«

»

‘समावेशी सञ्चार नीति जरुरी’

fonijभरतपुर, ७ वैशाख
समावेशीको मुद्दालाई अझै सशक्त रुपमा लैजाने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले निर्णय गरेको छ । भरतपुरमा सोमबार आयोजना गरिएको जिल्ला भेलाले सञ्चार गृहलाई समावेशी बनाउन अझै सशक्त भएर लाग्ने निर्णय गरेको हो ।
चितवनमा धेरै सञ्चार गृहहरु समावेशी नभएको भन्दै समावेशीको मुद्दालाई पहिलो प्राथामिकतामा राखेर अगाडि बढ्ने भेलाले निर्णय गरेको हो । भेलालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघका मध्यमाञ्चल संयोजक कुमार नेगीले सञ्चार गृहहरुले समावेशी सञ्चार नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नचाहेको बताए । नेगीले पत्रकारको दक्षता र क्षमताको कदर गर्दै समावेशी नीतिलाई उचित रुपमा कार्यान्वयन गर्न सञ्चारगृहलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष पदमबहादुर गुरुङले सञ्चारगृह समावेशी नभएका कारण जनजाति समुदायको भाषा, धर्म एवम् रहनसहन लोप हुँदै गएको बताए । आदिवासीको पहिचान संरक्षण गर्न समावेशीको मुद्दालाई बलियो बनाउनुपर्नेमा गुरुङले जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले समावेशीको मुद्दासँगै जनजाति सञ्चारकर्मीहरुले क्षमता र दक्षता वृद्धि गर्नतर्फ लाग्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संघ चितवनका सचिव राजेन्द्र आर्चाय, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष नवराज ढकाल, स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्यप्रकाश कंडेल, क्रियाशिल महिला पत्रकार मञ्च चितवनकी अध्यक्ष शान्ता अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा आयोजना गरिएको हो ।