«

»

असार मसान्तसम्ममा संविधान ः अध्यक्ष ओली

oliशालिकराम भट्टराई
कावासोती ७, वैशाख
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रक्रियाबिना संविधान नबन्ने बताएका छन् । ‘संविधानसभाले प्रक्रियाबाटै संविधान निर्माण गर्ने हो । त्यो प्रक्रिया थाल्दा बहुमतीय हुन्छ भन्ने कुरा फिक्का हुन्छ’, अध्यक्ष ओलीले भने–‘सहमति भएका कुरामा अगाडि बढ्छौं र हुन बाँकी विषयमा आगामी दिनमा सहमति गर्दै जान्छौं’ ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले कावासोतीमा गरेको पिपुल कन्सर्टको उद्घाटन गर्दै ओलीले भने–‘एमालेको हैसियत पहिलाको जस्तो होइन र छैन । पार्टी संविधान निर्माणको पक्षमा दृढ संकल्पित छ ।’ असार मसान्तसम्ममा संविधान जारी गर्नेगरी कामलाई अगाडि बढाएको अध्यक्ष ओलीको दावी थियो ।
अध्यक्ष ओलीले संविधान निर्माणका लागि भन्दै आन्दोलन गरेको ३० दलीय मोर्चाको गतिविधिलाई ‘उत्ताउला’को संज्ञा दिँदै त्यसले संविधान निर्माणको वातारण बन्दैन भने । ‘संविधानको नाममा कलहको बीउ रोप्ने काम एमालेबाट हुँदैन ओलीले भने–‘संविधान नबनाइ संविधानसभा सकिँदैन ।’
मधेसी दलतर्फ इंकित गर्दै अध्यक्ष ओलीले एमालेको हातमा सत्ता पर्ने वित्तिकै मधेसका क्षेत्रमा विकास योजना लाने आश्वासन बाँढे । उनले मधेशमा शिक्षा, स्वास्थ्य, करकारखाना उद्योग धन्दा बिस्तार गरिने भन्दै सम्पूर्ण आम नेपालीहरुलाई एमालेलाई साथ दिन आग्रहसमेत गरे ।
माओवादीले दुई प्रधानमन्त्री बनाउँदा समेत संविधान निर्माण गर्न नसकेको ओलीको आरोप थियो । ठूलो पार्टी हुँदा पनि माओवादीले संविधान बनाउने काम नगरेको भन्दै अध्यक्ष ओलीले अबको आन्दोलन संविधान बनाउनका लागि हो कि केका लागि भन्ने प्रश्न गरे । ‘एमालेले ढाँटछलको र बेइमानको राजनीति गर्न जान्दैन, सबै प्रकारका असमानताहरुको विभेद अन्त्य हुनुपर्छ भन्नेमा एमाले छ’, उनको भनाइ थियो । ‘अग्लो र होचो स्थानमा बसेका भरमा विभेद हुँदैन त्यही आधारमा संविधान बन्ने कुरामा विश्वस्त हुनुहोस्’, उनले भने । अहिलेको संविधानसभाबाटै संविधान निर्माण हुनेमा ढुक्क रहन सम्पूर्णमा उनको आग्रह थियो ।
हेलिकप्टरमार्फत कावासोती आएका अध्यक्ष ओलीले अत्यन्त छोटो भाषण गरेका थिए । सोही कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य एवम् दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्यसहित विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई खादा र टीका लगाइ एमाले अध्यक्ष ओलीले स्वागत गरेका थिए ।
सोही अवसरमा मध्यविन्दु बहुमुखी क्याम्पसमा स्थापना गरिएको मदन भण्डारी स्मृति अक्षयकोष वृद्धिका लागि पहल गरिदिन क्याम्पस संचालक समिति अध्यक्ष जीवन श्रेष्ठ, क्याम्पस प्रमुख मुक्तिराम पाण्डेलगायतका प्राध्यापकहरुले प्रस्तावना पत्र बुझाएका थिए ।
एमाले अध्यक्ष कावासोती आउँदा सूर्य अंकित टिर्सटले कावासोती बजार भरिएको थियो । थारु, बोटे, र मगर संस्कृतिका झाँकीहरु समेत कार्यक्रममा प्रस्तुत गरिएको छ । त्यस्तै अन्तरा समूहले आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।