«

»

सम्पादकीय : विद्यालय बन्द हुँदाको शुल्क नलेउ

निजी तथा आवासीय विद्यालयले भूकम्पका कारण पठनपाठन ठप्प भएपनि विद्यालय बन्द भएको बेलाको शुल्क लिने भएका छन् । भूकम्पका कारण पठनपाठन ठप्प भएपनि आफूहरुले घरभाडा र शिक्षकको तलब दिनुपर्ने भन्दै अभिभावकसँग बन्द भएको बेलाको शुल्क लिने उनीहरुको भनाई छ । प्याब्सनले भूकम्पका कारण विद्यालय पनि क्षतिग्रस्त भएको र विद्यालयको सबै खर्चको स्रोत शुल्क भएकाले शुल्क मिनाहा नगर्ने बताएपछि अभिभावकहरु झनै पिडामा परेका छन् । भूकम्पपछि विद्यार्थीहरुले स्कूल गएर राम्रोसंग पढ्न पाएका छैनन् । अझ स्कूल गए पनि सामान्य अवस्थामा पठनपाठन गर्न अझै कठिन छ । यस्तो बेला निजी विद्यालयहरुले आन्तरिक स्रोतबाटै भएपनि आफ्ना खर्च धानेर विद्यार्थीहरुसंग नपढाएको बेलाको शुल्क लिन जायज देखिँदैन ।
वैशाख २ गते नयाँ शैक्षिक सत्र सुरु भएपछि भूकम्प प्रभावित अधिकांश निजी विद्यालयमा अहिलेसम्म पठनपाठन भएको छैन भने पठनपाठन सुरु गरेका विद्यालय पनि वैशाख १२ गतेको भूकम्पपछि बन्द छन् । प्याब्सन आफैंले १२ गतेको भूकम्पपछि विद्यार्थीको २६ दिनको पठनपाठन रोकिएको बताएको छ । भूकम्पका कारण रोकिएको पठनपाठन गर्मी र जाडो तथा चाडबाड र परीक्षा विदा कटौती गरेर सञ्चालन गरिने प्याब्सनले बताएपनि विद्यार्थीहरुमा अझै त्रास कायमै छ । अभिभावकलाई पनि एकातिर त्रास छ भने अर्कोतिर प्राकृतिक विपत्तिको सामना कसरी गर्ने अनि दैनिक गुजारा कसरी गर्ने भन्ने चिन्ता व्याप्त छ । यस्तो बेला शुल्कको भारले उसलाई थप चिन्ता निम्त्याउँछ ।
अहिले बालबालिकाको हातमा किताब छैन । विद्यार्थीसँग विद्यालयको पोशाक छैन । भूकम्प पीडित बालबालिकाका लागि किताब, पोशाक तथा खाना व्यवस्था गरिएन भने यसले अझ ठूलो समस्या निम्त्याउँछ । बिनासकारी भूकम्प र यसपटि आइरहेका पराकम्पले धेरै मानिस अहिले पनि त्रासमा छन् । झन बालबालिकामा भूकम्पको त्रास बढी नै छ । बालमनोभावनामा गहिरो चोट त छ त्यसमाथि बालबालिकाहरु यौन दुवर््यवहारमा पर्ने, बेचबिखनमा पर्नसक्ने सम्भावना पनि बढी छ । बालबालिकालाई मनोरञ्जनात्मक गतिविधि तथा खेलकुद मार्फत शिक्षा प्रदान गर्ने र सँगै स्वास्थ्य र सरसफाईका बारेमा अभ्यास गराउने, मनोविमर्श सेवा सुरु गर्नुपर्छ ।
निजी विद्यालयका केही समस्या छन् भने सरकार उनीहरुको समस्याप्रति गम्भीर हुनुपर्छ । समस्याको थुप्रोले अभिभावकको ढाडमा सेकाउने हो भने अभिभावकहरु कहिल्यै पनि निजी विद्यालयप्रति सकारात्मक देखिँदैनन् । प्याब्सनको यतिबेला परीक्षा लिन चाहिरहेका छन्, अभिभावकहरुले । यतिबेला त विद्यालय खुलेपनि नियमित पठनपाठनको सट्टा परामर्श र मनोरञ्जनका कक्षा सञ्चालन गरिनुपर्छ । निजी विद्यालयले एक महिनाको शुल्क लिँदैमा उसको सबै समस्या समाधान हुने पनि होइन । कम्तिमा विपत्तिका बेला स्कूल बन्द भएको बेलाको शुल्क नमाग्नका लागि यतिबेला विद्यार्थी संगठनहरुले समेत चासो देखाउनुपर्छ ।