भएका र पुनः प्रयोग गर्न मिल्ने काठहरुलाई प्रयोगमा ल्याउन समेत जस्ताहरु, काठहरु निकाल्ने मान्छेको अभाव भएको अधिकारीले दुखेसो पोखे ।
स्थानीय बासिन्दाको घरहरु समेत बस्नै नमिल्ने गरी भत्किएकाले आफ्नै लागि समेत अस्थायी टहरा निर्माण गर्न त्यहाँका बासिन्दालाई समस्या हुने गरेको अधिकारीले बताए । विद्यालयका शिक्षकहरुको सङ्ख्या पनि थोरै भएको र भएको शिक्षकहरुले पनि विद्यालय भवन बनाउने वा बालबच्चाहरुलाई पढाउने भन्ने समस्या रहेको शिक्षक अधिकारीले बताए । विद्यालयको भवन भत्किएको भनि फोटोहरु पठाएर जानकारी गराएको भएपनि अहिलेसम्म निरीक्षणको लागि जिल्लाबाट कोही पनि नपुग्दा कक्षाकोठाहरु कति जोखिम मुक्त छन् भन्ने कुराको समेत जानकारी नभएको अधिकारीले बताए ।
सरकारले भत्किएका भवनहरु पुनर्निर्माण गर्न भन्दै तत्कालका लागि १५ हजार रुपैयाँ दिने घोषणा गरेपनि विद्यालयले नपाएको प्रधानाध्यापक वचन चौधरीले दुखसे पोखे । सरकारले प्रदान गर्ने १५ हजार रुपैयाँले पनि यस विद्यालयको समस्या नटर्ने चौधरीले बताए । चात्राङ गाउँमा दक्ष जनशक्तिको अभाव र भौगोलिक रुपमा समेत विकट रहेकाले १५ हजार रुपैयाँ तत्कालको लागि समेत प्रयाप्त नहुने चौधरीले बताए ।
जिल्ला शिक्षा कार्यालय चितवनबाट तत्कालका लागि विद्यालय पुनर्निण गर्न पहल नभए वर्षात्को समयमा विद्यालय सञ्चालन गर्न अप्ठेरो पर्ने चौधरीले बताए । ‘भूकम्पका कारण विद्यालयका सबै भवनहरु चर्किएका छन्’ चौधरीले भने, –‘अब वर्षात् सुरु भएपछि हावा र पानी आउँदा कति बेला भवन भत्किने हो थाहा छैन ।’ त्रासकै बीचमा विद्यालयमा पढाई सञ्चालन गर्नुपर्ने आफूहरुको बाध्यता रहेको चौधरीले बताए ।