«

»

केबुलकार खुल्न अझै एक साता लाग्ने

cablecarसञ्चारपत्र सम्वाददाता
मुग्लिङ, १७ जेठ
वैशाख १२ गते आएको महाभूकम्प र २९ गते आएको पराकम्पकम्नका कारण बन्द भएको नेपालको एक मात्र केबुलकार सञ्चालनमा आउन अझै एक हप्ता लाग्ने भएको छ ।
वैशाख १२ गते आएको शक्तिशाली भूकम्पका कारण बन्द भएको केबुलकार बीचमा तीन दिन खुलेर फेरि बन्द भएको हो । महा भूकम्पपछि स्थिति सामान्य बन्दै गएपछि वैशाख २७ गतेदेखि सञ्चालनमा आएको केबुलकार वैशाख २९ गतेको ठूलो पराकम्पनका कारण फेरि बन्द हुन पुग्यो ।
भूकम्पका कारण मनकामना मन्दिरमा पूजाआजा रोकिएका कारण केबुलकार बन्द गरिएको मनकामना केबुलकार दर्शन प्रालिका नायब महा प्रबन्धक डीएन कायस्थले बताए । मन्दिरमा दैनिक रुपमा पूजाआजा सुरु हुन थालेपछि केबुलकार सञ्चालन गरिने कायस्थले बताए । भूकम्पका कारण केबुलकामा कुनै क्षति नभएको भएपनि मन्दिर जीर्ण अवस्थामा पुगेको कारण केबुलकार सञ्चालन नगरिएको कायस्थले जानकारी दिए ।
केबुलकार सञ्चालनमा नआएपछि मनकामना दर्शनका लागि आएका यात्रुहरु केबुलकारको गेटमा पूजा गरेर फर्किने गरेका कायस्थले बताए । मनकामना दर्शनको लागि केबुलकार मार्फत दैनिक रुपमा तीन हजार भन्दा बढी दर्शनार्थीहरु आवत जावत गर्ने गरेका कायस्थले बताए । ‘सामान्य दिनमा तीन हजार भक्तजनहरु केबुलकार मार्फत मनकामना दर्शन गर्न जाने गर्दथे’ कायस्थले भने, –‘शनिबार तथा बिदाको दिनमा पाँच हजार भन्दा धेरै भक्तजनहरु केबुलकार मार्फत पूजा गर्न जाने गरेका थिए ।’
अहिले केबुलकार बन्द हुँदा दैनिक ३० लाख रुपैयाँसम्म घाटा परेको कायस्थले बताए । केबुलकार बन्द भएपछि आइतबारसम्म करिब पाँच करोड रुपैयाँ नोक्सान भएको कायस्थले जानकारी दिए । केबुलकार मार्फत वार्षिक रुपमा १० लाख भक्तजनहरु मनकामना दर्शनको लागि पुग्ने गरेका कायस्थले बताए ।
केबुलकारदेखि मनकामनासम्म साढे तीन किलोमिटरको बाटोमा २० वटा टावरको सहायताले केबुलकार सञ्चालन गरिएको छ । केबुलकार चालु हुँदा ३१ वटा डीब्बाबाट मासिन ओसार्ने गरिन्छ भने सामान बोक्नको लागि तीन वटा डब्बा राखिएको छ ।
यसैबीच, वैशाख १२ गते आएको महाभूकम्पका कारण मनकामना मन्दिर एक फिट दक्षीण पश्चिम तर्फ झुकेको मन्दिर जीर्णोद्धार व्यवस्थापन समितिका अध्यक्ष रञ्जन श्रेष्ठले बताए । भूकम्प आउन भन्दा अगाडि नै छ इञ्च कोल्टे परेको मन्दिर भूकम्पका कारण थप कोल्टे पर्दा दैनिक पूजाआजा रोकिएको श्रेष्ठले बताए । हाल मन्दिरलाई टेको लगाएर अड्याइएको समेत श्रेष्ठले जानकारी दिए ।
‘मन्दिर जीर्ण बनिसकेका कारण त्यसको जीर्णोद्धार गर्ने तयारी भइरहेको थियो’ श्रेष्ठले भने, –‘भूकम्पले असर नगरेको भए वैशाखको २१ गतेदेखि मन्दिर भत्काउने तयारी गरेका थियौँ ।’ अहिले मन्दिरमा नित्य पूजापाठ बाहेक भक्तजनको पूजा नभएको जीर्णोद्धार समितिका अध्यक्ष श्रेष्ठले बताए । पूजा पाठको लागि पैदल हिडेर मन्दिरमा पुगेका भक्तजनहरु मन्दिरको बाहिरबाटै पूजा ग रेर फर्किने गरेका समेत श्रेष्ठले बताए ।
भूकम्पले मन्दिर कोल्टे बनाएपछि पूजारीले भित्र गएर भक्तजनको पूजा गराउन नमानेका कारण भक्तजनहरु बाहिरबाटै पूजा गर्दै फर्किने गरेका श्रेष्ठले बताए । ‘हामीले मन्दिर भत्काउने तयारी गरेका छौँ’ श्रेष्ठले भने, –‘मन्दिर भत्काएर सकिएपछि दैनिक पूजा सुरु हुन्छ ।’ मन्दिरको जीर्णोद्धार गर्नको लागि एक वर्ष लाग्ने बताउँदै त्यसको लागि साढे चार करोड रुपैयाँ सङ्कलन भइसकेको श्रेष्ठले बताए ।