«

»

चितवनमा स्वाइनफ्लु संक्रमितको संख्या १६६

bharatpur hospital‘एक जनामात्रै अस्पतालमा
तीर्थ नेपाल
भरतपुर, ७ वैशाख
चितवनमा स्वाइनफ्लुबाट संक्रमित हुनेको संख्या बढ्दै गए पनि कसैलाई पनि जटिलता देखिएको छैन । जिल्लामा परीक्षण गरिएका मध्ये हालसम्म १६६ जनालाई एन्फ्लुएन्जा एचवान् एनवान् (स्वाइनफ्लु) भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर, अस्पतालमा एक जनामात्र भर्ना अवस्थामा उपचाररत रहेको भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले बताए ।
रुघाखोकी र ज्वरो आई परीक्षण गराएका ५५६ जनामध्ये १६६ जनामा स्वाइनफ्लु देखिएको छ । जसमा महिला ९७ र पुरुष ६९ जना रहेका छन् । ५३ जनाको परीक्षण रिपोर्ट काठमाडौबाट आउन बाँकी छ । यस हप्ता परीक्षणका लागि पठाएका ५४ जनामध्ये १३ जनामा स्वाइनफ्लु देखिएको छ ।
भरतपुर अस्पतालमा उपचारका लागि आएका मध्ये चितवनका १३८, नवलपरासीका १७, उदयपुर, रौतहट, कास्की, जनकपुर, गोर्खा, पर्सा, तनहूँं, काभ्रे, महोत्तरी र बाराका एक–एक जनालाई संक्रमण देखिएको हो ।
चितवनको भरतपुर उप–महानगरपालिका वडा नम्बर १० र ११ मा संक्रमित हुनेको संख्या धेरै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर रामकुमार केसीले बताए । ‘यी दुईवटा वडामा बढी संख्या देखिएको छ । यंहाँका स्थानीय सर्वसाधारणले बढी सजकता अपनाउनुपर्ने देखिन्छ, जोखिम देखिएको छ’– केसीले भने । भरतपुर अस्पतालमा श्रोत र जनशक्तिको अभाव नभएकाले पनि कुनै पनि बिरामीलाई ‘रेफर’ गर्नुपर्ने अवस्था सिर्जना नभएको केसीको दावी छ ।
अहिलेसम्म संक्रमित भएका मध्ये १० जनामात्रै अस्पतालमा भर्ना भएर उपचार गराएको डाक्टर अधिकारीले जानकारी दिए । भर्ना हुनेको औसत अस्पताल बसाई तीन दिनको हुने गरेको छ । ‘कसैलाई पनि जटिलता देखिएको छैन, घर फर्किएकाहरु कोही पनि अफ्ठ्यारो परेर आएका छैनन्’–अधिकारीले भने ।
अस्पतालवाट डिस्चार्ज भई घर गएकाहरुलाई हालसम्म थप समस्या देखा नपरेको उनले बताए । जिल्लाको परिस्थिति हेर्दा आत्तिनुपर्ने अवस्था नरहे पनि सतर्क र सचेतता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । निमोनिया, क्षयरोग, क्यान्सर, एड्स अथवा अरु कुनै रोगहरु भएमा मात्रै एचवान् एनवान्ले जटिलता ल्याउने, नत्र बिस्तारै सुधार भई निको हुने चिकित्सकले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयले सर्वसाधारणको सचेतनाका लागि स्थानीय सञ्चारमाध्यामहरुबाट प्रचार प्रसार भैरहेको जनाएको छ । स्वाइनफ्लु संक्रमितको स्वास्थ्य उपचारमा विशेष ख्याल गरिएको भेक्टर कन्ट्रोलर केसीले बताए । टेमिफ्लु नामक एन्टीबायोटिक औषधि बिरामीलाई निःशुल्क उलब्ध गराइएको उनले जानकारी दिए । गर्मी बढ्दै जाँदा स्वाइनफ्लुको संक्रमणमा कमी हुँदै जाने जनस्वास्थ्यका भेक्टर कन्ट्रोलर केसीले विश्वास ब्यक्त गरे ।
चितवनमा सन् २०१३ मा १० जना, सन् २०१४ मा ११ जनालाई स्वाइनफ्लु भएको थियो ।