«

»

एमालेले तीन दिनमा १५ घर बनायो

yemale

काउलेमा भूकम्पबाट भत्किएको घर पुनर्निर्माण गर्दै एमाले स्वयम् सेवा अभियानमा सहभागी युवा ।

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १७ जेठ
चितवनका भूकम्प अति प्रभावित गाउँ विकास समितिमा खटिएका एमाले नेता कार्यकर्ताहरुले तीन दिनमा १५ वटा अस्थायी घर तथा टहरा निर्माण गरेका छन् ।
नेकपा एमाले चितवनले परिचालन गरेको स्वयम् सेवा अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरुले भूकम्पले भत्काएका भग्नावशेष पन्छाएर घर तथा टहराहरु निर्माण गरेका हुन् । स्वयम् सेवा अभियानका लागि पहिलो चरणमा दारेचोक, सिद्धी, लोथर र काउलेमा सात दिनका लागि एक सय २० जना कार्यकर्ता खटिएका छन् । उक्त टोली फर्किएपछि सात लिनका लागि अर्को टोली पठाउने एमाले चितवनले जनाएको छ ।
आईतबारसम्म लोथर–३ यौरालीटारमा फूलबहादुर तामाङ, लोथर–६ वासवाङमा शेरबहादुर चेपाङको घर निर्माण गरिएको एमाले चितवनका प्रचार विभाग प्रमुख अरुणपीडित भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार दारेचोक–६ नागदहमा नरबहादुर गुरुङ, दारेचोक–७ नरसिंहटारमा विष्णु गुरुङ र बलबहादुर गुरुङ, दारेचोक–२ चैबुङमा मेघबहादुर गुरुङ, नरमाया गुरुङ, टेकबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, सरिता गुरुङ र तेजबहादुर गुरुङको घर एमाले स्वयम् सेवक अभियानले निर्माण गरेको छ ।
त्यस्तै काउले–८, मायाटारका मंगलबहादुर प्रजा, श्यामबहादुर प्रजा र देवबहादुर गुरुङको घर निर्माण गरेको एमाले चितवन प्रचार विभागले जनाएको छ ।
त्यसैगरी, एमाले कार्यकर्ताहरुले सीद्धी– ६ मझवाङका मानबहादुर प्रजाको निर्माण गरिदिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेष पन्छाउने र प्राप्त काठजन्य सामग्री ,स्थानीय अरु स्रोत साधनको समेत प्रयोग गरी घर टहरा निर्माण भैरहेका छन् ।
एमाले चितवनले लोथर गाविसमा जिल्ला नेताहरु ईमानसिंह लामा, घनश्याम कंडेल, अमर तामाङ, सिद्धि गाविसमा नारायण वन, गोपी श्रेष्ठ, चन्द्रकान्त न्यौपाने, दारेचोक गाविसमा शारदा कुमाल, जुना राजभण्डारी, नरेन्द्र कन्दङ्वा र काउले गाविसमा रामजीप्रसाद सापकोटा, कमल मल्ल र तिलक अधिकारीको अगुवाईमा स्वयम् सेवाका लागि कार्यकर्ता परिचलान गरेको छ ।