«

»

चितवनमा मदन आश्रित श्रद्धाञ्जलि सभा

dashdhungaपुनर्निमाणमा लाग्न नेताहरुको आह्वान
सञ्चारपत्र सम्वाददाता
दासढुङ्गा, ३ जेठ
नेकपा एमालेका नेताहरुले महाभूकम्प पीडितहरुको लागि सहयोगमा जुट्न आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । आइतबार दासढुङ्गामा २२ औँ मदन आश्रित स्मृति दिवस श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्ने क्रममा नेताहरुले महाविपत्तिको बेलामा युवाहरुले सबैलाई सघाउनुपर्ने बताएका हुन् ।
उक्त श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य काशिनाथ अधिकारीले महाभूकम्प पीडितको सहयोग र नव निर्माणमा सबै युवाहरु जुट्नुपर्ने बताए । ‘देश अहिले शङ्कटको घडीमा छ, मुलुकमा ठूलो विपत्ति आइपरेको छ’ अधिकारीले भने, –‘यस घडीमा पीडितहरुलाई सहयोग गर्न तथा नव निर्माणमा जुट्नको लागि म सम्पूर्ण युवाहरुलाई आह्वान गर्दछु ।’ नेकपा एमालेले नव निर्माणको लागि आफ्ना वर्गीय सङ्ठनका युवाहरुलाई परिचालन गरेको समेत अधिकारीले बताए ।
मुलुकमा युवा शक्तिको अभाव रहेको र यसै बेलामा विपत्ति आइ परेका कारण सबै युवाहरुलाई भूकम्प प्रभावित क्षेत्रमा गएर सहयोग गर्न समेत अधिकारीले आग्रह गरे । नेपालको अबको राजनीतिक मार्ग निर्देशक भनेको जनताको बहुदलीय जनबाद भएको समेत अधिकारीले बताए । स्वर्गीय मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद लोकप्रिय हुँदै गएकोले एमालेले त्यसै अनुरुप काम गर्नुपर्ने अधिकारीले बताए ।
उक्त श्रद्धाञ्जलिसभामा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले मुलुकमा अहिले असहज परिस्थिति उत्पन्न भएका कारण सबै मिलेर यसको समाधान गर्नुपर्ने बताए । मदनकुमार भण्डारी व्यक्ति मरे पनि उनले प्रतिपादन गरेको विचार कहिल्यै नमर्ने प्यासीले बताए । नेकपा एमालेका तत्कालिन अध्यक्ष जन नेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सवारी दुर्घटना नभइ हत्या गराइएको कारण यसको सत्य तथ्य पत्ता लगाउनुपर्नेमा प्यासीले जोड दिए ।
मदन आश्रित प्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमालेकी केन्द्रीय सदस्य सिता पौडेलले तत्कालिन महासचिव र सङ्गठन विभाग प्रमुखको कार दुर्घटना हुनु षड्यन्त्र मूलक घटना भएको बताइन् । एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय भेला सुरु भएको दास्रो दिनमा नेता द्वयले भेलालाई सम्बोधन गर्ने कार्यक्रम अनुसार चितवन आउँदा उनीहरुको हत्या गराइएको हुन सक्ने पौडेलले बताइन् । घटनाका दोषीहरुलाई हालसम्म पनि पहिचान गर्न नसक्नु कमजोरी भएको कारण चाँडो छानबिन भएर दोषीलाई कारबाही गर्नुपर्ने पौडेलले बताइन् ।
श्रद्धाञ्जलि सभामा नेकपा एमालेका केन्द्रीय वैकल्पिक सदस्य पीएल श्रेष्ठले संसारका प्रतिकृयावादी र साम्राज्यवादीहरुले नेताद्वयको हत्या गरेका दावी गरे । नेपालमा कम्युनिष्ट विचारको प्रभाव बढ्दै गएको कारण प्रतिकृयावादीहरुले षडयन्त्रपूर्वक जबजका प्रतिपादक भण्डारी र कुशल संगठक जीवराज आश्रितको हत्या गरेका श्रेष्ठले बताए । श्रेष्ठले तनहूँको देवघाट गाविस – ४ मा मदन आश्रित बहुआयामीक अध्ययन अनुसन्धान केन्द्र खोल्नुपर्ने बताए । अध्ययन केन्द्र स्थापनाको लागि सबै तयारी समेत पूरा गरिएको श्रेष्ठले बताए ।
श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले भूकम्प पीडितको पीडामा मल्हम पट्टी लगाउनको लागि सबै जना एक जुट हुनुपर्ने बताए । फुटेर होइन जुटेर पीडितको सहयोग र उद्धारमा खटिनुपर्छ भन्ने उदाहरण चितवनका राजनीतिक दलहरुले देखाएको भन्दै आगामी दिनमा पनि सबैको सहकार्यको खाँचो रहेको थपलियाले बताए । नारायणगढ मुग्लिङ सडक खण्डलाई मदन आश्रित मार्ग घोषणा गर्न समेत थपलियाले सरकारसँग माग गरे ।
श्रद्धाञ्जलिसभामा नेकपा एमाले चितवनका उपाध्यक्ष एवम् संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले स्वागत मन्तव्य राखेका थिए । श्रद्धाञ्जलिसभा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको कार दुर्घटनामा निधन भएको थियो । नेताद्वयको नेकपा एमाले कास्कीको जिल्ला अधिवेशन सकेर चितवनको चैनपुरमा जेठ २ देखि सुरु भएको अखिल नेपाल महिला संघको केन्द्रीय भेलालाई सम्बोधन गर्न आउने क्रममा दासढुङ्गामा कार दुर्घटनामा परेको थियो । दुर्घटनापछि आश्रितको शव घटना स्थलमानै भेटिएको थियो भने भण्डारीको शव जेठ ५ गते पश्चिम चितवनको गाजिपुरमा फेला पारिएको थियो ।
नेकपा एमालेले नेताद्वयको सम्झनामा जेठ ५ गते भण्डारीको शब भेटिएको स्थान पश्चिम चितवनको गाजिपुरमा पनि कार्यक्रम गर्दैछ । उक्त स्थानमा नेताद्वयको अर्ध कदको शालिकको भोलि ५ गते शिलान्यास गरिने र शालिक शिलान्यासको लागि नेकपा एमालेकी नेर्त विद्यादेवी भण्डारी आउने नेकपा एमाले चितवनले जनाएको छ ।